ए डिभिजन लिग : शीर्ष स्थानको मछिन्द्रलाई सात अंकको अग्रता – Nepal Press

ए डिभिजन लिग : शीर्ष स्थानको मछिन्द्रलाई सात अंकको अग्रता

काठमाडौं । च्यासल युथ क्लबलाई २–० गोलले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सनिबार भएको पहिलो खेलमा मछिन्द्रलाई जित दिलाउन विमल घर्तीमगर र सुनिल बलले गोल गरे ।

खेलको १६औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । डिफेन्डर रञ्जित धिमालको कर्नरमा विमलले हेडमार्फत सुन्दर गोल गरेका थिए ।

सुनिल बलले ३५औं मिनेटमा विमलको पासमा गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । जारी लिगमा सुनिलको यो छैटौ गोल हो ।

यसअघि १२औं मिनेटमा पहिलो रोजाईका गोलकिपर अर्पन कार्की खुट्टाको चोटका कारण मैदानबाट बाहिरएपछि च्यासल निराश भएको थियो । गोलपोष्टमा आएको बल बचाउने क्रममा विमलसँग जुध्दा उनी घाइते भएका थिए । उनको स्थानमा प्रदिप भण्डारी मैदान प्रवेश गरेका थिए ।

सुनिलको फ्रिकिक च्यासलका प्रदिपले २४औं मिनेटमा रोक्दा मछिन्द्रले अग्रता बढाउने अवसर गुमाएको थियो ।

मोसा अब्बाले खेलको ३९औं मिनेटमा गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोक्दा च्यासलले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।

च्यासलका गोलकिपर प्रदिप बिट भैसकेको अवस्थामा विमलले ५०औं मिनेटमा गरेको प्रहार पोलमा लागेर फर्कदा मछिन्द्रले अग्रता बढाउन सकेन ।

मछिन्द्रका स्ट्राइकर मनिस डाँगी ६६औं मिनेटमा मैदानमा ढलेपछि खेल करिब सात मिनेट रोकिएको थियो । च्यासलका यानिक केइचासँग ठोकिँदम मनिस केही समय बेहोस भएका थिए ।

मैदानमै गरिएको प्राथमिक उपचारपछि होस आएपछि मनिसलाई अस्पताल पुर्याइएको छ । उनको टाउकोमा चोट लागेको बताए पनि विस्तृत जानकारी भने आइसकेको छैन ।

७५औं मिनेटमा विशाल राईको प्रहार च्यासलका गोलकिपर प्रदिपले बचाएका थिए । ८१औं मिनेटमा पनि विशालको प्रहार प्रदिपले विफल पारेका थिए ।

जितसँगै १० खेलबाट २६ अंकसहित सात अंकको अग्रता बनाउँदै मछिन्द्र तालिकाको शिर्ष स्थानमा छ । पराजित च्यासल ५अंकसहित तालिकाको पुछारमा छ । रेलिगेसनबाट बच्न च्यासललाई बाँकी खेल जित्नै पर्ने दवाव रहेको छ ।

आज दशरथ रंगाशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लब भिड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर