निर्वाचन रोक्ने महाअभियोगको फण्डा एमालेले असफल पार्छ : विष्णु पौडेल – Nepal Press

निर्वाचन रोक्ने महाअभियोगको फण्डा एमालेले असफल पार्छ : विष्णु पौडेल

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारमा सहभागी दलका नेताले स्थानीय तहको निर्वाचन रोक्ने योजनामा महाअभियोगको फण्डा ल्याएको बताएका छन् ।

निर्वाचन हुन नदिन गठबन्धन सरकार षडयन्त्रमा लागेपनि त्यो सफल हुन नदिने उनले बताए ।

सोमबार नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेता पौडेलले आगामी वैशाख ३० गते सरकारले घोषणा गरेको निर्वाचन रोक्न कोशिस भइरहेको बताए ।

‘यो निर्वाचन कुनै पनि बहानामा रोक्न दिइने छैन, तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न एमालेले खबरदारी गर्नेछ, उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई अदालतको परमादेशबाट हटाएर गठबन्धन सरकार बनाइए पनि सरकार पूर्ण रुपमा असफल भएको उनले दावी गरे । ‘सरकारले केही गर्न सकेको छैन, उनले भने, पुँजीगत खर्च हुन सकेको छैन, महंगी बढेको छ ।’

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले रोहिणी र ओमसतिया गाउँपालिकासंगै क्षेत्र नम्बर १ लाई विकसित गर्दै लैजाने प्रतिवद्धता उनले व्यक्त गरे ।

सिंगो जिल्लालाई विकासका दृष्टिकोणले माथि उठाउने उनले बताए । उनले भने, ‘विकासको आवश्यकतालाई पूरा गर्छौं, एमालेले विकासको जिम्मेवारी लिन्छ, सबै प्रकारका विभेद र असमानता हटाउँछ ।’

नेपाली जनताले आफ्नो प्रिय पार्टीको रुपमा एमालेलाई स्वीकार गरिसकेको उनको भनाइ थियो । ‘सबै राजनीतिक दलको परीक्षा भएको छ, जनता तथा राष्ट्रको पक्षमा काम गर्ने पार्टी र सबैप्रकारका विभेद समाप्त गर्ने पार्टी एमाले हो,’ उनले भने ।

नेकपा एमालेका सचिव, पूर्वमन्त्री छविलाल विश्वकर्माले विकास र समृद्धिको आंकाक्षा पूरा गर्ने पार्टी एमाले भएको दावी गरे । उनले विकास एमालेको प्राथमिकतामा भएको र विकास, समृद्धिको पक्षमा रहेका जनता एमालेको पक्षमा रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर