तीनवटा आक्रामक पारीले राष्ट्रिय टोलीमा स्थान बनाएका लोकेश विश्वकप छनोट अघि के भन्छन् ? – Nepal Press

तीनवटा आक्रामक पारीले राष्ट्रिय टोलीमा स्थान बनाएका लोकेश विश्वकप छनोट अघि के भन्छन् ?

काठमाडौं । नेपाली क्रिकेट टोलीले फेब्रुअरी १८ देखि ओमानमा आईसिसी टीट्वन्टी विश्वकप क्रिकेटको विश्वस्तरको छनोट खेल्दै छ। चार देश सहभागी हुने समूह ‘बी’बाट शीर्ष दुई टोली विश्वकपमा छनोट हुने छन्।

नेपालले यसअघि सन् २०१४ मा टीट्वन्टी विश्वकप खेलेको थियो। त्यो एकमात्र र अन्तिम सहभागिता थियो नेपालका लागि विश्वकपमा ओमानमा यसपटक विश्वकप छनोट खेल्नुअघि नेपालले ओमानमै चार देश सम्मिलित श्रृखला खेल्दै छ।

ओमान जानुअघि नेपालले घरेलु मैदानमा गरिने तयारी आइतबार सिध्याएको छ। विश्वकप छनोटका लागि घोषणा गरिएको नेपाली टोलीमा दुई जना नयाँ अनुहार छन्। तीमध्ये लोकेश बमको सफलता चर्चामा छ। केही साताअघि सम्पन्न प्रधानमन्त्री कपमा आक्रामक ब्याटिङ गरेपछि उनी प्रशिक्षक पुबुदु दासानायकेको नजरमा परेका थिए।

सशस्त्र प्रहरी बल–एपीएफलाई उपाधि विजेता बनाउन लोकेशको भूमिका उल्लेख्य थियो। उनले सेमिफाइनलमा आक्रामक ब्याटिङ गर्दै १८ बलमा ९ छक्का र २ चौकासहित अविजिति ६६ रन बनाएका थिए। फाइनलमा पनि उनले १५ बलमा तीन छक्कासहित २७ रन जोडेका थिए।

समूहगत चरणको एक खेलमा पनि लोकेशले आक्रामक ब्याटिङ गर्दै ५० रन जोडेका थिए। त्यतिबेला उनले २४ बलमा एक छक्का र १० चौका हिर्काएका थिए। नेपालको तयारी सकेर ओमान प्रस्थान गर्नुअघि लोकेशसँग गरिएको कुराकानी –

पहिलो पटक टिममा परेको छु, पक्कै पनि राम्रो महसुस भइरहेको छ । अलिअलि ‘नर्भसनेस’ पनि छ किनभने एकैपटक ठूलो लेभलमा खेल्न गइरहेको छु । नर्भसनेससँग कसरी ‘डिल’ गर्नेबारे कोचसँग छलफल गरिरहेको छु । सबैभन्दा राम्रोकुरा म मानसिकरुपमा बलियो छु। कोभिड संक्रमणका कारणले गर्दा राम्रोसँग ट्रेनिङ गर्न चाहीँ पाइन, १०/१२ दिन नै ट्रेनिङमा उपस्थित हुन सकिनँ। २÷३ दिन मात्र ट्रेनिङ गर्न पाएँ, त्यसलाई बिहान साँझ यहि मैदानमा आएर सदुपयोग गरिरहेको छु ।

एउटा क्रिकेट मन पराउने बच्चा भएर हुर्किरहँदा सबैलाई राष्ट्रिय टोलीबाट खेल्ने सपना हुन्छ । पहिला देखि नै सिनियर दाई हरुसँग खेल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। अब त्यो वास्तविकतामा परिणत हुँदै छ। दाईहरुसँग सिक्ने र राम्रो प्रदर्शनबाट आफुलाई प्रमाणित गर्ने अवसर मसामु छ । राम्रो प्रदर्शन गर्न नसकेकाले यू–१९ राष्ट्रिय टोलीबाट खेल्ने अवसर जुरेन। तर म आँत्तिइन। त्यसपछि राम्रो प्रदर्शन गरेर आफुलाई प्रमाणित गर्नु पर्ने थियो। धेरै भएको थियो, राम्रा गर्न नसकेको पनि। लयमा फर्कनु आवश्यक थियो जसमा म सफल भएँ। सिनियर राष्ट्रिय टोलीबाट खेल्नुले छुट्टै महत्व राख्छ। मैले जे पनि गरि रहेको थिएँ त्यो सिनियर राष्ट्रिय टोलीमा पर्नकै लागि थियो। राष्ट्रिय टोलीको जर्सि लगाएर खेल्न पाउँनु मेरो लागि सबै कुरा हो ।

मैले विश्वकप २०१४ हेरेर नै क्रिकेट करियरको सुरुवात गरेको हो । सँधै सपना नै त्यहि हुन्थ्यो, विश्वकप खेल्ने। अहिले आएर नेपाली टोलीलाई त्यहाँ पु¥याउने बेलामा म पनि टोलीमा परेको छु, सबै भन्दा ठूलो खुसीको कुरा त्यही लाग्छ। मेरो नेचुरल गेम अट्याकिङ् हो, कहिलेकाही प्रेशर भएको अवस्थामा सम्हालिएर खेल्दा अलि गाह्रो हुन्छ। मैले मेरो सट हरुलाई रोकेर खेल्नुपर्ने हुन्छ । टोलीलाई आवस्यकता अनुसार मैले आफुलाई रोक्नैपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर