माओवादीका दुई गाउँ कमिटी नै एमालेमा समाहित भएपछि रुपन्देहीको राजनीतिमा तरंग – Nepal Press

माओवादीका दुई गाउँ कमिटी नै एमालेमा समाहित भएपछि रुपन्देहीको राजनीतिमा तरंग

रुपन्देही । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा छापामार रहेका रुपन्देहीको ओमसतिया गाउँपालिकाका प्रमुख हिरा केवट राहुल र नेपाली कांग्रेसका संघीय सांसद प्रमोद यादवका सहोदर भाइ, जसपाका नेता तथा रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव पार्टी पालिकाको नेतृत्वसहित ठूलो संख्यामा एमालेमा प्रवेश गरेपछि रुपन्देहीको राजनीति तातेको छ ।

तुलनात्मक हिसाबले एमालेको संगठन कमजोर रहेका ती पालिकामा कार्यकाल सकिन ३ महिना बाँकी रहँदा ती नेताहरुले किन एमाले रोजे ? भन्ने विषयले चर्चा पाएको छ । पालिकामा माओवादी तथा जसपाका प्रभावशाली मानिएका ती नेताहरु सोमबार रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिका प्रमुख, उपप्रमुख तथा त्यहाँ रहेका माओवादी र जसपाका गाउँ कमिटीसहित ठूलो संख्यामा एमालेमा प्रवेश गरेपछि रुपन्देहीको राजननीति तरंगित भएको हो ।

१६ गाउँपालिका रहेको रुपन्देहीका ८ वटा ठूला पालिकामा गत स्थानीय तहको निर्वाचनमा जित निकालेको एमालेले कांग्रेस माओवादी तालमेलबाट माओवादीले जितेको ओमसतियाको नेतृत्व र फोरमबाट निर्वाचित हाल जसपामा रहेको रोहिणीको नेतृत्व भित्राएर दक्षिणी क्षेत्रमा आफ्नो प्रभाव देखाउन खोजेको छ ।

रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादवसँगै ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’ र उपप्रमुख सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेश गरे । यादव नेपाली कांग्रेसका नेता एवम्ं रूपन्देहीको क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रमोद यादवका सहोदर भाइ हुन् । भने केवट सशस्त्र युद्धका लडाकु हुन् ।

तत्कालीन मधेसी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) गाउँपालिका अध्यक्षमा निर्वाचित भएका यादव र नेकपा माओवादी केन्द्रबाट निर्वाचित केवटलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मालगायतका नेताले आफ्नो पार्टीमा स्वागत गरेका थिए ।

गएको स्थानीय तहमा तुलनात्मक रुपमा कमजोर रहेका पालिकाहरु यसपटक कब्जा गर्ने रणनीति अन्तरगत सोमबार रुपन्देहीका दुईवटा पालिकाका प्रमुख र उपप्रमुखलाई एमालेमा प्रवेश गराएको दावी नेताहरुको छ ।

सोमबार रूपन्देहीका दुई वटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही वडाअध्यक्षहरू यसअघिको पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गराउन राजधानी काठमाडौंमा तातेको राजनीति छाडेर एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही आएका थिए ।

दुवै अध्यक्षहरु स्थानीयस्तरमा जनमतको हिसावले बलियो मानिन्छन् । एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एमालेले रुपन्देहीका सबै पालिकामा विजय हासिल गर्ने योजना अनुरुप जनप्रतिनिधिहरुलाई एमालेमा प्रवेश गराउने अभियानमा रहेको बताए ।

‘एमाले देशैभरी बलियो शक्तिको रुपमा आएको छ रुपन्देहीमा हामी अब पहिलो शक्ति बनेरै छोड्छौं अझै धेरै मतदाताहरु एमाले प्रवेश गर्दै हुनुहुन्छ, उनले भने ।

एमाले उपाध्यक्ष बिष्णु पौडेलले सत्ता गठबन्धनले जतिसुकै जालझेल गरेपनि एमालेको बिजय यात्रालाई रोक्न नसक्ने बताए ।
अब कसैको जालझेल र षडयन्त्रबाट एमालेको विजययात्रा रोकिदैन अव फेरी पनि एमाले आयो आयो’, उनले भने ।

एमाले सचिव छविलाल विश्वकर्माले तराईमा एमालेको जनलहर उर्लिएको ओमसतिया र रोहिणीको अवस्थाले प्रष्ट हुने बताउँदै दक्षिणी क्षेत्रमा एमालेविरुद्ध चलाइएको भ्रमबाट सबै मुक्त हुन थालेको बताए ।

रुपन्देहीलाई एमालेको लालकिल्ला बनाउँछौं– हिरा केवट

ओमसतिया गाउँपालिकाको नेतृत्व र माओवादी पार्टी नेतृत्व लिएर एमाले प्रवेश गरेका हिरा केवटले माओवाी र गठबन्धनबाट देश नचल्ने भएकाले एमाले रोजेको बताए । उनले भने, ‘ओमसतिया, रोहिणी र क्षेत्र नम्बर १ लाई एमालेको लालकिल्ला बनाउँछौं । यो क्षेत्रलाई एमालेमय बनाउँछौं । जीवन रहँदासम्म कम्युनिष्ट पार्टीको झण्डामुनि रहनेछु । गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न सकेन ।’

एमालेलाई मधेसविरोधी भन्ने भ्रम तोड्छु– यादव

तराईमा एमालेलाई मधेसविरोधी भनेर धेरै समय प्रचार गरिएको बताउँदै रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले सरकारमा रहँदा तराईमा एमालेले गरेको विकास र प्राथमिकताले धेरैलाई प्रभावित बनाएको बताए ।

उनले भने, ‘पार्टीबाट असहयोग भएका कारण जसपा परित्याग गरेको हुँ । पार्टीबाटै भ्रष्टाचार भनियो । तर म भन्न चाहन्छु, भ्रष्टाचारी प्रमाणित गर्नुहोस्, राजनीति छोड्छु । समग्र रोहिणीको विकासमा एमाले नेतृत्वको सरकारले सहयोग गरेको छ । एमालेलाई मधेसविरोधी भनिन्छ तर एमाले मधेसविरोधी भएको भए क्षेत्र नम्बर १, रुपन्देहीबाट जनताले कसरी एमालेलाई जिताए ? अब एमालेको लालकिल्ला बनाउने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर