वैदेशिक रोजगार विभागमा डीएसपीको कमाण्डमा प्रहरी टोली परिचालन हुने – Nepal Press

वैदेशिक रोजगार विभागमा डीएसपीको कमाण्डमा प्रहरी टोली परिचालन हुने

काठमाडौं । मंगलबारदेखि वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगरमा प्रहरी नायव उपरीक्षक (डीएसपी) को नेतृत्वमा प्रहरी टोली परिचालन हुने भएको छ ।

वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणमा परिचालन हुने गरी डीएसपीको नेतृत्वमा इन्सपेक्टरसमेत रहनेगरी मानव बेखविखन अनुसन्धान व्यूरोबाट सात जनाको टोली परिचालन हुन लागेको हो ।

डीएसपीको कमाण्डमा मंगलबारदेखि परिचालन हुने प्रहरी टोलीले विभागमा आउने उजुरी लिने, तत्काल कारवाहीको प्रक्रियामा जानुपर्ने अवस्था भएमा कारवाही प्रक्रियामा खटिने, तथा विभागमा आउने उजुरीको अनुसन्धानको कामममा पनि सहयोग गर्ने विभागका महानिर्देशक शेषनारायण पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

पौडेलका अनुसार विभागले आवश्यकता अनुसार प्रहरी टोलीलाई ठगी भइरहेको घटनास्थलमा पठाउने, अनुगमनमा गर्न लगाउने काममा परिचालन गर्नेछ ।

महानिर्देशक पौडेलले भने, ‘उजुरी आएपछि अनुसन्धानका क्रममा आरोपित व्यक्तिलाई पक्राउ गर्ने देखिएमा विना पक्राउ पुर्जी पक्राउ गर्न सक्ने पनि वैदेशिक रोजगार ऐनमा व्यवस्था छ । गम्भिर घटना र अवस्थामा प्रहरीको सुरुदेखि नै संलग्नता भयो भने उजुरीमाथीको कारवाहीलाई तिव्रता दिने सकिने भयो । प्रहरीले अन्य निकायसँग पनि सूचना आदानप्रदानमा सहजै लिनसक्ने र उजुरीको छानविनलाई तिव्रता दिन सक्ने भएकाले विभागमा प्रहरी परिचालन गरिएको हो ।’

महानिर्देशक पौडेलका अनुसार प्रहरी टोली आवश्यकता अनुसार काठमाडौं उपत्यका बाहिर पनि परिचालन हुनेछ ।

वैदेशिक रोजगार ऐनमा नै वैदेशिक रोजगार सम्बन्धी कुनै पनि उजुरी प्रहरीले लिनसक्ने व्यवस्था गरिएकाले त्यसैमा टेकेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक महिना अघि गृह मन्त्रालयलाई प्रहरी टोली उपलब्ध गराइदिन अनुरोध गरेको थियो ।

भिजिट भिसाका नाममा ठगी बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नै केहि दिन अघि गृहमन्त्री बालकृष्ण खाणसँग भेटेर डीएसपीको नेतृत्वमा बैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन गर्नका लागि अनुरोध गरेका थिए ।

त्यसै अनुसार गृह मन्त्रालयले मंगलबारदेखि प्रहरी टोली परिचालन गरेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर