यसरी बनाउँदैछन् कमल थापाले नयाँ दल, ‘राष्ट्रिय एकता पार्टी’ नाम रहन सक्ने – Nepal Press

यसरी बनाउँदैछन् कमल थापाले नयाँ दल, ‘राष्ट्रिय एकता पार्टी’ नाम रहन सक्ने

राप्रपाका नेता तत्काल नतान्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेसँगै कमल थापाले नयाँ पार्टी निर्माणको गृहकार्यलाई तिव्रता दिएका छन् । सबै तयारी पूरा गरेर यसै साता दल दर्ता गर्ने उनको योजना छ ।

स्रोतका अनुसार थापाले पार्टीको नामलगायतका विषयमा आज आफू निकटस्थहरुसँग छलफल गर्दैछन् । अहिलेसम्म प्रस्तावित विभिन्न नाममध्ये ‘राष्ट्रिय एकता पार्टी’ रोज्न सक्ने प्रवल सम्भावना रहेको स्रोतले बतायो ।

‘उहाँले पार्टी विभाजन गरेको सन्देश नजाओस् भनेर ‘राप्रपा’ भन्दा पृथक नयाँ नाम राख्न चाहनुभएको छ,’ निकट स्रोतले भन्यो, ‘सम्भवतः राष्ट्रिय एकता पार्टी नाम रहन सक्छ ।’

थापा पक्षधर नेता राजाराम श्रेष्ठले भने पार्टीको नामबारे भर्खर छलफल सुरू भएको बताए ।

‘उहाँले नामबारे सुझाव दिन सबैलाई भन्नुभएको छ, यो विषयमा आज विस्तृत छलफल हुन्छ,’ उनले भने ।

थापाले गठन गर्ने पार्टीको मुल नीति संवर्द्धनवाद तथा मुख्य कार्यनीति ‘हिन्दू राष्ट्रको पुन:स्थापना’ हुनेछ । सैद्धान्तिकरूपमा आफूलाई राजसंस्था पक्षधर नै बताए पनि राजतन्त्रको पुन:स्थापनाको एजेन्डालाई उनको पार्टीले बोक्ने छैन ।

नयाँ पार्टीको नेतृत्व आफैं गर्ने वा अरु कसैलाई अघि सार्ने भन्नेमा पनि थापा अहिलेसम्म द्विविधामा छन् ।

‘विगतमा गीता छोएर पार्टी विभाजन नगर्ने कसम खाएको हुँदा उहाँ सकभर अरु कसैलाई नेतृत्वमा अघि सार्ने पक्षमा हुनुहुन्छ,’ स्रोतले भन्यो ।

थापा राप्रपाका केही पुराना नेताहरूसँग सम्वादमा छन् । जसमध्ये पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले आफूलाई साथ दिने झिनो आशा उनको छ । नयाँ पार्टीको अध्यक्ष राणालाई नै बनाउन पनि उनी तत्पर रहेको स्रोतले बतायो ।

नेता बर्तौलाले नेतृत्व कसले गर्ने भन्ने विषयमा विकल्प खुल्ला राखिएको भए पनि थापा आफैं अध्यक्ष बन्ने सम्भावना बढी रहेको बताए ।

थापाको पार्टीमा राप्रपाको नेतृत्वमा रहेकाहरू न्यून संख्यामा आउने देखिएको छ । महाधिवेशनबाट थापा पक्षधर नेताहरू उल्लेख्य संख्यामा केन्द्रीय सदस्य र पदाधिकारीमा निर्वाचित भएका थिए । तर, नयाँ पार्टी गठनमा उनीहरुको साथ मिल्ने आशा थापा स्वयंले राखेका छैनन् । अहिलेसम्म पदाधिकारी कोही पनि थापाको पक्षमा खुलेका छैनन् भने केन्द्रीय सदस्य पनि थोरै संख्यामा उनीतिर छन् ।

अस्ति थापाले बोलाएको भेलामा चार पदाधिकारीसहित केन्द्रीय समितिका ६० जना उपस्थित भएको बताइएको थियो । तर, उनीहरूमध्ये अधिकांश राप्रपा छोडेर थापाको नयाँ पार्टीमा जाने सम्भावना न्यून छ । थापा स्वयम्ले भेलामा कसैलाई करकाप नगर्ने बताएका थिए ।

‘तपाईंहरू आफ्नो अन्तरआत्मालाई सुनेर आफैं निर्णय लिन सक्नुहुन्छ, म कसैलाई करकाप गर्दिन,’ थापाले भनेका थिए ।

राप्रपा महाधिवेशनमा पराजयपछि असन्तुष्ट बनेका थापाले निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाउँदै आएका छन् । यस विषयमा छानबिन गर्न उनले पार्टीको नेतृत्वलाई दबाब दिएका थिए । तर, थापा पक्षकै नेताहरूले पनि उनको मागमा त्यति चासो दिएका थिएनन् ।

थापाले बहिर्गमनको तयारी गरेपछि हिजो राप्रपाले पदाधिकारीको वैठक बसेर उनको मागलाई कुनै तरिकाले सम्बोधन गर्ने तयारी गरेको थियो । तर, पार्टीको निर्णय नपर्खी थापाले विज्ञप्ति जारी गरे । स्रोतका अनुसार उनी राप्रपा छोड्नेमा पहिल्यै प्रतिबद्ध थिए ।

‘राजतन्त्रको एजेन्डा बोकेर राजनीति नगर्ने निष्कर्षमा पुग्नुभएकाले राप्रपा छोड्नुभएको हो,’ स्रोतले भन्यो, ‘महाधिवेशनमा पराजयपछि नै उहाँले नयाँ पार्टी बनाएर अगाडि बढ्ने निधो गरिसक्नुभएको थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर