रिक्त एक सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस – Nepal Press

रिक्त एक सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौं । रिक्त रहेको एक सचिव पदमा बढुवाका लागि तीन जनाको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेकाे बैठकले सहसचिवहरु मुकुन्द प्रसाद निराैला, विनाेद प्रकाश सिंह र गोपीकृष्ण खनालको नाम सिफारिस गरेकाे हाे ।

पहिलो नम्बरमा निरौला, दोस्रो नम्बरमा सिंह र तेस्रो नम्बरमा खनालको नाम सिफारिस भएकाे छ । निरौला चौथो पटक, सिंह दोस्रो पटक र खनाल पहिलो पटक सचिव बढुवाका लागि सिफारिस भएका हुन् ।

निरौला गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका छन् । यस्तै सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

खनाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख तथा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी) को राष्ट्रिय कार्यक्रम निर्देशकको जिम्मेवारीमा छन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्येबाट एक जना सहसचिवलाई सचिवमा बढुवा गर्नेछ । मन्त्रिपरिषद् बैठकले वरिष्ठताका आधारमा बढुवा गरेमा निरौला सचिवमा बढुवा हुनेछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव शिशिर कुमार ढुगांनाले माघ १८ गते अनिवार्य लिएसँगै एक सचिवको पद रिक्त भएको थियो ।

ढुंगानाले अवकाश पाएपछि सचिव यामकुमारी खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास क्षेत्र हेर्दै आएकी छन् ।उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनतर्फको सचिवको जिम्मेवारी पनि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर