बाल क्यान्सर रोग विशेषज्ञ भन्छन्- समयमै उपचारमा ल्याऔँ – Nepal Press

बाल क्यान्सर रोग विशेषज्ञ भन्छन्- समयमै उपचारमा ल्याऔँ

चितवन । नेपालमा अझै ५० प्रतिशत बाल क्यान्सर बिरामी उपचारको पहुँच बाहिर छन् । वर्षेनि एक हजार ५०० हाराहारीमा यस्ता बिरामी हुने र ती मध्ये आधा मात्रै उपचारका पहुँचमा आउने जनाइएको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशभरका १२ क्यान्सर परीक्षण हुने अस्पतालको तथ्याङ्क सङ्कलन गर्दै आएको छ । अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले वर्षेनि ७५० हाराहारीमा बाल क्यान्सर मात्रै उपचारका पहुँचमा आउने गरेको जानकारी दिए।

उनले भने,‘विश्वको तथ्याङ्क र नेपालको जनसङ्ख्यालाई हेर्दा नेपालमा वर्सेनि एक हजार ५०० हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुने हुनुपर्छ ।’ तीमध्ये आधा मात्रैले उपचार पाएको जनाउँदै उनले कैयौंका सङ्ख्यामा अन्य कारणबाट मृत्यु भएको देखिए पनि क्यान्सर पत्ता नलागेको हुनसक्ने जानकारी दिए ।

अस्पतालका उपनिर्देशकसमेत रहेएका डा शर्माले भने, ‘बच्चा ज्वरोलगायत अन्य कारणबाट मृत्यु हुन्छ, परीक्षण नहुँदा उनीहरुको क्यान्सर भएर मृत्यु भएको पनि हुनसक्छ ।’ कतिपयले क्यान्सर हो भन्ने थाहा पाएपछि उपचार नै नगरी घरमा राख्ने गरेको उनको भनाइ छ । ‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’ भन्ने सन्देश प्रवाह गर्न सकेमा बिरामी अस्पतालसम्म आइपुग्ने उनले बताए।

नेपालमा अहिले १२ जना मात्र बाल क्यान्सर विशेषज्ञ छन् । उनले विशेषज्ञ चिकित्सकको सङ्ख्या बढाउन, मेडिकल कलेज र ठूला अस्पतालमा उपचार गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘प्रादेशिक सरकारी अस्पतालमा यो सुविधा उपलब्ध गराउनुपर्छ ।’

उनका अनुसार चितवन र काठमाडौँमा मात्रै बाल क्यान्सरको उपचार हुने गरेको छ । १० लाख बालबालिकामध्ये एक सयदेखि १५० जनामा क्यान्सर हुने गरेको जनाउँदै उनले समयमै पत्ता लगाएर उपचार गरे धेरैजसो बाल क्यान्सर निको हुने बताए ।

उनले भने,‘सुरुमै शङ्का गरेर रोग छिटो पत्ता लाग्छ, छिटो पत्ता लाग्यो भने धेरैजसो बच्चाको क्यान्सर निको हुन्छ । धेरैजसो बच्चाको क्यान्सर ७५ प्रतिशत हाराहारी निको हुने गरेको छ ।’ वयस्क र वृद्धको भन्दा बालको क्यान्सर धेरै निको पार्न सकिने उनको भनाइ छ ।

अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा निभा तिवारी समयमा उपचारमा ल्याउन सकेमा ९० देखि ९५ प्रतिशत बाल क्यान्सर निको हुने जानकारी दिन्छिन् । बच्चामा क्यान्सर रोग पूर्ण रुपमा रोकथाम गर्न सहज नभए पनि विषादीयुक्त खानुकुरा रोक्न सकेमा घटाउन सकिने उनको भनाइ छ । बच्चाहरुमा रगत, हड्डी, दिमाग, ग्रन्थी लगायतमा क्यान्सर हुने गरेको उनी बताउँछिन्।

जनचेतनाको अभावमा बच्चाको क्यान्सर उपचारका लागि अस्पताल आउने क्रम कम भएको जनाउँदै डा तिवारीले भनिन्,‘विद्यालयको पाठ््यक्रममा बालबालिकालाई बाल क्यान्सरका बारेमा पढाउनुपर्छ ।’

बिरामी हुँदा फार्मेसीमा औषधि किनेर खाने प्रचलनका कारण धेरैको रोग पहिचान गर्न ढिलो हुने गरेको उनी बताउँछिन् । लामो समयसम्म ज्वरो आउने, शरीरमा गिर्खा देखिने, सुनिने, निल डाम, बिमिरा, धब्बा देखिने, शरीरका कुनै एक भागमा लामो समयसम्म सुन्निने, निको नहुने जस्ता लक्षण क्यान्सरका हुनसक्ने उनको भनाइ छ । पेट फुल्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, लामो समयसम्म अनियन्त्रित तरिकाले वान्ता हुने जस्ता लक्षण क्यान्सरका हुने डा तिवारीले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर