सांसद बानियाँविरुद्ध बलात्कारको मुद्दा, होटलमा भएको थियो चेक तानातान – Nepal Press

सांसद बानियाँविरुद्ध बलात्कारको मुद्दा, होटलमा भएको थियो चेक तानातान

रुपन्देही । जबरजस्ती करणीको आरोप लगाउँदै मुगुका सांसद मोहन बानियाँविरुद्ध जुम्लाकी एक महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेकी छन् । जाहेरी परेसँगै सांसद बानियाँमाथि अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पूर्वमन्त्री तथा एमाले नेता बानियाँले आफूलाई बलात्कार गरेको महिलाको आरोप छ । उनले सोमबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनायो । जाहेरी दिने महिला जुम्लाकी माओवादी कार्यकर्ता तथा सरकारी स्कूलकी शिक्षिका हुन् ।

‘एक महिलाले माननीयविरुद्ध सोमबार जाहेरी दिनुभएको हो, हामीले अनुसन्धान सुरू गरिसकेका छौं,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुधन न्यौपानेले नेपाल प्रेसलाई भने, ‘संसद चल्न लागेको भनेर उहाँ काठमाडौं जानुभएको छ, केही दिनमा यसको वास्तविकता बाहिर आउँछ ।’

माननीय काठमाडौं गए पनि प्रहरीले आफ्नो काम अघि बढाएको उनले बताए ।

जाहेरीमा महिलाले बानियाँले आफूलाई दुईपटक कण्डम लगाएर जबर्जस्ती यौनसम्बन्ध राखेको उल्लेख गरेकी छन् ।

स्रोतका अनुसार केही दिनअघि मुगुका सांसद बानियाँ र ती महिला नेपालगञ्जको अप्सरा होटलमा बसेका थिए । बानिया संसद चल्ने भएपछि काठमाडौं उडेको तथा ती महिला जुम्ला जाने टिकट भए पनि मौसमको खराबीले रोकिएको स्थानीय एक नेताले बताए ।

ती नेताका अनुसार उनीहरूबीच लामो समयदेखि नजिकको सम्बन्ध थियो । नेपालगञ्जमा समेत घर भएका सांसद बानियाँको ती महिलासँग लेनदेनको विवाद भएको समेत देखिएको छ । होटलमा बस्दा बानियाँले महिलालाई २५ लाखको चेक दिएका थिए । तर, हिँड्ने बेला चेक नसाटिने भन्दै खोसेर आफैंले लगेको बुझिएको छ ।

‘चेक तानेर लिएपछि केही भनाभन भएको थियो, तर कसरी उजुरीसम्मको अवस्थामा गयो, आश्चर्यमा परिएको छ,’ उनीहरू दुवैलाई नजिकबाट चिनेका एक नेताले भने ।

मुगुमा बलियो जनाधार भएका नेता बानियाँलाई यही नैतिक पतनमा आरोपित गरेर कमजोर तुल्याउने राजनीतिक दाउपेच पनि हुन सक्ने उनको भनाइ छ ।

‘यति लामो समयसम्म चुप बस्नु, अनि अहिले आएर बलात्कारको आरोप लगाउनु आफैमा आश्चर्यको हो,’ उनले भने ।

यो विषय सार्वजनिक भएपछि नेता बानियाँले राजनीतिक प्रतिशोध साँध्न महिलालाई प्रयोग गरिएको प्रष्टीकरण दिइसकेका छन् ।

विभिन्न सञ्चारमाध्यममा एक महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा बलात्कारसम्वन्धी मुद्दा दायर गरेको खबर सुनेको भन्दै उनले त्यसबाट आफू अचम्भित भएको बताए ।

‘मेरो राजनीतिक उचाईबाट चिढिएका केही व्यक्तिले महिला प्रयोग गरेर मेरो राजनीति सक्काउने सपना देखेका छन्,’ बानियाँले भनेका छन्, ‘म ५९ वर्षको व्यक्तिले त्यसरी गिरेर घिनलाग्दो हर्कत गर्ने कुरै भएन ।’

ती महिलाको नाम जोडेर बारम्बार आफूलाई एक गिरोहले बार्गेनिङ गर्ने र राजनीति सकाउने हतियार बनाएको उनको दाबी छ ।

‘ती महिलाले लगाएको आरोपभन्दा अरु केही होइन । मसँग आठवटा प्रमाण पनि छन्,’ उनले भने ।

बलात्कारआरोपी बानियाँ केपी ओली नेतृत्वको अघिल्लो सरकारमा छोटो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्नेगरी मन्त्री नियुक्त भएका थिए । निर्वाचन आचारसंहिता लागू भएको भन्दै सर्वोच्चले मन्त्रिपरिषद् विस्तारको निर्णय उल्टाएपछि केही दिनमै उनी पदमुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर