राप्रपाकी महामन्त्री कुन्ती शाही राप्रपा नेपाल जाने तयारीमा, अरु को-को छन् लाइनमा ? – Nepal Press

राप्रपाकी महामन्त्री कुन्ती शाही राप्रपा नेपाल जाने तयारीमा, अरु को-को छन् लाइनमा ?

काठमाडौं । कमल थापा राप्रपा नेपालको अध्यक्ष बनेसँगै राप्रपाभित्र समेत तरंग उब्जिएको छ । धेरैको चासो छ- अब राप्रपा छोेडेर को–को नेताहरु राप्रपा नेपालमा जालान् त ?

स्रोतका अनुसार राप्रपाबाट राप्रपा नेपालमा जानसक्ने सम्भावित नेताको सूचीमा पहिलो नम्बरमा छिन् कुन्ती शाही । उनी राप्रपाकी निर्वाचित महामन्त्री हुन् ।

महाधिवेशनमा कमल थापाको प्यानलबाट उठेकी उनी रेखा थापालाई पराजित गर्दै महिला कोटामा महामन्त्री निर्वाचित भएकी थिइन् । उनले विगतदेखि नै कमल थापालाई साथ दिँदै आएकी छन् ।

स्रोतका अनुसार शाही राप्रपा छाडेर राप्रपा नेपालमा आउने लगभग टुंगो लागिसकेको छ । यद्यपि, उनले केही दिनपछि मात्रै घोषणा गर्ने स्रोतले बतायो ।

‘हाम्रो पक्षबाट निर्वाचित नेताहरुले आपसी सरसल्लाह गरेपछि सामूहिक निर्णय लिएर आउने योजना छ,’ स्रोतले भन्यो, ‘त्यसका लागि एक हप्ताजति लाग्न सक्छ ।’

राप्रपाबाट उल्लेख्य संख्यामा नेताहरु आउने थापानिकट स्रोतको दावी छ । यद्यपि, शाहीबाहेक पदाधिकारी कोको आउँछन् भन्ने एकिन भएको छैन । महामन्त्री भुवन पाठकले राप्रपा नछोड्ने सार्वजनिक घोषणा गरिसकेका छन् ।

अन्य निर्वाचित उपाध्यक्ष र महामन्त्रीहरु पनि छोडिहाल्ने मनस्थितिमा छैनन् । कमल थापाले भने तीन उपाध्यक्षहरु तामाङ, प्रधान र कार्कीसँग आशा राखेका छन् ।

राप्रपा नेपालमा अहिले ६१ जनाको कार्यसमिति बनाइएको छ । लाक्पा लामाको नेतृत्वमा रहेको राप्रपा नेपालको केन्द्रीय समितिमा रहेका र कमल थापाको समूहमा रहेका नेताहरुलाई मिलाएर नयाँ कार्यसमिति बनाइएको हो । थापाको समूहबाट राजीव पराजुली, उद्धव पौडेल, सुशील श्रेष्ठ, तेजकुमार कुरवान, जयकुमार खड्का इन्द्र चित्रकार लगायतका नेताहरु कार्यसमितिमा छन् ।

हाल राप्रपाको केन्द्रीय समितिमा रहेका कोही पनि औपचारिक तवरले राप्रपा नेपालमा आइसकेका छैनन् । कमल थापाको निकट सहयोगीका रुपमा साथ दिएका राजाराम बर्तौलाले आफू अहिलेसम्म राप्रपामै रहेको बताए ।

‘म राप्रपाको निर्वाचित केन्द्रीय सदस्य हुँ, अहिलेसम्म पार्टी छाड्ने निर्णय गरिसकेको छैन,’ उनले भने, ‘पार्टीमा असन्तुष्ट भइञ्जेलसम्म कमल थापालाई सहयोग गरेको हो । उहाँले अर्को पार्टी बनाएपछि मैले त्यसमा जानेबारे नर्णिय लिइसकेको छैन ।’

राप्रपामा थापा प्यानलबाट निर्वाचित भएकाहरुले अब के गर्ने भनेर सामूहिक निर्णय लिने उनले बताए । थापा पक्षधरको तत्काल वैठक बसेर धारणा बनाइने बर्तौलाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर