अमित अग्रवालको बयान- भागेको होइन, डिप्रेसनमा परेर उपचारका लागि भारतमा थिएँ – Nepal Press

अमित अग्रवालको बयान- भागेको होइन, डिप्रेसनमा परेर उपचारका लागि भारतमा थिएँ

काठमाडौं । मदिरा व्यवयसायी अमित अग्रवालले आफू बैंकको पैसा खाएर नभागेको बताएका छन् । कोभिडका कारण व्यवसायमा समस्या आएर बैंकको किस्ता समयमा तिर्न नसकेको उनको भनाइ छ ।

दरबारमार्गमा सञ्चालित ग्रीनलाइन सेन्टरका सञ्चालक अग्रवाल ९ जनाको परिवारसहित पुसको तेस्रो साताबाट सम्पर्कविहीन बनेका थिए । हिजो बिहान उनीहरू प्रहरीको सम्पर्कमा आएका हुन् । आज पत्रकार सम्मेलन गर्दै अग्रवालले व्यवसायमा उत्पन्न संकटमा कारण सिंगै परिवार डिप्रेसनमा गएको र स्वास्थोपचारका लागि भारत गएको बताए ।

‘सार्वजनिक सञ्चारमाध्यमहरूमा आएजस्तो म देश छोडेर अन्यत्र होइन, उपचारका सिलसिलामा केही समय देशबाहिर रहेको थिएँ । मेरा प्रतिस्पर्धीहरूले मेरो व्यापार व्यवसायलाई समाप्त पार्नका लायि विभिन्न नकारात्मक प्रचारबाजी गरिआएका छन्,’ उनले भने ।

अग्रवालले बैंकहरुको ऋण किस्ता र अन्य साथीभाइ एवं साहूहरूको सापटी रकम भुक्तानी गर्न प्रतिबद्ध रहेको बताए । उनले बैंक तथा साहूहरूलाई समेत संयमित भएर काम गर्न दिन आग्रह गरे ।

‘केबल मलाई मेरो जीउज्यानको सुरक्षा र सहज तरिकाले व्यवसाय गर्ने वातावरणको आवश्यकता परेको छ । मर्नु र बाँच्नु जे-जे गर्नुपरे पनि म आफ्नै देश नेपालमा गर्न चाहन्छु,’ उनले भने ।

आफू र परिवारका सदस्यलाई मानसिक तनाव दिने तथा भौतिक आक्रमणको धम्की दिने काम भएकाले सुरक्षा माग गर्दै जिल्ला प्रकाशन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएको उनले जानकारी दिए ।

३० वर्षदेखि विभिन्न व्यापार व्यवसायमा संलग्न अग्रवालले एलायन्स डिस्ट्रिब्यूटर्स प्रालि, ग्रिनलाइन सेन्टर प्रालि, अमि अभि स्टोर सञ्चालन गर्दै आएका छन् । नेपालमा महंगा विदेशी रक्सी बिक्री गर्दै आएका उनले पाँच वाणिज्य बैंकको १ अर्ब रूपैयाँ बराबरको कर्जा नतिरेको आरोप छ । परिवारसहित सम्पर्कविहीन बनेपछि कान्तिपथस्थित कम्पनीको शोरुममा इन्भेस्टमेन्ट र एभरेस्ट बैंकले ‘नोटिस’ टाँसेका थिए । कम्पनीको कान्तिपथ र दरवारमार्गस्थि शोरुम एक सातादेखि बन्द छन् ।

बुबा ओमप्रकाशले सुरू गरेको कारोबालाई छोराहरू अमित अग्रवाल र अभिषेक अग्रवालले फैलाए पनि कोभिडका कारण उनीहरू समस्यामा परेका थिए । उनीहरूले बाणिज्य बैंकका साथै सहकारीबाट ऋण र विभिन्न व्यक्तिहरूसँग पनि पैसा उठाएका छन् ।

आज आफ्नो लिखित मन्तव्यमा अग्रवालले कोभिडका कारण लकडाउन भएर होटेल, रेस्टुरेन्ट तथा क्यासिनो सञ्चालन नहुँदा आफूहरुको करोडौं रुपैयाँको भुक्तानी हुन नसकेको उल्लेख गरेका छन् ।

उनको मन्तव्यको पूर्णपाठ यस्तो छ :

आदरणीय सम्पादक तथा पत्रकार ज्यूहरु , म अमित अग्रवाल नेपालमा एलायन्स डिष्ट्रिव्युटर्स प्रा. लि., ग्रिनलाईन सेन्टर प्रा.लि., अमि अभि स्टोर संचालन गरी विगत ३० बर्षदेखी विभिन्न व्यापार व्यावसायमा संलग्न रही आएको छु । मैले मेरो व्यावसायिक कारोबार गर्ने शिलसिलामा विभिन्न बैंक तथा वित्तिय संस्थाबाट ऋण लिई कारोबार गरिआएको र बैकको सावा व्याज लगायतका किस्ताहरु नियमति रुपमा चुक्ता भुक्तानी गर्दै आईरहेको थिए ।

कोभिड १९ को विश्वव्यापी महामारीले गर्दा विभिन्न व्यवसायिक क्षेत्रमा परेको नकारात्मक असरले गर्दा व्यावसायिक कारोबार ठप्प भई कर्जाको भुक्तानी तालिकामा केही समय ढिलाई भएको, हाम्रो व्यवसाय विशेषगरी काठमाण्डौका होटेल रेष्टुरेन्ट, क्यासिनो तथा बारहरुमा हुँदै आएकोमा कोभिडको समयमा नेपाल सरकारले मदिरा पसलहरु संचालन गर्न लामो समयसम्म रोक लगाएको हुनाले सम्पूर्ण व्यावसाय ठप्प भएको, कोभिडका कारण लकडाउन भई होटेल रेष्टुरेन्ट, क्यासिनो तथा बारहरु बन्द भएकोले बजारमा पठाईएको मदिराबाट करोडौ रुपैयाको भुक्तानी प्राप्त हुन नसकेको हुनाले गर्दा मात्र बैंक तथा ऋणीहरुलाई समयमै रकम भुक्तानी गर्न असहज भएको यर्थाथ हो ।

कोभिडका कारण लकडाउन भई सरकारले मदिराजन्य व्यवसायमा लामो समयसम्म रोक लगाएतापनि बैकको किस्ता नियमित भुक्तानी गर्ने योजना रहेकोमा तत्कालीन अवस्थामा संचालनमा रहेका कम्पनीका गोदाम, पसल र अफिसहरु समेत बैकले तालाबन्दी गरिदिएकाले आम्दानीको स्रोत बन्द भई ऋण चुक्ता गर्न असहज भएकोले मेरो परिवार यि अनपेक्षित परिस्थितिले गर्दा डिप्रेशन तथा मानसिक तनावमा रहदै आएकोमा सो को उपचारार्थ देशबाहिर गएको अवस्थामा बैंकहरुको ऋण रकम भुक्तान नगरी सर्पकविहिन भएको भनी विभिन्न सञ्चार माध्यमहरुमा भ्रमपूर्ण समाचारहरु प्रकाशन भएको थाहा पाऊंदा म लगायत मेरो परिवार अत्यन्त दुखी एवं मर्माहत भएका छौ।

बैकसंग कर्जा कारोबार गदा बैकलाई मान्य हुने प्रकारका चल अचल सम्पत्तिहरु पर्याप्त मात्रामा धितोसुरक्षणमा राखेको, बैंकसंगको सम्झौता अनुसार नियमित रुपमा कर्जाको सावा तथा व्याज रकम चुक्ता गरीरहेको अवस्थामा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले गर्दा आयात निर्यात समेत ठप्प भई नेपाल सरकारले विदेशी मदिरा आयात समेतमा प्रतिबन्ध लगाएको कारणले गर्दा व्यापार व्यावसाय खुम्चन गई कर्जाको सावा व्याज भुक्तान गर्न ढिलाई भएको अवस्थामा समेत आफन्त, साथीभाई तथा साहुहरुसंग सापटी लिई बैंकहरुको किस्ता तथा व्याज नियमित गर्दै आएको थिए । ऋण चुक्ता गर्न अघि बढिरहेको सन्र्दभमा बैंकहरुका किस्ताहरु बांकी रहेको अवस्था भएतापनि आगामी दिनमा व्यापार व्यावसायलाई सुचारु गरी कर्जाको सावा व्याज नियमित गर्ने कुरामा प्रतिबद्ध रहेको छु । यसै सन्र्दभमा मेरो परिवार विगत सात पुस्तादेखी नेपालमा बसी व्यापार व्यावसाय गर्दै आएको अवस्था छ ।

कोभिडको कारणले गर्दा काबु बाहिरको परिस्थिति उत्पन्न भई हालको अवस्था सृजना भएको हो । व्यवसायिक कारोबारमा संलग्न विभिन्न व्यक्तिहरुले कानून विपरीत म लगायत मेरो परिवारका सदस्यहरुलाई मानसिक तनाव दिने, भौतिक आक्रमण गर्ने, अनाधिकृत तवरले मेरो सम्पत्तिहरु कब्जा गर्ने धम्की दिने साथै दुख हैरानी दिन विभिन्न अनावश्यक मुद्दामामिला गरेकाले म लयागत मेरो घरपरिवारका सदस्यहरुको जिऊ धनमा गम्भीर खतरा उत्पन्न हुने अवस्था भएकोले नेपालको संविधान एवं प्रचलित कानूनले प्रदान गरेको सम्मानपूर्वक बाच्न पाउने हक, स्वतन्त्रताको हक, व्यापार व्यावसाय गर्न पाउने हकको सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा निवेदन समेत दर्ता गरेको व्यहोरा यहाँहरुसमक्ष जानकारी गराऊदछ।

सार्वजनिक सञ्चार माध्यमहरुमा आएजस्तो म देश छाडेर अन्यत्र नगएको र उपचारको सिलशिलामा केही समय देशवाहिर रहेको थिएँ । मेरा प्रतिस्पर्धीहरुले मेरो व्यापार व्यावसायलाई समाप्त गर्नका लागि विभिन्न नकारात्मक प्रचारबाजी गरिआएका छन् । बैंकहरुको ऋण किस्ता र अन्य साथीभाई एवं साहहरुको सापटी रकम भुक्तानी गर्न प्रतिबद्ध रहेको छ । बैक तथा साहुहरुलाई समेत संयमित भई कार्य गर्न दिनुहुन अनुरोध गर्दछ । केवल मलाई मेरो जिऊ ज्यानको सुरक्षा र सहज तरिकाले व्यवसाय गर्ने वातावरणको आवश्यक्ता परेको छ । मन् वा बांच्न् जो जे गर्नुपरेपनि म आफ्नै देश नेपालमा गर्न चाहान्छ ।

भवदीय,
अमित अग्रवाल
का जि का म न पा ३० ज्ञानेश्वर, काठमाण्डौ।
मितिः २०७८ १०.२८


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर