रुपन्देहीका १६ स्थानीय तहमा बर्चश्व जोगाउन सबै दललाई सकस, यस्तो छ हिसाब – Nepal Press

रुपन्देहीका १६ स्थानीय तहमा बर्चश्व जोगाउन सबै दललाई सकस, यस्तो छ हिसाब

एमाले, कांग्रेस र जसपालाई विरासत जाेगाउने चिन्ता, अन्य दललाई गठबन्धनको आश

रुपन्देही । वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको घोषणासंगै राजनीतिक दलले आफ्नो क्षेत्रमा कसरी जित हात पार्न सकिन्छ भनेर जोडघटाउ सुरु गर्न थालेका छन् । एक उपमहानगर, पाँच नगर र १० गाउँपालिकासहित १६ स्थानीय तह रहेको रुपन्देहीमा गत निर्वाचनमा जित निकालेका एमाले, कांग्रेस र जसपालाई आफ्नो बर्चश्व जोगाएर थप जित निकाल्ने चिन्ता छ भने माओवादी केन्द्र, राप्रपा, नेकपा एस, लोसपा, जनता समाजवादी, जनमोर्चालगायतका दललाई गठबन्धनको टेको समाएर स्थानीय सरकारमा उपस्थिति जनाउने चुनौती छ ।

सत्तागठबन्धनमा रहेका दलहरु निर्वाचनमा गठबन्धनबाटै अगाडि जान चाहेका छन् भने कांग्रेसका धेरै नेताहरु एकल ढंगले निर्वाचनमा गएपनि एमालेभन्दा बलियो रहने दाबी गर्दै आएका छन् । यसअघि धेरै पालिकामा एमालेले जित निकालेका कारण पनि कांग्रेसको एक समूहले उसलाई पछाडि पार्न गठबन्धनबाटै जानपर्ने तर्क गरिरहेका छन् ।

एक महानगरसहित पाँच वटा नगरमा एमालेको संगठन बलियो भएपनि एकीकृत समाजवादीमा गएको समूहले उसको विगतको विरासत जोगाउन चुनौती रहेको एमालेकै मध्यमार्गी नेताहरुको विश्लेषण छ । ‘अंकमा धेरै फरक त नहोला तर नेकपा एसमा गएका कार्यकर्ताले एमालेलाई हराउन सहयोग गर्न सक्छन्, यसमा गहिरो अध्ययन आवश्यक छ, थोरै मतले निर्वाचन हार्न सकिने स्थान धेरै हुनसक्छ’, एमालेका निवर्तमान जिल्ला सदस्य देवराज पोखरेल विश्लेषण गर्छन् ।

गठबन्धन भए पनि नभए पनि जिल्लामा नेकपा एमाले, कांग्रेस, जसपा र सिके राउतको जनमत पार्टीले बढी प्रभाव पार्ने आंकलन धेरैको छ ।

गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तलमेल भएपनि जिल्लाका बलिया र धेरै स्थानीय तहमा नेकपा एमालेले जितेका कारण पनि एमालेका केही नेताहरुमा यसको दम्भ रहनसक्छ तर अहिलेको गठबन्धन बनेमा त्यो भन्दा बलियो बन्ने र एमालेमा रहेका असन्तुष्ट पक्षलाई समेट्न नसके थप क्षति हुने एमालेकै मध्यमार्गी नेताहरुले नेतृत्वलाई सुझाएका छन् । उनीहरुले माओवादीमा पनि गत निर्वाचनमा भन्दा संगठन थप कमजोर भएको भएपनि अहिले सत्तारुढ सबैको गठबन्धन भए एमालेलाई जित निकाल्न समस्या पर्ने तर्क गर्दै आएका छन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचन परिणाम र अहिलेको दलहरुका बीच भएको गठबन्धनलाई हेर्दा सत्ता गठबन्धनमा त्यो बेला दुईवटा पार्टी मात्र भएपनि अहिले सत्तागठबन्धनमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चासमेत थपिएका छन् ।

अमेरिकी सहयोग परियोजना एमसिसीका कारण दलहरुका बीचमा देखिएको विवादले गठबन्धन स्थानीय तहको निर्वाचनसम्म पुग्छ कि पुग्दैन भन्ने आशंका सत्तारुढ दलका नेताहरुमै छ ।

पहिलोपटक भएको स्थानीय तहको निर्वाचनमा दलहरुले पाएको मत परिणामले एमाले बलियो देखिएको थियो । एमालेलाई अहिले त्यो साख जोगाउनु चुनौतीपूर्ण छ । लुम्बिनी प्रदेशमा एमाले विभाजनको असर नपरेको जिल्ला नै रुपन्देही हो भन्ने बुझाइ एमाले नेतृत्वको छ भने एकीकृत समाजवादीे आफ्ना मतदाताको मत कांग्रेस वा माओवादीलाई हालेर भएपनि एमालेका उम्मेदवार हराएर एमालेबाट बाहिरिनु परेको पीडाको बदला लिने दाउ पर्खेर बसेको छ ।

रुपन्देहीमा सक्रिय राजनीतिक दलहरु सबैले आ–आफ्नो स्थिति सुधार भएको दावी गरे पनि थपिएका मतदाताहरु युवा पुस्ताका भएका कारण मतपरिणाम आंकलन गर्न भने कठिन छ ।

अहिले मतदातामा आएको सचेतना र मतदाता संख्याको वृद्धिलाई हेर्दा विगतको परिणामलाई हेरेर ठ्याक्कै मत परिणामको आंकलन गर्न कठिन हुने भएपनि नेकपा एमालेले रुपन्देहीका स्थानीय तहमा विगतको बर्चस्व गुम्न नदिने मात्रै होइन थप पालिकाहरु जित्ने दाबी गरेको छ । सत्तागठबन्धनलाई कायम राखेर भएपनि एमालेको बर्चश्वलाई तोड्ने दाउमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत, जसपाका नेताहरु जोडबलले लागेका छन् ।

१६ वटा स्थानीय तहहरु रहेको रुपन्देहीमा २०७४ सालको निर्वाचनमा नेकपा एमालेले बुटवल उपमहानगरपालिकासहित ७ वटा स्थानीय तह जितेको थियो ।

उक्त निर्वाचनमा नेपाली काँग्रेस र संघीय समाजवादी फोरमले ३–३ वटा स्थानीय तह, नेकपा माओवादी केन्द्र, मधेसी जनअधिकार फोरम र स्वतन्त्र उम्मेदवारले १–१ वटा स्थानीय तहमा जित हात पारेका थिए । नेकपा एमालेले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका, कन्चन गाउँपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाको प्रमुखमा जित हात पारेको थियो ।

यस्तै नेपाली कांग्रेसले देवदह नगरपालिका, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिकाको प्रमुख पद जितेको थियो । संघीय समाजवादी फोरमले कोटहीमाई गाउँपालिका, गैहहवा गाउँपालिका र मर्चवारी गाउँपालिकामा जित्दा माओवादी केन्द्रले भने ओमसतिया गाउँपालिकामा मात्रै जित हात पारेको थियो ।

सम्मरीमाई गाउँपालिकामा मधेसी जनअधिकार फोरमले र लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । सम्मरीमाईका अध्यक्ष एमाले हँुदै जनता समाजवादी पार्टी र पछिल्लो समय नेकपा माओवादी केन्द्रमा प्रवेशको तयारीमा रहेको आफैंले बताएका छन् भने लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

गत निर्वाचनमा रुपन्देहीका पालिकामा कसको अवस्था कस्तो ?

बुटवल उपमहानगरपालिमा एमालेलाई विरासत जोगाउनुपर्ने चुनौती

जिल्लाको एकमात्र उपमहानगर र सबैको केन्द्रबिन्दु रहेको बुटवल उपमहानगरपालिकामा नेकपा एमाले तथा नेपाली कांगेस र माओवादी संयुक्त रुपमा लडेका थिए । नेपाली कांग्रेसका नेता खेलराज पाण्डेयलाई पराजित गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष शिवराज सुवेदी बिजयी भएका थिए ।

सुवेदीले २३ हजार २४९ मत प्राप्त गर्दा कांग्रेसका पाण्डेयले २० हजार ८५१ मत पाएका थिए । उक्त निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीका जनकबहादुर थापा मगरले १ हजार १५१ मत पाएका थिए ।

यस्तै उपप्रमुखमा एमालेकी गुमादेवी आचार्यले २५ हजार ३०१ मत पाएकी थिइन् भने नेकपा माओवादीका जगत पोखरेलले १४ हजार ७९२ मत पाएका थिए । जनमुक्ति पार्टीकी धनी आलेले १ हजार ५०६ मत पाएकी थिइन् । यहाँ राप्रपा र जनमोर्चाको उम्मेदार अलग अलग रहेका थिए । उनीहरुको संगठन राम्रै भएपनि मत संख्या कम आएकाले उनीहरुको अदृश्य सहयोग कसैलाई भएको देखिन्छ ।

एमालेबाट अन्तिम समयसम्म शिवराज सुवेदी, बाबुराम भट्टराई र गोपाल राना मैदानमा रहेपनि पार्टी केन्द्रले शिवराजलाई मैदानमा पठाएको थियो । योपटक पनि कांग्रेसबाट नगर सभापतिमा तेस्रोपटक जितेका उनै खेलराज दोहोरिने निश्चितजस्तै भएको कांग्रेस नेताहरुको भनाइ छ भने एमालेबाट शिवराजले दोहोरिने इच्छा देखाए पनि त्यति सजिलो छैन । एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर भएकाले पनि यहाँ कसले उम्मेदारी पाउने दौड बलियो हुनेछ ।

तिलोत्तमा नगरपालिकामा फेरि जित्ला त एमालेले ?

जिल्लाको केन्द्रभागमा रहेको, रुपन्देहीका नगरपालिकाहरु मध्ये सबैभन्दा धेरै मतदाता भएको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका बासुदेव घिमिरे नगरप्रमुख निर्वाचित भएका थिए ।

एमालेका घिमिरेले २१ हजार ८६८ मत पाएर नगरप्रमुखमा निर्वाचित हुँदा जनमुक्ति पार्टीसंगको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले १९ हजार ९४ मत पाएका थिए ।

यस्तै माओवादीका महादेव खनालले २ हजार ६५१ र नयाँशक्तिका ज्ञानप्रसाद भुर्तेलले ४६९ मत पाएका थिए । तिलोत्तमा नगरपालिकाको उपप्रमुख पदमा एमालेकी जागेश्वदेवी चौधरीले २२ हजार ७१ मत ल्याएकी थिइन् भने नेपाली कांग्रेसको समर्थनमा उम्मेदवारी दिएकी राष्ट्रिय जनमुक्तिकी गीता सारुले १८ हजार ७८४ मत पाउँदा माओवादी केन्द्रकी राधिका आचार्य शर्माले २ हजार ८५५ मत पाएकी थिइन् ।

कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तथा एमाले नेता घनश्याम भुसालको गृहनगर भएको यहाँको आगामी नेतृत्व हात पार्न दुवै पार्टीलाई चुनौती रहेको छ । माओवादीको मत पाएको भए अघिल्लो निर्वाचनमै जित निकाल्न सकिने कांग्रेस नेताहरुको तर्क रहेपनि जसपा, जनमुक्ति तथा राप्रपाको समेत मत कसले तान्नसक्छ भन्ने यहाँको जितका लागि मुख्य आधार बन्ने छ ।

सैनामैना नगरपालिकामा एमाले–कांग्रेसकै टक्कर

सैनामैना नगरपालिकामा नेकपा एमालेका चित्रबहादुर कार्की १३ हजार ७३ मत ल्याउँदै नगरप्रमुखमा विजयी भएका थिए । उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका फणिन्द्रप्रसाद शर्माले १० हजार ३०५ मत पाएका थिए भने माओवादी केन्द्रका चेतनारायण न्यौपानेले २ हजार ४१७ मत पाएका थिए ।

यस्तै उपप्रमुखमा बिना रानाले १३ हजार २६१ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसकी लक्ष्मी चौधरी थारुले ९ हजार ७०९ मत र माओवादी केन्द्रकी दिपिका शर्माले २ हजार ३५७ मत ल्याएकी थिइन् ।

देवदह नगरपालिकामा कसले मार्ला बाजी ?

देवदह नगरपालिकामा उम्मेदवार छनौटमा भएको विवाद र असन्तुष्टिका कारण बहुसंख्यक वडा र उपप्रमुख जित्दा पनि एमालेले नगर प्रमुख जित्न सकेको थिएन ।

देवदह नगरपालिकामा नेपाली कांग्रेसका हिराबहादुर खत्री १० हजार २११ मत ल्याउँदै नगरप्रमुखमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका टिकाराम चापागाईले १० हजार ९९ मत ल्याएका थिए । यस्तै उपप्रमुखमा नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङले १० हजार २७७ मत ल्याएकी थिइन् भने माओवादी केन्द्रका टिका न्यौपानेले ७ हजार १११ मत पाएका थिए । टिकाराम पछिल्लो समय एमालेमा सक्रिय छन् । यहाँ पनि राप्रपाका उल्लेख्य मतदाता रहेका छन् ।

सिद्धार्थनगर नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा

नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका बीचमा त्रिपक्षीय प्रतिस्पर्धा भएको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा एमालेका हरिप्रसाद अधिकारी निर्वाचित भएका थिए ।

एमालेका अधिकारीले ६ हजार ७०५ मत ल्याउँदा नेपाली कांग्रेसका मातृकाप्रसाद यादवले ५ हजार २५०, राप्रपाका सागरप्रताप राणाले ४ हजार ६३७ र माओवादीका फैज अहमद खाँले ३ हजार ४०७ मत ल्याएका थिए ।

यस्तै उपप्रमुखमा एमालेकी उमा काफ्लेले ६ हजार १७२, नेपाली कांगे्रसकी माधवी शर्मा वाग्लेले ५ हजार २२४ र माओवादीकी कमला थापाले ३ हजार १२९ मत ल्याएकी थिइन् । काफ्ले अहिले नेकपा एसमा लागेकी छन् ।

यस्तो छ लुम्बिनी सांस्कृतिक नगरपालिकाको हिसाब

लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार मनमोहन चौधरीले ८ हजार १७१ मत ल्याएर निर्वाचित भएका थिए । चौधरी अहिले जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

यस्तै उनका निकट प्रतिस्पर्धी संघीय समाजवादीका फकरुद्दिन खानले ७ हजार ३९ मत ल्याएका थिए । खान अहिले नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य छन् ।

लुम्बिनी सांस्कृितक नगरपालिकामा मधेसी जनधिकार फोरम नेपालका सजरुद्दीन मुसलमानले ३ हजार ५७५ मत ल्याएका थिए । यस्तै उपप्रमुखमा संघीय समाजवादी फोरमकी जानककीदेवी श्रीवास्तवले ४ हजार ७ सय २० मत ल्याएर बिजयी भएकी थिइन् भने नेपाली कांग्रेसकी रमाउती यादवले ४ हजार ५८८ मत र मधेशी जनअधिकार फोरमकी राधेश्वरी बरईले ३ हजार १५९ मत पाएकी थिइन् ।

कञ्चन गाउँपालिकामा फेरि जित्न एमालेलाई कति चुनौती ?

कञ्चन गाउँपालिकाको अध्यक्षमा एमालेका गोकर्णबहादुर क्षेत्रीले ६ हजार ७७७ मत ल्याएका थिए । उनका निकट प्रतिस्पर्धी कांग्रेसका डोलबहादुर थापाले ५ हजार ९६७ मत र राष्ट्रिय जनमुक्ति पार्टीका रुमबहादुर फौजाले ६६१ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा एमालेकी गोमा तरामुले ६ हजार ९२४ मत ल्याएकी थिइन् भने कांग्रेसकी तिर्थीकुमारी थरुनीले ५ हजार ५२९ मत र राष्ट्रिय जनमुक्ति पार्टीकी दान कुमारी थापाले ७८९ मत पाएकी थिइन् ।

शुद्धोधन गाउँपालिकामा के होला ?

शुद्धोधन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका किशुनचन्द्र चौधरी ५ हजार ३७१ मत ल्याउँदै निर्वाचित भएका थिए । चौधरीका निकट प्रतिस्पर्धी कांगे्रसका भगवती प्रसाद थारुले ५ हजार १६ मत र संघीय समाजवादी फोरमका हरिप्रसाद गडेरिया पालले २ हजार ८२ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेकी शान्तादेवी ज्ञवालीले ५ हजार ३९० मत पाउँदा कांग्रेसकी रामेश्वरी सिंहले ४ हजार ९५० र संघीय समाजवादी फोरमकी सर्य लक्ष्मी विश्वकर्माले २ हजार १२७ मत ल्याएकी थिइन् ।

सियारी गाउँपालिकामा दोहोरिएला एमाले ?

सियारी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अयोध्या थारु ६ हजार ५२ मत ल्याएर निर्वाचित भएका थिए । थारुका निकट प्रतिस्पर्धी कांगेसका थानेश्वर घिमिरेले ५ हजार ४०० मत र संघीय समाजवादी फोरमका उमा शंकर यादवले २ हजार ४९८ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेकी अमृता गुरुङले ६ हजार ५० मत पाउँदा कांग्रेसकी रिता चौधरीले ५ हजार १२९ मत र संघीय समाजवादी फोरमकी शुसिला थारुले २ हजार ४८४ मत ल्याएकी थिइन् ।

ओमसतिया गाउँपालिकामा माओवादी दोहोरिने सम्भावना कति ?

ओमसतिया गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका हिरा केवट निर्वाचित भएका थिए । केवटले २ हजार ४४२ मत ल्याउँदा उनका निकट प्रतिस्पर्धी संघीय समाजवादी फोरमका मन्जित कूमार यादवले २ हजार ३११ मत र नेपाली कांग्रेसका महेन्द्र प्रताप चौधरीले २ हजार ८१ मत ल्याएका थिए ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी सुन्दरमती कुमारी हरिजनले २ हजार २६४ मत ल्याएकी थिइन् भने नेपाली कांग्रेसकी अमृता उप्रेतीले २ हजार १७२ मत र नयाँ शक्ति पार्टीकी जगत कुमारी चौधरीले २० हजार ७८ मत ल्याएकी थिइन् । केवट अहिले माओवादीमा सकृय छैनन् ।

यस्तो कोटहीमाई गाउँपालिकाको हिसाब

कोटहीमाई गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका चन्द्रभुषण यादव ३ हजार ३११ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकट प्रतिस्पर्धी कांग्रेसका विरेन्द्र कलवारले ३ हजार १८९ मत र स्वतन्त्र उम्मेद्वार बालकृष्ण त्रिपाठीले ३ हजार १४४ मत पाएका थिए ।

यस्तै उपाध्यक्षमा संघीय समाजवादी फोरम भानमती बनियाँले ३ हजार २६ मत पाएकी थिइन् भने कांग्रेसकी सम्पाती यादवले २ हजार ६११ र स्वतन्त्र उम्मेदवार असर्फी यादवले २ हजार ५७० मत ल्याएकी थिइन् ।

गैडहवा गाउँपालिकामा के होला ?

गैडहवा गाउँपालिकामा अध्यक्षमा संघीय समाजवादी फोरमका बछुलाल केवटले ५ हजार ४११ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकट प्रतिस्पर्धी कांग्रेसका बसि उल्लाह मुसलमानले ३ हजार ४१८ र एमालेका सुरेन्द्र पौड्यालले ३ हजार १४८ मत पाएका थिए ।

यस्तै उपाध्यक्षमा संघीय समाजवादी फोरमकी सुभावती यादवले ४ हजार ९९८ मत ल्याएकी थिइन् भने कांग्रेसकी मन्जु न्यौपानेले ३ हजार ३५९ र एमालेकी कलावती देवी जयसवालले २ हजार ९८५ मत पाएकी थिइन् ।

मर्चवारी गाउँपालिकामा फोरमलाई दोहोरिन चुनौती

मर्चवारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका केशबनन्द बनियाँ ३ हजार ४०५ मत ल्याएर निर्वाचित भएका थिए । बनियाँका निकट प्रतिस्पर्धी कांग्रेकाका ज्ञानप्रसाद मिश्रले २ हजार १६६ मत र स्वतन्त्र उम्मेदवार राजकुमार सिहंले २ हजार १२२ मत ल्याउन सफल भएका थिए ।

यस्तै उपाध्यक्षमा संघीय समाजवादी फोरमकी सुनिता कलावरले २ हजार ५३ मत ल्याएकी थिइन् भने कांग्रेसकी श्रीकान्ती बरईले १ हजार ८३९ मत र स्वतन्त्र उम्मेदवार कमलेश यादवले १ हजार ८२८ मत ल्याएका थिए ।

सम्मरीमाई गाउँपालिकामा एमाले कमजोर

सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा मधेसी जनअधिकार फोरम, नेपालका जितेन्द्रनाथ शुक्ला बब्लु ३ हजार ६६ मत ल्याएर निर्वाचित भएका थिए । शुक्लका निकट प्रतिस्पर्धी कांग्रेस विनोद कुमार श्रीवास्तवले २ हजार १९६ मत र स्वतन्त्र उम्मेदवार अशोककुमार शुक्लले १ हजार ७९७ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा कांगे्रसकी कुमारी प्रियंका शाही सिंह २ हजार ८१६ मत ल्याउँदा मधेशी जनअधिकार फोरमकी कमलावती अहिरनीले २ हजार १५० र स्वतन्त्र उम्मेद्वार कमालुद्दीन शेषमुले १ हजार ७५९ मत ल्याएकी थिइन् ।

निर्वाचन जितेपछि केही समय एमाले बनेका उनी केही समयमा नै एमाले छोडेका थिए । शुक्ला अहिले माओवादीमा प्रवेश गर्ने जनाएका छन् । प्रचण्डलाई भेटेर आफ्नो तयारी गरेको उनले बताइसकेका छन् ।

मायादेवी गाउँपालिकामा कडा प्रतिस्पर्धा

मायादेवी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ध्रुवनारायण चौधरी २ हजार ८१६ मत ल्याएर निर्वाचित भएका थिए । चौधरीका निकट प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राम अधारे अहिरले २ हजार २५२ मत र बहुजन पार्टीका ओमप्रकाश लोधले २ हजार ५६ मत पाएका थिए ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी तारादेवी यादवले २ हजार २१३ मत पाएकी थिइन् भने मधेशी जनअधिकार फोरमकी राजकुमारी चौधरीले २ हजार १६९ मत र संघीय समाजवादी फोरमकी नर्वदादेवी उपाध्यायले २ हजार १४४ मत ल्याएकी थिइन् ।

रोहिणी गाउँपालिकामा के होला ?

रोहिणी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका सनोज कुमार यादव ३ हजार ७६० मत ल्याएर निर्वाचित भएका थिए । यादवका निकट प्रतिस्पर्धी राप्रपाका ताहीर अलि भाटले ३ हजार ५४२ मत र कांग्रेसका अकवाल मुसलमानले २ हजार ४५१ मत पाएका थिए ।

यस्तै उपाध्यक्षमा राप्रपाकी शिव कान्ती चमारले ३ हजार ५३१ मत पाउँदा संघीय समाजवादी फोरमकी रिमा मिश्राले ३ हजार ४५३ मत र कांग्रेसकी चक्रवती देवी योगीले २ हजार ५८५ मत पाएकी थिइन् ।


प्रतिक्रिया

One thought on “रुपन्देहीका १६ स्थानीय तहमा बर्चश्व जोगाउन सबै दललाई सकस, यस्तो छ हिसाब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर