एमसीसी पारित नभए नेपालले दुःख पाउँछ : डा. महत – Nepal Press

एमसीसी पारित नभए नेपालले दुःख पाउँछ : डा. महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसी सम्झौताबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसीका कारण नेपालको स्वाधीनतामा कुनै हस्तक्षेप नहुने बताएका छन् ।

नेपाली कांग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे प्रष्ट पार्न आमन्त्रण गरिएका पूर्वमन्त्री महतले एमसीसीको कार्यान्वयन नेपाल सरकार मातहतको एमसीए नेपालले गर्ने भएकोले अमेरिकी हस्तक्षेप नहुने दाबी गरेका हुन् । बैठकपछि पत्रकाहरूसँग कुराकानी गर्दै डा. महतले इण्डो प्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नभएको दाबी गरे ।

‘एमसीसी २००४ मा अमेरिकी संसदले पारित गरेको विषय हो । नेपाल २०१२ देखि नै प्रत्यक्ष अप्रत्यक्षरूपमा एमसीसीसँग जोडिएको छ । इण्डो प्यासिफिक रणनीति २०१८ मा आएको हो । इण्डो प्यासिफिक एमसीसीभन्दा नयाँ विषय भएकोले यी दुईबीच कुनै सम्बन्ध छैन’, महतले भने ।

उनले एमसीसीबारे प्रश्न उठाइएका विषयहरू निराधार रहेको बताए । ‘बौद्धिक सम्पत्ति र लेखापरीक्षणको अधिकार नेपालसँगै छ । यसको कार्यान्वयन नेपाल सरकारले बनाएको एमसिए नेपालले गर्ने हो । एमसीसीबारे भ्रमणपूर्ण प्रचार भएको छ’, महतले भने ।

उनले एमसीसी कुनै देशको विरुद्धमा पनि नभएको बताए । ‘एमसीसी बीआरआईको विरुद्ध होइन । चीनको विरुद्ध पनि होइन । यो कुनै देशका विरुद्ध नभएर नेपालको विकासका निम्ति आवश्यक विषय हो’, महतको भनाइ छ ।

उनले फागुन १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन नभए नेपाललाई गम्भीर क्षति हुने बताए ।

‘फागुन १६ सम्ममा यो पारित भएन भने नेपालले ठूलो आर्थिक अवसर गुमाउँछ । अमेरिकाजस्तो शक्ति राष्ट्रले हार्दिकतासाथ दिएको यति ठूलो अनुदान अस्वीकार गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालबारे नकरात्मक सन्देश जान्छ । त्यसले हाम्रो अर्थतन्त्र र विकासको यात्रा अवरुद्ध पार्नसक्छ’, महतले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर