मनिष डाँगीको टाउकोमा दुई स्टिच, चाँडै स्वस्थ भएर मैदान फर्किनसक्ने


काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत च्यासल युथ क्लबविरुद्धको खेलमा घाइते भएका मछिन्द्र फुटबल टोलीका स्ट्राइकर मनिष डाँगीको उपचार जारी छ । ब्लु क्रस अस्पतालमा उपचार गराइरहेका उनको धेरैजसो मेडिकल रिपोर्टहरू सन्तोषजनक छन् ।
उपचारमा संलग्न फिजियोथेरापिस्ट सुरज भुसालले डाँगी चाँडै स्वस्थ भएर मैदानमा फर्किन सक्ने आशा व्यक्त गरे । भुसालका अनुसार डाँगीको टाउकोको दायाँ भागमा एक सेन्टिमिटरको घाउ छ र, त्यसमा दुईवटा स्टिच लगाइएको छ ।
‘उनलाई अहिले केही भइहाल्छ कि भनेर अब्जर्भेसनमा मात्र राखिएको हो । मेडिकल टर्मअनुसार २४देखि ४८ घन्टासम्म अब्जर्भेसनमा राख्नुपर्छ हुन्छ । त्यस्तो ठूलो समस्या छैन,’ उनले भने ।
ए डिभिजन लिगका ११औं चरणको खेल गुमाए पनि बाँकी खेलमा फिट भएर मैदान फर्किन सक्ने भुसालले बताए ।
शनिबार दशरथ रंगाशालामा भएको खेलको ६६औं मिनेटमा मनिष विपक्षी खेलाडी यानिक केइचासँग ठोक्किएर मैदानमा लडेका थिए । टाउकोमा चोट लागेका उनी करिब चार मिनेट मैदानमै बेहोस भएका थिए ।
मनिष मैदानमा लडेलगत्तै खेलाडीहरुमा रुवाबासी नै चलेको थियो । झन्डै सात मिनेटको प्राथमिक उपचारपछि उनलाई नजिकै रहेको ब्लु क्रस हस्पिटल लगिएको थियो । त्यसपछि खेल सुचारु भएको थियो ।
मनिष दोस्रो हाफमा मैदान छिरेका थिए । ६१ औँ मिनेटमा सुनिल बलको स्थानमा उनलाई मैदान छिराएको थियो । तालिकाको शीर्षस्थानमा रहेको मच्छिन्द्रले उक्त खेल २-० गोलले जितेको थियो ।