एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजिँदैछ : अध्यक्ष केसी (भिडिओ) – Nepal Press

एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजिँदैछ : अध्यक्ष केसी (भिडिओ)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् ।

बुधवार माईतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

अध्यक्ष केसीले अमेरिकाले दिएर पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने उल्लेख गर्दै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए ।

उनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको आरोप लगाए । अध्यक्ष केसीले विदेशी शक्तिहरुले पार्टीका प्रमुख व्यक्तिहरुलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको बताए ।

केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताएका छन् ।

उनले गठबन्धन नेपाली काँग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भनेपनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पारे ।

अध्यक्ष केसीले दुई वर्ष यता मधेशमा सरकारले महंगो रकम हालेर ल्याएको रेल सञ्चालन नगरेर नेपाली जनताको बेइज्जत गरेको बताए । उनले सरकारको यस्तो कामले नेपाली जनताको अपमान भएको समेत बताए ।

उनले भने, ‘दुई वर्ष तीन वर्षदेखि मधेशमा एउटा रेल ल्याएर उभ्याएका छन् । त्यसलाई कात्रो हालेर ढाकेर राखेका छन् । आजभोलि के भन्छन्, फागुन १ गते कात्रो फालेर नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीले चलाउने रे । तर अरु प्यासेन्जर बस्न नहुने । हामीलाइृ कति बेकुफ बनाएका छन्, डेढ वर्षसम्म त्यो कात्रो ओढाएर त्यति महंगो राष्ट्रको पैसा हालेर रेललाई ल्याएर कात्रो ओढाएर राख्ने ? हाम्रो अपमान होइन त्यो ? नेपाली जनताको बेइज्जत होइन त्यो ? त्यसैले नेपाल आज विदेशीहरुको लुटको अखडा भइरहेको छ ।’

केसीले नेपालमा राजनीति देश लुट्नका लागि गरेको आरोपसमेत लगाए । उनले नेपाल जस्तो कृषिप्रदान देशमा अहिले वार्षिक ५० अर्ब भन्दा बढी खाद्यान्न आयात भइरहेको तर निर्यातका नाममा भने मानिसहरु मात्र पलायन भएको बताए । उनले नेपाली शासकहरुले आफ्नो देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा छ कि छैन भनेर एमसीसीलाई सोध्नु लज्जास्पद भएको समेत बताए ।

उनले अहिले सरकारमा भागवण्डाको काम मात्रै भइरहेको बताउँदै देशक र जनताको रक्षा गर्ने जिम्मेवारी माफिया र तस्कहरुको हातमा सुम्पिएको बताए ।

नेपालमा चुनाव माफिया र दलालीहरुको मात्रै भएको आरोपसमेत लगाउँदै केसीले अमेरिकाले सहयोग गर्ने बहानामा नेपाली जनताबाट पैसा लुट्ने षड्यन्त्र बनाएको बताए ।

उनले भने, ‘कस्ता कस्ता मान्छे सरकारमा सामेल छन् हेर्नु त प्रदेशतिर । सात मन्त्रालयको ठाउँमा १२ भएको छ । मन्त्री मण्डलमा चोर होस् की, डाका होस् की मूर्ति चोर होस् कि, अपराधी होस् केही फरक परेन । चुाव त तस्करहरुको हो । चुनाव त मेडिकल भ्रष्टाचारीहरुको हो । चुनाव सहकारीका माफियाहरुको हो । एमसीसी भित्र अमेरिकाको नीति पालना गर्नुपर्छ हामीले । उसको नीति भनेको उदारीकरण, बजारीकरण, शिक्षा, नीति बजारलाई दिने, बोर्डिङ खोल्न लगाउने र जनतासँग लुट्ने । त्यहाँ अंग्रेजी सिक्छ नेपाली सिक्दैन ।’

अध्यक्ष केसीले देश अहिले गम्भीर शंकटोन्मुख रहेको भन्दै त्यसलाई जनताले सडकमा आएर जोगाउनु पर्ने बताए । उनले नेपाल पनि अहिले अफगानिस्तान र पाकिस्तानको स्तरमा गइसकेको बताए । उनले संसदमा रहेका सांसदहरुलाई एमसीसी अस्वीकार गरेर देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकतालाई जोगाउनु पर्ने बेला आएको उल्लेख गरे ।

अध्यक्ष कसीले अमेरिकी साम्राज्यवादले जबरजस्ती एमसीसी बोकाएर नेपालमा आफ्नो रोटी सेक्ने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर