जनजातिको उत्थानमा सधै प्रतिवद्ध छु : मन्त्री आले – Nepal Press

जनजातिको उत्थानमा सधै प्रतिवद्ध छु : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले जनजातिको हित तथा उत्थानका लागि आफू सधैँ कटिवद्ध रहने बताएका छन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री आलेले आलेले जनजातिको वृद्धि विकास तथा उत्थानका लागि सधैँ अग्रसर रहने बताएका हुन् ।

जनजातिको उत्थानका लागि विनियोजन हुने बजेट निकै कम हुने गरेको स्वीकार गर्दै मन्त्री आलेले भने, ‘मेरो मन्त्रालय पनि यस संस्थाको एक अङ्ग भएकाले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्ने छु ।’

नेपालको जनगणना विसं २०६८ अनुसार जनजातिको सङ्ख्या करिब ३५.२५ प्रतिशत भएको र यत्रो सङ्ख्या ओगटेको जनजातिहरूका लागि विनियोजन हुने बजेट सारै न्यून भएकाले प्रतिष्ठानलाई माथि उकास्न तथा जनजातिको वृत्ति विकासका लागि भए पनि आफूले सक्ने जति बजेट विनियोजन गर्ने मन्त्री आलेले आश्वासन समेत दिए ।

मन्त्री आलेले जनजातिका डकुमेन्ट्री निर्माण, होमस्टे, कला संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रम सहित प्रपोजल ल्याए मन्त्रालय सहयोग र साथ दिन तयार रहेको जानकारी गराए ।

कार्यक्रममा मन्त्री आलेले आफू वन तथा वातावरण मन्त्री भएका बेला वैज्ञानिक वनका नाममा देशका हरियाली रुखहरू विनाश गर्ने तस्करहरूको योजना विफल पारेको दाबी समेत गरे ।

मन्त्री आलेले आफूले नेपाली नागरिकको हित तथा देशको हितका लागि काम गर्दै आएको र आफू जहिले पनि देश र नागरिकको हकहितका लागि काम गर्ने बताए ।

नागरिक र देश भन्दा ठूलो आफ्ना लागि अन्य कुनै चिज नभएकाले देश र नागरिकको सेवाका लागि आफू ज्यान दिन पनि तयार रहेको उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर