राजेशमानको बालकोट प्रवेशले पर्साको राजनीति तरंगित, एमाले अध्यक्ष ओली वीरगन्ज जाँदै – Nepal Press

राजेशमानको बालकोट प्रवेशले पर्साको राजनीति तरंगित, एमाले अध्यक्ष ओली वीरगन्ज जाँदै

वीरगन्ज । मधेश आन्दोलनको एपिसेन्टर बनेको वीरगन्जका दुई हस्ति प्रदिप यादव र राजेशमान सिंह कुनै बेला त्यो आन्दोलनका दुई मुख्य कमाण्डर थिए । प्रदिप यादव अहिले जसपाबाट सांसद छन् भने राजेशमान सिंहले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि पर्साको राजनीति तरंगित भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट वीरगन्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनेका सिंहले १२ हजार १६५ मत प्राप्त गरेर तेस्रो स्थानमा थिए । टिकट नपाएपछि लोकतान्त्रिक फोरमबाट मेयर उम्मेदवार बनेका विमल श्रीवास्तवका कारण उनको विजय रोकिएको थियो ।

वीरगन्जका लोकप्रिय नेता राजेशमान सिंह बुधवार एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेको तस्विर सार्वजनिक भएपछि वीरगन्जको राजनीति तरंगित भएको छ । स्थानीय तह निर्वाचन घोषणा भएकै बेला उनी एमाले प्रवेश गर्न लागेको चर्चाले यहाँको राजनीतिक माहौल फेरिएको हो ।

उनले भने अध्यक्ष ओलीसँग सकारात्मक कुरा भएको र चाँडै पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने बताएका छन् । राजेशमानलाई ओलीसँग भेटाउने एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष महेस दासले वीरगन्जमा एमालेलाई पाँचौबाट पहिलो शक्ति बनाउने अभियान चलेको बताए ।

उनले वृहत पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष अ‍ोली फागुन १४ गते वीरगन्ज आउने भन्दै को–को प्रवेश गर्छन् त्यही बेला सार्वजनिक हुने दावी गरे । उनले पर्सामा यसअघि नै माओवादीबाट निर्वाचित दुईवटा गाउँपालिका अध्यक्ष छिपहरमाइका मनोज गुप्ता र जगरनाथपुरका जालिम मिया एमालेमा समाहित भइसकेको भन्दै अरु धेरै लोकप्रिय व्यक्ति एमाले प्रवेशको तयारीमा रहेको बताए ।

यसैबीच तत्कालीन राजपाका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पट्टेल पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । राजेशमान सिंहसँगै तत्कालीन राजपाबाट वडाध्यक्ष उम्मेदवार बनेका २४ मध्ये १९ जना उनको साथमा रहेका र दुईजना निर्वाचित वडाध्यक्ष पनि सिंहकै राजनीतिक लाइनमा रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर