कमल थापाले भने- बाटो बिराएका थियौं, आफ्नो घरमा फर्कियौं – Nepal Press

कमल थापाले भने- बाटो बिराएका थियौं, आफ्नो घरमा फर्कियौं

फागुन ७ मा राप्रपा नेपालको घोषणासभा

काठमाडौं । राप्रपा त्यागेर राप्रपा नेपालको अध्यक्ष बनेका कमल थापाले केही समयको अलमलपछि आफ्नो घर फर्केको बताएका छन् । राप्रपा नेपालले अब ‘हिन्दूराष्ट्र, सुशासन र समृद्धिलाई आफ्नो मुल एजेन्डा बनाउने उनको भनाइ छ ।

आज एक अपिल जारी गर्दै उनले राप्रपा नेपालको घोषणासभा आगामी फागुन ७ गते हुने जानकारीसमेत दिएका छन् । विगतमा सँगै काम गरेका साथीहरुलाई विना कुनै द्विविधा राप्रपा नेपालमा आवद्ध हुन उनको आह्वान छ ।

‘हिन्दू राष्ट्र, सुशासन र समृद्धिको मान्यताप्रति विश्वास गर्नुहुने स्वतन्त्र बुद्धिजिवि, नागरिक समाज, तथा विभन्नि दलमा आवद्ध रहेकाहरुलाई पनि राप्रपा नेपालमा साथ दिन सविनय अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

थापाले २०७३ सालदेखि आफूहरुले बाटो बिराएको भन्दै पश्चातापसमेत गरेका छन् ।

‘पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा पर्यौं । गम्भीर राजनीतिक भुलका श्रृंखलाहरु शुरु भए । असहज र गलत प्रवृत्तिहरुसँग् सम्झौता गर्न थाल्यौं । फलस्वरुप हामी करिब पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिब करिब निस्क्रिय र प्रभावहिन हुन पुग्यौं,’ अपिलमा भनिएको छ ।

देशको धरातलीय यथार्थ र सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय लिएको थापाले बताएका छन् ।

राप्रपा नेपाललाई आजसम्म जिवन्त तुल्याइराख्न महत्वपूर्ण योगदान दिएको भन्दै उनले यसअघिका अध्यक्ष लाक्पा तामाङप्रति आभार प्रकट गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर