देउवाबिनाको कांग्रेस पदाधिकारी बैठक : देउवासँगै छलफल गर्ने निर्णय – Nepal Press

देउवाबिनाको कांग्रेस पदाधिकारी बैठक : देउवासँगै छलफल गर्ने निर्णय

काठमाडौं । सभापति शेरबहादुर देउवाबिनै बसेको नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठकले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डाबारे परामर्श गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्पन्न पदाधिकारी बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्था र अधिवेशन हुन बाँकी जिल्लाका विषयमा छलफल भएको हो ।

म्याद सकिएका भ्रातृ संस्थाको हकमा म्याद थप गर्ने, तदर्थ समिति बनाउने वा भंग गर्नेलगायतका विषयमा छलफल भएको हो । बैठकमा केही पदाधिकारीहरूले म्याद सकिएका सबै भ्रातृ संस्थाको यथास्थितिमा म्याद थपेर महाधिवेशन गराउन निर्देशन दिनुपर्ने बताएका थिए ।

त्यस्तै केही पदाधिकारीले म्याद सकिएका भ्रातृ संस्थाहरुलाई तदर्थ समितिमा रुपान्तरण गरेर महाधिवेशन गराउनुपर्ने धारणा पनि राखेका छन् । संस्थापनइतर पक्षका पदाधिकारीहरुले भने विधानमा भएको व्यवस्था अनुसार नै निष्कर्षमा पुग्नुपर्ने धारणा राखेका छन् ।

सहमहामन्त्री बद्री पाण्डेका अनुसार बैठकले कार्यसम्पादनका एजेण्डाहरुबारे पर्याप्त छलफल गरेको छ । सभापति देउवासँग बुधबार थप छलफल गरेर कार्यसम्पादनको प्रस्ताव तयार पारिनेछ ।

‘आज कार्यसम्पादनका एजेण्डाहरुबारे छलफल गरेका छौं । भोलि सभापतिजीसँग भेटेर कार्यसम्पादन बैठकको तयारी पूरा गर्छौ’, पाण्डेले नेपाल प्रेससँग भने ।

भ्रातृ संस्थाबारे सबै खालको धारणा पदाधिकारी बैठकमा व्यक्त भएको भन्दै सहमहामन्त्री पाण्डेले थप छलफलबाट कार्यसम्पादनमा प्रस्ताव लगिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर