स्प्रिट अफ स्पोर्टस्ः आसिफ शेखले नगरेको त्यो रनआउट – Nepal Press

स्प्रिट अफ स्पोर्टस्ः आसिफ शेखले नगरेको त्यो रनआउट

काठमाडौं । क्रिकेटलाई भलाद‌्मीको खेल पनि भन्ने गरिन्छ । हिजो भएको नेपाल र आयरल्यान्डबीचको खेलमा नेपालका विकेटकिपर आसिफ शेखले यही भलाद‌्मीपनको एक नमूना प्रदर्शन गरे ।

कडा प्रतिस्पर्धामा नेपाल आयरल्यान्डसँग पराजित भएको थियो । आयरल्यान्डले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याटिङ १११ रनमै धराशयी भयो र, नेपालले खेल १६ रनले गुमायो । तर, खेलको नक्सा बदलिन पनि सक्थ्यो, यदि आशिफ शेखले भलाद‌्मीपन नदेखाएको भए ।

आयरल्यान्डका एक ब्याट्सम्यानलाई सहजरुपमा रन आउट गर्ने मौकालाई परित्याग गरिदिएका थिए आसिफले । यसलाई सामाजिक सञ्जालमा नेपाली समर्थकहरुले समेत ‘स्पोट्र्सम्यानसीप’ का रुपमा प्रशंसा गरेका छन् । केहीले चाहिँ आलोचना पनि गरेका छन् । आखिर भएको के थियो त ?

पहिले ब्याटिङ गरिरहेको आयरल्यान्डलाई नेपालका बलरहरुलाई पूरा इनिङ दबाबमा राखेका थिए । १८.२ ओभरमा आयरल्यान्ड ८ विकेटको क्षतिमा ११४ रन बनाएर ब्याटिङ गरिरहेको थियो । क्रिजमा थिए मार्क अडैर र एन्डी म्याकब्राइन । १८ औं ओभरको दोस्रो बलमा कमलसिंह ऐरीलाई अडैरले छक्का हान्ने प्रयास गरे, तर सफल भएनन् । हावामा उठेको बल केही पर खस्यो र दुवै ब्याट्सम्यान एक रनका लागि दौडिए ।

रनका लागि नन स्ट्राइकर इन्डबाट कुदेका म्याकब्राइन बल समात्न दौडिएका ऐरीसँग ठोक्किएर बीचमै लड्न पुगे । त्यहीबीचमा ऐरीले बल विकेटकिपिङ गरिरहेका आशिफतर्फ फ्याँके । लडेका म्याकब्राइन उठेर दौडिन खोजे पनि उनी अर्को इन्डमा पुग्न सक्ने सम्भावना थिएन । तर, आसिफले बल हातमा आइसके पनि स्टम्पमा हिर्काएनन् ।

क्रिजमा लडेको कारण उनले ब्याट्सम्यानलाई जीवनदान दिए । विकेट जानुपर्ने बलमा आयरल्यान्डले एक रन थप्यो ।

रन आउटबाट जोगिएका म्याकब्राइनले लगत्तै बलमा कमललाई छक्का प्रहार गरे । ब्याट्सम्यानका लागि कठिन पीच भएको हुँदा यो सात रन आयरल्यान्डका लागि बहुमूल्य थियो । आयरल्यान्डको अन्तिम स्कोर १२७ रनमा उकासियो । नेपालले लक्ष्य भेट्टाउन सकेन ।

हुन त क्रिकेटमा ‘इफ’ र ‘बट’ का कुराले खासै अर्थ राख्दैनन् । तर, पनि यदि त्यो रनआउट आसिफले लिएको भए आयरल्यान्ड तत्काल अलआउट हुनसक्ने सम्भावना पनि नकार्न सकिन्न । र, यदि १२० भन्दा कमको लक्ष्य पाएको भए नेपालले खेल जित्न पनि सक्थ्यो ।

खेल भावनाका नाममा एउटा बलियो टेस्ट कन्ट्रीलाई हराउने कुनै पनि मौका गुमाउनु हुन्नथ्यो भन्ने पनि एकथरि मत छ । तर, धेरैले चाहिँ नेपालले खेल हारे पनि आशिफले देखाएको गेम स्प्रिटको कदर गरेका छन् ।

रन आउटबाट जोगिएका म्याकब्राइनले आसिफसँग ह्यान्ड्सेक गरेर आभार प्रकट गरेका थिए । जे होस् आसिफको यो व्यवहारले उनलाई आईसीसीको स्प्रिट अफ क्रिकेट अवार्ड दिलाउन सक्ने विश्लेषण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर