प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग – Nepal Press

प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

रुपन्देही । आज फागुन २ गते । जहाँनिया राणा शासनविरुद्ध पहिलो जनविद्रोहको सुत्रधार गरेका नेपालका प्रथम सहिद लखन थापाको १४५ औं स्मृति दिवस । लामो समय थापालाई नेपालको प्रथम सहिद घोषणाको माग गरेर आन्दोलनमा रहेको नेपाल मगर संघले सरकारले माग पूरा गरे पनि आन्दोलन छोडेको छैन । मगर संघले आफ्नो पटक पटकको आग्रहलाई स्वीकार गरेर प्रथम सहिद घोषणा गरे पनि त्यो अनुसारको मान्यता नदिएको भन्दै थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिरहेको छ ।

२०७२ साल असोज २ गतेको मन्त्रिपरिषद बैठकले लखन थापालाई प्रथम सहिद घोषणा गरेपनि व्यवहारमा प्रथम सहिदको सम्मान दिन नसकेको र थापाको स्मृति दिवस फागुन २ मा सरकारी बिदा नदिइएको मगर संघको गुनासो छ ।

लखन थापा अक्षयकोष रुपन्देहीले थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । त्यस्तै लखन थापाको स्मृति दिवस फागुन २ गतेलाई शहीद दिवसको मान्यता र सार्वजनिक विदा दिन माग पनि गरिएको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिका भाषिक उपाध्यक्ष दलबहादुर वीरकट्टामगरले सरकारले प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने आश्वासन मात्रै दिएको गुनासो गरे । उनले सहिद गेटमा थापाको पनि शालिक राख्नुपर्ने माग गरे ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष अनबहादुर सोतीले प्रथम सहिद थापाको जीवनीलाई पाठ्यक्रममा समावेश गर्न माग गरे ।

संघ र कोषले १४५ औं लखन स्मृति दिवसको अवसरमा फागुन २ गते बुटवलको राजमार्ग चौराहास्थित लखनचोकसहित रुपन्देहीका विभिन्न स्थानीय तहमा पनि स्मृतिसभा गरेको छ ।

को हुन् लखन थापा ?

गोरखा, बुंकोट विद्रोहका नायक लखन थापामगर नेपालका प्रथम सहिद हुन् । नेपाल सरकारले उनलाई २०५६ साल फागुन ११ गते सहिद घोषणा गर्यो । मगरहरूको साझा संस्था नेपाल मगर संघले लखनलाई प्रथम सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएकोमा उनलाई २०७२ साल असोज ३ गते नेपाल सरकारले नेपालको प्रथम सहिद घोषणा गरेको हो ।

लखन थापालाई मृत्युदण्ड दिइँदा मर्नुअघि उनले ‘म मरेको एक सातामा जंगेको पनि मृत्यु हुनेछ’ भनी गरेको भविष्यवाणी प्रसिद्ध छ । संयोग पनि कस्तो भयो भने लखनलाई मृत्युदण्ड दिइएको दुई सातापछि जंगबहादुरको पनि मृत्यु भयो । ‘पूर्णिमा’ पूर्णांक ३३ (भाद्र २०३२ः४६) अनुसार जंगबहादुरको मृत्यु १९३३ साल फागुन १६ गतेमा भएको हो ।

जंगबहादुर राणाविरुद्ध सशस्त्र विद्रोहको तयारी गर्नु सानो कुरा थिएन, त्यस बेला । गोरखाको बुङ्कोटमा भएको त्यस विद्रोहमा लखनले निकै ठूलो नैतिक र भौतिक सहयोग प्राप्त गरेका थिए । निकै ठूलो दबाबपछि लखन नेपालको प्रथम सहिद घोषित भए । उनीसँगै विद्रोह गर्दै मृत्युदण्ड प्राप्त गर्ने बाँकी ६ जनालाई भने अन्याय गरेको गुनासो पनि आएको छ । यसको विषयमा इतिहासकारले थप अनुसन्धान गर्न जरुरी छ ।

इतिहासका जानकारहरुका अनुसार लखन आफूलाई आफूभन्दा अढाई सय वर्षअघिका सिद्ध लखन थापाका अवतार ठान्थे र सोहीअनुसार प्रचार गर्थे । यस्तै देवी मनकामनाले जंगबहादुर राणाको हत्या गरी उनको ठाउँमा आफूलाई शासन गर्नू भन्ने आदेश प्राप्त भएको गाउँलेहरूलाई सुनाउँथे ।

गोरखाका राजा राम शाहका समयका सिद्ध लखन थापाले गुरु गोरखनाथसँग दीक्षा प्राप्त गरेको, राजा राम शाहको कचहरीमा रहँदा उनले विभिन्न चमत्कार देखाएको, राम शाहका सन्तानले नेपाल जित्ने भविष्यवाणी गरेको, ईश्वरी महारानीको मन जिती उनी र उनको दरसन्तानले मनकामना देवीको पूजाहारीको जिम्मेवारी प्राप्त गरेको आदि वर्णन ‘प्राचीन नेपाल’को संख्या २८ ( श्रावण २०३१ः७–१६) मा प्रकाशित ‘गोरखा वंशावली’मा रोचक पाराले प्रस्तुत गरिएको छ ।

सिद्ध लखन थापाको अवतार हुनु र मनकामनादेवीबाट आफूलाई आदेश भएको प्रचार हुनुले यी दोस्रा लखनले प्रशस्तै अनुयायी प्राप्त गरी जंगबहादुर राणाविरुद्धमा जनसमर्थन जुटाएका थिए ।

जंगबहादुर राणाका छोरा पद्मजंगले लखनलाई मृत्युदण्ड दिइएको २२ वर्षपछि भारतबाट आफ्ना बाबुको जीवनी प्रकाशमा ल्याउने उद्देश्यले सन् १९०९ मा प्रकाशित गरेको ‘लाइफ अफ महाराज श्री जंगबहादुर’ (रत्न पुस्तक भण्डारद्वारा सन् १९७४ पुनः प्रकाशित पृष्ठ ३०२–३०४)मा प्रकाशित लखन थापा प्रकरण रेग्मी रिसर्च प्रालिले सञ्चालन गरेको ‘रेग्मी रिसर्च सेरिज’को वर्ष १२ अंक ५ (डिसेम्बर १९८०ः७२–७५)मा प्रकाशित गरिएको छ ।

सो सेरिजमा प्रकाशित पद्मजंगको बयानअनुसार लखनले त्यस बेला एक हजार पाँच सय जनाको सशस्त्र समूह गठन गरेका थिए । सोही सेनाका प्रमुखलाई उनले राजधानी गएर जंगबहादुरको हत्या गरेर सत्ता कब्जा गरी नेपालमा सुनौलो इतिहास सुरु गर्न आदेश दिएका थिए ।
नेपाल मगर संघ केन्द्रीय समितिका भाषिक उपाध्यक्ष दलबहादुर बीरकट्टामगरले अब लखन थापालाई मगरहरुको मात्र सम्पति नठान्न र जबरजस्ती जातीय रुपले कुण्ठित नबनाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर