एमाले सिन्धुपाल्चोकको नेतृत्व चयन अन्तिम चरणमा – Nepal Press

एमाले सिन्धुपाल्चोकको नेतृत्व चयन अन्तिम चरणमा

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । जिल्लाका नेताहरुलाई भएको कोरोना संक्रमणलगायतका कारण अधिवेशनबाट नेतृत्व चयन गर्न केही ढिला भए पनि अब छिट्टै सर्वसम्मत नेतृत्व घोषणा गर्ने तयारी भएको अध्यक्षमण्डलका सदस्य सरेश नेपालले जानकारी दिए ।

एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशन पुस २३ गते उद्घाटन भएको थियो । ‘कोरोनाका कारण उम्मेदवारीसमेत वारेसमार्फत् पठाउनुपर्ने स्थिति आयो, धेरै नेतालाई कोरोना संक्रमण भयो, जसकारण नेतृत्व चयनमा केही ढिलाइ भएको हो’, वागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘पार्टीभित्र कुनै समस्या भएर नेतृत्व चयन ढिला भएको होइन, अब छिट्टै सर्वसम्मत नेतृत्व चयन हुन्छ ।’

निर्वाचन समितिले संयोजकलगायत धेरैलाई कोरोना पोजेटिभ भएको जानकारीसहित माघ २ गते हुने भनिएको निर्वाचन सार्न अध्यक्ष मण्डललाई लिखित आग्रह गरेको थियो । त्यसपछि माघ १५ गते परिस्थिति तुलनात्मकरुपले अनुकुल भएकोले अध्यक्ष मण्डलले पदाधिकारीका आकांक्षीहरुलाई छलफलमा बोलाएको थियो ।

सहमतिको प्रयास अघि बढाउन र निर्वाचनमा नजाने गरी नेतृत्वको घोषणा गर्न उम्मेदवारले सामूहिक हस्ताक्षर गरी बुझाएको थियो । त्यसपछि अध्यक्षमण्डलले चरणवद्ध छलफल गरी सहमतिमै नेतृत्व चयनको प्रयास गरिरहेको छ । अध्यक्षमण्डलले आजभोलि नै नेतृत्व चुन्ने नेताहरुले बताइरहेका छन् ।

यद्यपि, सिन्धुपाल्चोकमा लामो समयदेखि एमालेमा मौलाएको गुट राजनीतिको अवशेष अझै पूर्ण अन्त्य भइसकेको छैन । विगतमा संस्थापनइतर लागेर समानान्तर गतिविधि गरेकाहरुका कारण सहमतिमै नेतृत्व चयन गर्न केही समस्या भएको बताइएको छ ।

तत्कालीन समयमा पार्टीभित्र समानान्तर गतिविधि गर्नेमध्येका एक नेता सुभाष कर्माचार्य नेकपा एसमा गइसकेका छन् ।

अहिले पनि सहमतिमा नेतृत्व निर्माण नगर्ने हो भने विधि विधानअनुरुपको अधिवेशन नहुने अवस्था देखिएको एक नेताले बताए । ‘१० बुँदे गरेर एमाले फर्किएको समूह अहिले पनि हलो अड्काएर गोरु कुट्ने शैलीमा देखिएको छ’, ती नेताले भने, ‘अहिले जिल्ला कमिटी घोषणा गर्न बालकोटले हस्तक्षेप गरेको भनेर कतिपयले कुप्रचार गरिरहेका छन् ।’

सिन्धुपाल्चोक एमाले अध्यक्षका लागि कमल नेपाल, बालकृष्ण देउवा, केदार क्षेत्री, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर