काठमाडौंका ५ उपमेयरले ताके मेयरको कुर्सी, को कति लोकप्रिय ? – Nepal Press
स्थानीय तह चुनाव

काठमाडौंका ५ उपमेयरले ताके मेयरको कुर्सी, को कति लोकप्रिय ?

काठमाडौं । ५ वर्षअघिको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा नेपाली कांग्रेसका राजुराज जोशी एमालेका विद्यासुन्दर शाक्यसँग करीव २० हजार मतले पराजित भए ।

तर उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गी एमाले समर्थित राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठलाई २८ हजार बढी मतले पछि पार्दै बिजयी भएकी थिइन् । उनले कांग्रेसका मेयर उम्मेदवार राजुराज जोशीले पाएको मत ४५ हजार २ सय ६९ भन्दा १३ हजार बढी अर्थात ५८ हजार ९ सय ५२ मत पाएकी थिइन् ।

मेयर हार्दा लोकप्रिय मतका साथ जितेकी हरिप्रभा खड्गी अब वैशाख ३० गते हुने निर्वाचनमा महानगरको मेयर उम्मेदवारकी आकांक्षी हुन् । आफूले उपमेयरका रुपमा राम्रो काम गरेको र एमालेका मेयरलाई चेक गर्न सफल भएकाले आफू निर्विकल्प मेयरको उम्मेदवार हुनुपर्ने उनको जिकिर छ ।

हरिप्रभा खड्गीको उम्मेदवारी घोषणा भइसकेको छैन तर उनको दाबेदारी नै कांग्रेसका लागि उम्मेदवार चयनमा पेचिलो बनिसकेको छ । मेयरका अन्य पुरुषा आकांक्षीहरुभन्दा आफू लोकप्रिय रहेको र ५ वर्ष जनतामा काम गरेकाले अरुभन्दा बढी मत ल्याउन सक्ने उनको दावी छ ।

हरिप्रभा खड्गी जस्तै पार्टीका मेयर उम्मेदवार पराजित हुँदा पनि लोकप्रियताका आधारमा जितेका नागार्जुन र चन्द्रागिरी नगरपालिकाका उपमेयरले पनि यसपटक मेयरको दावी गरेर पार्टी नेतृत्व समक्ष दावी प्रस्तुत गरिसकेका छन् ।

चन्द्रागिरी नगरपालिकामा एमालेका मेयर उम्मेदवार प्रल्हाद कार्की कांग्रेसका घनश्याम गिरीसँग करीव ३ हजार मतले पराजित हुँदा उपमेयरमा एमालेकी निलसा नकर्मी बिजयी भएकी थिइन् । उनले ११ हजार ८ सय ३४ मत ल्याएर उपमेयर जित्दा कांग्रेसकी इन्द्रवती श्रेष्ठ ११ हजार २ सय ३२ मा रोकिएकी थिइन् ।

लिसा यसपटक मेयरको दावेदार हुन् । उनले आफू विगतमा पार्टीका मेयरले ३ हजार मतान्तरमा हार्दा पनि लोकप्रियताका आधारमा जितेको र यसबीचमा पार्टीका प्रतिनिधित्व गरेर नगरपालिकामा काम गरेकाले मेयरमा स्वभाविक दाबेदार हुँ भनिरहेकी छन् ।

नागार्जुन नगरपालिकामा पनि एमालेका मेयर उम्मेदवार कृष्णहरी खत्री करीव दुई सय मतले पराजित भएका थिए । उपमेयर भने एमालेकी सुशीला अधिकारी करीव एक हजार मतान्तरबाट बिजयी भएकीका थिइन् ।

कांग्रेसकी कल्याणी खड्कालाई पराजित गरेकी सुशीला अधिकारी यसपटक मेयरको दाबेदार हुन् । उनले पार्टी नेतृत्वलाई जानकारी गराइसकेकी छन् । तर नेताहरुले आफूखुसी उम्मेदवारी घोषणा नगर्न आकांक्षीहरुलाई निर्देशन दिएकाले पार्टीभित्र लबिङ गरिरहेका छन् ।

एमालेबाट उपमेयर जितेका शंखरापुरकी शुक्रलक्ष्मी श्रेष्ठ र कागेश्वरी मनहराकी विन्दु पुडासैनीले पनि मेयरमा दावी गरेका छन् । एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले कसैलाई पनि आफूखुसी उम्मेदवारी घोषणा नगर्न भनेका छन् । यद्यपी चारजना उपमेयरले मेयरमा दावी गरेको भने उनले स्वीकार गरे ।

काठमाडौं महानगरसहित काठमाडौं जिल्लामा ११ नगरपालिका छन् । अघिल्लो स्थानीय चुनावमा एमालेले महानगरमा मेयर, नागार्जुन तथा चन्द्रागिरीमा उपमेयरसहित वहुत जितेको थियो । शंखरापुर, कागेश्वरी मनहरा, बुढानिलकण्ठ, टोखा, तारकेश्वर र किर्तिपुर नगरपालिकामा मेयर उपमेयरसहित वहुमत जितेको थियो ।

नेपाली कांग्रेसले काठमाडौं महानगरमा उपमेयर, नागर्जुन तथा चन्द्रागिरीमा मेयरमात्र जितेको थियो । गोकर्णेश्वर र दक्षिणकालीमा मेयर उपमेयरसहित जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर