जनयुद्ध दिवसमा प्रचण्डको अपिल- छरिएका माओवादीहरु एक होऔं (भिडिओसहित) – Nepal Press

जनयुद्ध दिवसमा प्रचण्डको अपिल- छरिएका माओवादीहरु एक होऔं (भिडिओसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २७ औं जनयुद्ध दिवसका अवसमा शुभकामना सन्देश दिँदै छरिएका माओवादीहरु एकै ठाउँमा आएर प्रतिक्रियावादीलाई परास्त गर्नुपर्ने बताएका छन् । अहिले पनि जनयुद्धका उपलब्धी मास्ने प्रयास भइरहेको भन्दै प्रचण्डले त्यसको रक्षार्थ सबै माओवादीबीच एकताको अपिल गरेका हुन् ।

‘देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेका छन्’, शुभकामना सन्देशमा प्रचण्डले भनेका छन्, ‘२७ औं जनयुद्ध दिवसको सन्दर्भमा हाम्रो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक–शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गर्दछु ।’

उनले शुभकामना दिँदै सहिदहरुप्रति श्रद्धान्जली र जनयुद्धका क्रममा बेपत्ता पारिएका, घाइते र सहिदप्रतिप्रति सम्मान व्यक्त गरेका छन् ।

शुभकामना सन्देशको पूर्णपाठ यस्तो छ

२७ औं जनयुद्ध दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसुमदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक सन्दर्भमा देशमा क्रान्तिकारी परिवर्तनको निम्ति महान् जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । महान् जनयुद्धका क्रममा बेपत्ता पारिनु भएका योद्धाहरु, घाइते योद्धाहरु र उहाँहरुका परिवारजनप्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु ।

नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ । नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको ०६२/६३ को संयुक्त जनआन्दोलन पश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको छ । संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत हुनै सक्दैन ।

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेका छन् । २७ औं जनयुद्ध दिवसको सन्दर्भमा हाम्रो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुकरशुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपील गर्दछु ।

यस ऐतिहासिक सन्दर्भमा माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध गर्दछु । छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गर्दछु ।

परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु ।
अन्त्यमा, २७ औं जनयुद्ध दिवसको मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य परिवर्नतकारी क्रान्तिकारी शक्तिहरुबीचको एकता भएको विश्वाससहित पुनः एकपटक देशभित्र र बाहिर रहेका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र श्रमजीवि नेपाली जनसमुदायमा बधाई र शुभकामना व्यक्त गर्दछु ।

१ फागुन, २०७८

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर