चीनतर्फ संकेत गर्दै प्रचण्डलाई के भनेका थिए अमेरिकी सहायक विदेशमन्त्रीले ? – Nepal Press

चीनतर्फ संकेत गर्दै प्रचण्डलाई के भनेका थिए अमेरिकी सहायक विदेशमन्त्रीले ?

काठमाडौं । अमेरिकाले मिति तोकेरै आफ्नो अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी)लाई संसदीय अनुमोदन गर्न नेपाली शीर्ष नेताहरुलाई दवाव दिन थालेको छ ।

अमेरिकी मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर सम्झौता पास गर्न दबाब दिएपछि राजनीति तरंगित बनेको छ ।

प्रचण्डसँगको कुराकानीमा अमेरिकी कूटनीतिज्ञ लूले यदि नेपालमा एमसीसी पास नभए त्यसलाई अमेरिकाले चिनियाँ हस्तक्षेपको रुपमा बुझ्ने बताएको विवरण बाहिर आएको छ । तर, प्रचण्डको सचिवालयले भने चीनको नाम उच्चारण नगरेपनि त्यसतर्फ संकेत गरेको जनाएको छ ।

‘अध्यक्षज्यूसँग संवादका क्रममा लूले यदि एमसीसी पास नभए त्यसलाई अन्य मुलुकको हस्तक्षेपको रुपमा आफूहरुले लिन्छौं भनेर भन्नुभएको छ । नामै नलिएपनि यसलाई चीनतर्फको संकेतको रुपमा हामीले लिएका छौं’ प्रचण्डका प्रेस संयोजक रमेश मल्लले नेपाल प्रेसलाई भने ।

मल्लका अनुसार लूले निर्धारित मितिभित्रै एमसीसीको संसदीय अनुमोदन गर्न या नसके निधो दिन भनेका थिए । प्रचण्डसँगको कुराकानीमा अमेरिकी उच्च कूटनीतिज्ञले चीनलाई प्रवेश गराउनुले नेपालमा भूराजनीतिक घर्षण थप पेचिलो बन्ने अनुमान गर्न सकिन्छ ।

अमेरिकी कूटनीतिज्ञहरुले अनौपचारिक कुराकानीमा पनि एमसीसी जटिल बन्नुमा नेपालको उत्तर छिमेकीतर्फ औंला सोझ्याउने गरेका छन् । पछिल्ला महिनाहरुमा एमसीसीलाई रोक्न चिनियाँ अधिकारीहरु सक्रिय रहेको आरोप अमेरिकीले कूटनीतिज्ञले लगाउँदै आएका छन् । अमेरिकी सहायक विदेशमन्त्री लूले चीनतर्फ संकेत गर्दै बोलेको प्रचण्डसँगको संवादलाई लिएर भने चीन मौन देखिएको छ । नेपाल प्रेससँगको जिज्ञासामा चिनियाँ दूतावासले तत्काल कुनै टिप्पणी गर्न चाहेन ।

देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्रअनुसार नै एमसीसी मुख्यालयले फागुन १६ गते एमसीसी पास हुनुपर्ने आफ्नो बटमलाइन रहेको भनाई दोहो¥याएको छ । अमेरिकाले मिति तोकेरै सम्झौता पास गर्न दवाव दिनु र कूटनीतिक सक्रियता बढाउनुले परिस्थिती थप जटिल बन्ने अनुमान गर्न सकिन्छ ।

चीन मामिलाका जानकार रुपक सापकोटा माओवादी अध्यक्ष प्रचण्डसँग अमेरिकी कूटनीतिज्ञ लूले चीनतर्फ संकेत गर्नुलाई भूराजनीति कै प्रतिविम्वको रुपमा लिन्छन् । ‘नेपालमा भूराजनीतिक दवाव पहिल्यैदेखि महसुस भएको हो । हिजोको संवाद र पछिल्लो समय जसरी अमेरिकाले राजनीतिक नेतृत्वसँग जसरी संवाद अघि बढाएको छ त्यसलाई भूराजनीतिक दवाव झल्कन लागेको हो किन भनेर बुझ्न सकिन्छ ।’

लूले विहिबार बिहान प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसँग पनि एमसीसी छिटो पास गर्न दवाव दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर