प्रशासनलाई क्रमशः सुधार्दै लैजाने गृहमन्त्री खाडको प्रतिवद्धता (भिडिओ) – Nepal Press

प्रशासनलाई क्रमशः सुधार्दै लैजाने गृहमन्त्री खाडको प्रतिवद्धता (भिडिओ)

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को सम्बन्धमा भएको छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले मुलुकमा शान्ति स्थापनाका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए ।

द्रुत विकासको चाहनालाई पूरा गर्न मुलुकमा शान्ति आवश्यक रहेको भन्दै उनले गृह प्रशासन र सुरक्षामा प्रदान गरिने बजेटले मुलुकलाई शान्त र सम्मुन्नत बनाउन मद्दत गर्ने बताए ।

संविधानले दिएको मौलिक अधिकारहरुलाई स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको आवश्यकता रहेको उनले उल्लेख गरे ।

उनले भने, ‘शान्ति स्थापना गर्नका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लानुपर्ने पनि हाम्रो औचित्य र आवश्यकता छ । यो संविधान बनिसकेपछि संविधानमा मौलिक अधिकारहरु जनताको चाहाना अनुसार, आवश्यकता अनुसार नै व्यवस्थापन गरिएको छ । ति जनताका मौलिक अधिकारहरु स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको त्यति नै ठुलो आवश्यकता छ । त्यसकारण यो गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को निर्माण गरिएको छ ।’

गृहमन्त्री खाणले अध्यागमन प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढिरहेकाले नेपाल आउने र नेपालबाट बाहिर जानेहरुको तथ्यांक र यथार्थ विवरण अध्यागमन प्रशासन र सुरक्षा निकायसँग हुनुपर्ने बताए ।

पछिल्लो समय भिजिट भिजामा विदेशिने र त्यहाँ गएर रोजगारीको शिलशिलामा नेपालीहरु भौतारिएका विभिन्न घटनाहरु आइरहेको भन्दै यस सम्बन्धमा सम्बन्धित मन्त्रालयहरुले संयुक्त रुपमा गम्भिरतापूर्वक कदम चालिरहेको पनि उनले उल्लेख गरे ।

उनले भने, ‘अध्यागमनलाई प्रयोग गर्नेको संख्या दिनानुदिन बढिराखेको छ । विभिन्न खालका सुरक्षालाई गम्भिर पार्ने खालका गतिविधि पनि विभिन्न ठाउँमा भएका छन् । त्यसकारण नेपाल आउने मान्छेको पनि यथार्थ प्रोफाइल अध्यागमनसँग रहन सकोस् या सुरक्षा निकायसँग रहन सकोस् । नेपालबाट बाहिर जानेहरुको पनि तथ्यांक पनि होस् र के प्रयोजनका लागि जाने हो त्यसै प्रयोजनमा त्यहाँ उहाँहरु रहनुहोस् भन्ने नै हाम्रो प्रयत्न हो ।’

गृहमन्त्री खाणले बदलिँदो परिवेश अनुसार गृह प्रशासनको उत्तरदायित्व र कार्यशैलीमा गतिशिलता ल्याउनुपर्नेमा जोड दिए । कार्यशैलीलाई पनि तिव्र गतिमा आधुनिकिकरण गर्नुपर्ने उनले बताए ।

जारी भयो ‘गृह प्रशासन सुधार कार्ययोजना–२०७८’

गृह मन्त्रालयले दुई सय ६ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना–२०७८’ जारी गरेको छ ।

गृहमन्त्री खाणले अपराध अनुसन्धान तथा नियन्त्रण, सीमा सुरक्षा, आन्तरिक प्रशासनिक सुधारलगायत विषय समेटेर कार्ययोजना सार्वजनिक गरेका हुन् ।

कार्ययोजनामा सीमा सुरक्षादेखि गृह मन्त्रालय, त्यस मातहतका अरु निकाय, प्रहरी र सशस्त्र प्रहरीको कामकारबाहीलाई व्यवस्थित, आधुनिकीकरण र साधनस्रोतयुक्त बनाइने उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *