कांग्रेसका प्रदेश समिति निष्प्रभावी, सबै काममा देउवाको हस्तक्षेप – Nepal Press

कांग्रेसका प्रदेश समिति निष्प्रभावी, सबै काममा देउवाको हस्तक्षेप

काठमाडौं । हालै सम्पन्न १४ औं महाधिवेशनबाट संघीय संरचनाको अभ्यास थालेको नेपाली कांग्रेसभित्र ‘प्रदेश कार्यसमिति’ निष्प्रभावी बन्दै गएका छन् ।

पार्टी विधानले दिएका अधिकार उपयोग गर्न बञ्चित गरिएपनि प्रदेशका सभापति र पदाधिकारीहरु निरीह देखिएका छन् । केन्द्रीय सभापति शेरबहादुर देउवाले नै सबै प्रदेशका कामकारवाहीमा हस्तक्षेप गर्दै आएका छन् । यसको पछिल्लो उदाहरण कर्णाली र प्रदेश १ मा मन्त्रिपरिषद विस्तारमा देखिएको छ ।

दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि सभापति देउवाले पार्टींलाई विधान अनुसार सञ्चालन गर्ने र आफूलाई मत नदिनेहरुलाई पनि समेटेर लैजाने बताएका थिए । तर व्यवहारमा भने देउवाले विधानको उल्लघंन थालिसकेका छन् ।

मुलुकको प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले पार्टीकै विधानले प्रदेश समितिहरुलाई दिएको अधिकार पनि उपयोग गर्न दिएका छैनन् । राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश कार्यसमितिबाट प्रस्तावित उम्मेदवारहरुको रोष्टर देउवाले मगाएनन् ।

कांग्रेस विधानको दफा ३१ को उपदफा ९ मा ‘प्रत्येक प्रदेश कार्यसमितिले नेपालको संविधानको धारा ८६ को उपधारा २ (क) बमोजिम निर्वाचित हुने राष्ट्रियसभा सदस्यका लागि मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग गरी प्राप्त नाममध्येबाट एक सिटका लागि तीन जनाको नाम सहमति हुन सकेमा सहमति अनुसार र सहमति हुन नसके बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउने’ उल्लेख छ । यद्यपि ६ जना राष्ट्रियसभा सदस्यको नाम देउवाले आफै छनोट गरी केन्द्रीय समितिबाट पारित गराएका थिए ।

प्रदेश १ र कर्णाली प्रदेशमा हालै मन्त्रिपरिषद विस्तार गरिएको छ । प्रदेश मन्त्री छनोटमा पनि देउवाले सोझै हस्तक्षेप गरेका छन् । कांग्रेस विधानले प्रदेश सरकारमा सहभागि हुने मन्त्रीको मापदण्ड बनाउने अधिकार प्रदेश कार्यसमितिलाई दिएको छ ।

प्रदेश १ र कर्णाली प्रदेशमा प्रदेश कार्यसमितिको बैठक नै नबसेको अवस्थामा मन्त्रीहरु नियुक्त भएका छन् । ती प्रदेशमा कांग्रेसको प्रदेशसभा दलको समेत बैठक नबसी मन्त्री चयन गरिएको छ ।

कांग्रेसमा संसदीय दल वा सम्बन्धित संसदीय समितिबाट मन्त्रीहरुको नाम टुंगो लगाउने प्रचलन रही आएको छ । सभापति देउवाले प्रदेश कार्यसमिति र संसदीय दलमा छलफल हनु नदिई मुख्यमन्त्रीहरुलाई मन्त्रीको सूची आफै दिएका थिए । सोही अनुसार प्रदेश १ मा तीन जना नै आफ्नो समूहका मन्त्री बनाउन देउवा सफल भएका छन् ।

आइतबार प्रदेश १ को मन्त्रिपरिषदमा कांग्रेसबाट शेखरचन्द्र थापा, ओमप्रकाश सरावागी र प्रतापप्रकाश हाङगाम मन्त्री बनेका छन् । उनीहरु तीनै जना सभापति देउवानिकट हुन् ।

कर्णाली प्रदेशमा कांग्रेसबाट नवनियुक्त मन्त्रीद्वय यज्ञबहादुर बिसी र चन्द्रबहादुर शाही पनि सभापति देउवाकै निर्देशनमा मन्त्री बनेका हुन् । कर्णालीमा पनि मन्त्री चयनबारे प्रदेश समिति र दलमा कुनै छलफल भएको थिए ।

सभापति देउवाले प्रदेश कार्यसमिति र प्रदेशसभा दललाई दिइनुपर्ने अधिकार केन्द्रबाटै प्रयोग गरेपछि कांग्रेसको संगठन नाममात्रैको संघीय बनेको छ । कांग्रेस नेता गुरुराज घिमिरे संविधान र पार्टी विधानको भावना विपरीत प्रदेश समितिहरुको अधिकारमा हस्तक्षेप भएको बताउँछन् ।

‘संघीय संरचनामा जाने भनेको तलको अधिकार तलै प्रयोग गर्नु हो । प्रदेश समिति छ तर बैठक पनि बस्दैन, कुनै निर्णय गर्ने अधिकार पनि पाउँदैन भने कसरी विधिसम्मत भयो ?’ , घिमिरेले प्रश्न गरे ।

प्रदेश १ र कर्णाली मन्त्री छान्दा विधानविपरीत र पार्टीभित्रको समन्वयलाई नजरअन्दाज गरिएको घिमिरेको आरोप छ । ‘एउटा पक्षलाई सोझै निषेध गरेर बालुवाटारबाट प्रदेश चलाउने काम भएको छ । प्रदेश समिति र प्रदेशसभाको अधिकार खोसेर न संघीयता बलियो हुन्छ न कांग्रेस बलियो हुन्छ’, घिमिरेले भने ।

कर्णाली प्रदेशका कांग्रेस नेता भूपेन्द्रजंग शाहीले पनि मन्त्रिपरिषद विस्तारमा आपत्ति जनाएका छन् । प्रदेश कार्यसमिति र पार्टीको साझा भावनालाई अवमूल्यन गरिएको शाहीको आरोप छ ।

‘कर्णाली प्रदेश सरकार विस्तारमा संघीयता र समावेशिताको भावना विपरीत, एकपक्षीय र गुटगत आधारमा निर्णय गरिएको छ । यो संवैधानिक संघीय व्यवस्था, पार्टीको संघीय संरचना र आन्तरिक एकताको भावना विपरीत छ’, शाहीले भनेका छन् ।

कांग्रेसका प्रदेश सभापतिहरुले केही समयअघि पार्टी नेतृत्वसँगको भेटमा केन्द्रीय समिति बैठकमा बस्न पाउनुपर्ने माग गरेका थिए । पार्टी विधान अनुसार प्रदेश समितिकै कार्यभार पूरा गर्न नसकेका प्रदेश समितिहरु यथास्थितिमा अझ प्रभावहीन बन्ने देखिन्छ ।


प्रतिक्रिया

One thought on “कांग्रेसका प्रदेश समिति निष्प्रभावी, सबै काममा देउवाको हस्तक्षेप

  1. संघियता जनता लाई भुलाउने हात्तिको देखाउने दाँत जस्तै हो।अधिकार तल्लो तहमा दियर आफै रित्तोमात्र होईन अपठ्यारो मा पर्न कस्ले पो चाहने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर