अघिल्लो वर्षको नतिजा ननिकाली स्नातक तह पहिलो वर्षको परीक्षा, दोस्रो वर्षका विद्यार्थी आक्रोशित – Nepal Press
त्रिविको लापरबाही

अघिल्लो वर्षको नतिजा ननिकाली स्नातक तह पहिलो वर्षको परीक्षा, दोस्रो वर्षका विद्यार्थी आक्रोशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अघिल्लो वर्षको नतिजा सार्वजनिक नै नगरी चारवर्षे स्नातक तह प्रथम वर्षको परीक्षा फागुन १३ गतेदेखि गर्दैछ । यससँगै अघिल्लो वर्षको परीक्षामा अनुतीर्ण भएको विषयमा विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् ।

अब नतिजा सार्वजनिक भए पनि दोस्रो वर्षमा पुगेका विद्यार्थीले अनुतीर्ण विषयको परीक्षाका लागि फारम भर्न पाउने छैनन् । किनकि, फारम भर्नेलगायत अरु प्रक्रिया पूरा गरी परीक्षा तालिका नै सार्वजनिक भइसकेको छ ।

स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले पहिलो वर्षको कुनै परीक्षामा अनुतीर्ण भए परीक्षाका लागि अब थप एक वर्ष कुर्नपर्ने भएको छ ।

त्रिविले व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातक तह प्रथम वर्ष नियमित परीक्षा फागुन १३ गतेदेखि सञ्चालन गर्दैछ ।

त्रिविले स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्न गत मंसिरमा एक सूचना जारी गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयले फारम भर्ने म्याद मंसिर २७ गतेदेखि पुस २६ गतेसम्म दिएको थियो । तर रजिस्ट्रेसन नम्बर प्राप्त भएपछि मात्र फारम अपलोड गर्नुपर्ने भएकाले पुस २६ गतेसम्मको अवधि थप गरी माघ ५ गतेसम्म कायम गरिएको थियो ।

माघ ६ गतेदेखि १० गतेसम्म दोब्बर दस्तुरमा फारम भराइ २०७८ माघ ११ र १२ गते भित्र आवश्यक प्रकिया पूरा गरी सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन सूचित गरिएको थियो ।

परीक्षा फारम भर्ने म्याद सकिएको अघिल्लो दिन परीक्षा नियन्त्रण कार्यालयले माघ ४ गते अर्को सूचनामार्फत स्नातक तह प्रथम वर्षका सबै संकायको परीक्षा फागुन २ गतेदेखि गर्नेगरी तालिका सार्वजनिक गरेको थियो । तर कोरोना संक्रमणको जोखिमका कारण परीक्षा फागुन १३ गतेदेखि गर्नेगरी स्थगित गरिएको थियो ।

अन्योलमा विद्यार्थी

यसअघि परीक्षा दिएका परीक्षाको नतिजा सार्वजनिक नगरी पहिलो वर्षको परीक्षा गगराउनु दोस्रो वर्षका विद्यार्थीमाथि अन्याय भएको मानविकी संकाय दोस्रो वर्ष अध्ययनरत विद्यार्थी कमल थापामगरले बताए । ‘यदि हामी पहिलो वर्षमा कुनै विषय लागेर फेल भएमा कसरी पुनःपरीक्षा दिने ?’ उनले भने, ‘के अब हामी फेल भएर परीक्षा दिँदा अहिले त छुट्ने नै भयौं । हाम्रो पढाइ एक वर्ष ढिलो हुने भयो ।’

कमल जस्तै चिन्तामा छन् शिक्षा संकायको दोस्रो वर्ष अध्ययन गरिरहेका सुनिल सापकोटा । उनले पनि आफूहरुले दिएको परीक्षाको नतिजा ननिकाली पहिलो वर्षको परीक्षा दिँदा अन्याय भएको उनले बताए । उनले भने, ‘त्रिविले हाम्रो बारेमा नसोची पहिलो वर्षको परीक्षा गराउन लागेको छ । हामीले दोस्रो वर्ष पढेको एक वर्ष हुन लाग्यो, अझै परीक्षा फारम खुलाएको छैन । हामीभन्दा पछाडि कक्षा सुरु भएकोहरुको फारम खुलाएर पनि परीक्षा मिति तोकिसकियो ।’

त्रिविले आफूहरुको भविष्यमाथि खेलबाड र लापरबाही गरेको दोस्रो वर्षका विद्यार्थीहरुको आरोप छ ।

अहिले दोस्रो वर्षमा अध्ययनरत झण्डै एक लाख विद्यार्थीले पहिलो वर्षको नतिजा कुरेर बसेका छन् । उनीहरुमध्ये कोही विद्यार्थीले एक वर्षअघि परीक्षा दिएका थिए भने केही विद्यार्थीले गत साउनको अन्तिम साता पहिलो वर्षको परीक्षा दिएका थिए ।

अहिले दोस्रो वर्षका विद्यार्थीहरुको अझै परीक्षाको लागि फारमसमेत खुलाएको छैन । उनीहरु २०७६ सालमा पहिलो वर्ष भर्ना भएका थिए । तर कोरोना महामारी पहिलो वर्षको परीक्षा दिन दुई वर्ष लागेको थियो ।

त्रिविको नियमअनुसार पहिलो वर्षको परीक्षाको नतिजा निकालेर दोस्रो वर्षको परीक्षाको लागि फारम खुलाउनु पर्ने थियो । तर यसपटक परीक्षा नियन्त्रण बोर्डले दोस्रो वर्षको परीक्षा फारम खुल्नुअघि नै पहिलो वर्षको फारम खुलाएर परीक्षा मितिसमेत तोकिसकेको छ ।

कोर्ष नै नसकी हतारमा परीक्षा !

कोर्ष  नै नसकी पहिलो वर्षको परीक्षा हुन लागेको मानविकी संकायको पहिलो वर्ष पढिरहेकी रचना बस्नेतले बताइन् । उनले भनिन्, ‘कोरोनाको कारण सबै कलजेहरुले अनलाइन पढाएको छैन । अनलाइन नपढाउकोहरुको कोर्ष नै पढाइ सकिएको छैन ।’ पहिलो वर्षका विद्यार्थीका लागि २०७८ भदौको पहिलो सातादेखि अध्ययन सुरु भएको थियो ।

फेरि परीक्षा गराउँछौंः परीक्षा नियन्त्रण कार्यालय

परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा दिएर बसेकाहरु फेल भए छुट्ट परीक्षा गराउने बताएको छ । पनिका उपनियन्त्रक डा. घनश्याम ठाकुरले आंशिक परीक्षा दिने परीक्षार्थीका लागि अलग्गै परीक्षा हुने बताए ।

‘अहिले परीक्षा दिने मान्छे फ्रेस छन् । त्रिविलाई यो नियमित विद्यार्थीको सेक्सन मिलाउन समस्या भएर अहिले भर्ना भएका पहिलो वर्षको परीक्षा गर्न लागेको हो’, उनले भने, ‘अहिले सेकेन्ड इयर पढ्दै गरेकोहरुलाई ब्याक लाग्यो भने उनीहरुको परीक्षा अलग हुन्छ ।’

उनका अनुसार ब्याक लागेकाहरुलाई पहिलो वर्षको नतिजा प्रकाशन भएपछि फारम खुलाएर परीक्षा लिइनेछ । उत्तरपुस्तिका चेकजाँच गर्ने कर्मचारीको अभाव भएकाले नतिजा निकाल्न ढिलो भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर