लुम्बिनीले प्रदेश स्थापना दिवस देउखुरीमा मनाउने – Nepal Press

लुम्बिनीले प्रदेश स्थापना दिवस देउखुरीमा मनाउने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउने भएको छ ।

प्रदेश राजधानीका सबै गतिविधि अस्थायी राजधानी बुटवलबाट संचालन भएपनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो ।

स्थायी राजधानीको अपनत्व लिन सो निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको भनाइ छ । दाङमा मनाउन लागिएको स्थापना दिवस मनाउने तयारी पूरा भएको उनले बताए ।

मन्त्री शर्माले स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्तिहरु, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरुलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको जानकारी दिए ।

प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभा सभामुख पुर्ण घर्तीसहित क्याबिनेट मन्त्रीहरुको सहभागिता रहने कार्यक्रममा मन्त्रालयहरुले गरेको प्रगति प्रतिबेदन, प्रदेशको डकुमेन्ट्रि सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने उनले बताए ।

उनले प्रदेश स्थापना दिवससंगै जनयुद्ध दिवसका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिन नसकेकोमा दुःख व्यक्त गर्दै बिदा दिएकोमा मधेश प्रदेश सरकारलाई धन्यवाद दिए ।

मन्त्री शर्माले संसदले दाङको देउखुरी राजधानी तोकिसकेपछि क्रमशः मन्त्रालय र सरकारका गतिबिधि दाङमा हुन अस्वाभाविक नभएको बताए ।

‘प्रदेशको राजधानी देउखुरी तोकिएपनि अहिलेसम्म प्रदेश सरकारले देउखुरीमा न त जग्गा प्राप्त गर्न सकेको छ न त राजधानीको गुरुयोजना नै तयार भएको छ । जबर्जस्ती सारिएका २ वटा मन्त्रालयको सबै काम कारवाही पनि बुटवलबाटै संचालन भइरहेका छन् । सरकारले बिनापूर्वाधार शहरी विकास र स्वास्थ्य मन्त्रालय देउखुरीमा सार्ने निर्णय गरेपनि कर्मचारी र मन्त्री भने बुटवलबाटै काम गरेका छन् ।

१७ महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले सबै काम गर्दै आएको छ । यसैबीच लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर