चोरीको झुठो सूचना दिने दुईजना पक्राउ – Nepal Press

चोरीको झुठो सूचना दिने दुईजना पक्राउ

जनकपुरधाम । कार र नगद लुटेको भनेर झुठो सूचना दिने दुईजनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका– ७ का दीपनारायण यादव र उनका साथी आशाराम चौधरी रहेका छन् । सोमबार राति उनीहरु दुवै प्रहरीलाई फोन गरेर बा १९ च ६६१४ नम्बरको कार र कारभित्र रहेको दुई लाख रुपैयाँ श्रवणकुमार चौधरीलगायतका व्यक्तिले चोरी गरेको सूचना प्रहरीलाई दिएका थिए ।

प्रहरीले श्रवणलाई फेला पारेपछि उनले आफूले चोरी नगरेको बयान दिएका थिए । त्यसपछि चोरीको सूचना दिने दीपनारायणलाई समेत बोलाएर प्रहरीले अनुसन्धान गर्दा झुठो सूचना दिएको कुरा खुलेको हो ।

प्रहरी समक्ष दिपनारायण र कार मालिक भनिएका आशाराम चौधरीले रिसइबीका कारण श्रवणलाई फसाउन चोरीको नाटक गरेको स्वीकार गरेपछि उनीहरु दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रहरी कर्मचारीहरुलाई गाली गलौज गरी अश्लील शब्दसमेत प्रयोग गरेका थिए । उनीहरुलाई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा चलाइएको छ ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषाबाट १० दिनको म्याद लिएर उनीहरुमाथि थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर