मन्त्री आलेको निर्देशन : जहाजको बोर्डिङ पासमा मदिराको विज्ञापन राेक्नू – Nepal Press

मन्त्री आलेको निर्देशन : जहाजको बोर्डिङ पासमा मदिराको विज्ञापन राेक्नू

काठमाडौं । पर्यटन मन्त्रालयले जहाजको बोर्डिङ पासमा मदिराको विज्ञापन गर्न रोक लगाएको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा बोर्डिङ पासबाट मदिरा, चुरोट र खैनीको विज्ञापन हटाइन लागिएको हो ।

पशुपतिनाथ मन्दिर परिसरका फूल पसललाई व्यवस्थित गर्नेबारे सोमबार आयोजित छलफल कार्यक्रममा मन्त्री आलेले उक्त निर्देशन दिएका हुन् । ‘बोर्डिङ पासबाट भोड्का, सूर्य चुरोट र खैनीको विज्ञापनलाई पूर्णरुपमा प्रतिबन्ध लगाइनेछ’ आलेले भने ।

शिवरात्रीमा पशुपतिनाथ मन्दिरमा सहजरुपमा दर्शनको व्यवस्था मिलाउनेबारे पनि मन्त्री आलेले योजना प्रस्तुत गरे । भीडभाड कम गर्न पशुपतिमा रहेका फूल पसललाई त्यहाँबाट हटाइने भएको छ भने जुत्ता चप्पल लगाएर मन्दिर परिसरभित्र जान पाइनेछैन ।

‘टहरा र फूल पसल मात्र सार्न सकियो भने पनि भीडभाड निकै कम हुन्छ’ उनले भने ।

खाल्डाखुल्डी पुरिने, पर्खालका भित्तामा देवीदेवताका चित्र पेन्टिङ गरिने समेत मन्त्री आलेले बताए । दर्शनार्थीलाई लामो समय लाइनमा नउभिकनै सहज दर्शनको व्यवस्था मिलाइने तयारी भएको समेत उनले जनाए ।

भारतबाट आएका हिन्दू तीर्थालुलाई पनि सहज दर्शनको लागि व्यवस्था गरिने समेत उनले जनाए । सो क्षेत्रका कांग्रेस सांसद गगन थापाले पनि शिवरात्री पर्वलाई व्यवस्थित तुल्याउनेबारे मन्त्री आलेलाई सुझाव दिए ।

यसपटकको शिवरात्री फागुन १७ गते मनाइँदैछ । मन्त्री आलेले यसअघि पशुपति धर्मशालामा पनि व्यवस्थापन सुधारको प्रयास गरेका थिए भने नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा क्याफेटेरिया बन्न रोक लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर