शीर्ष बैठकमा देउवा र प्रचण्डको कुरा बाझियो, एमालेले भन्यो- पहिले सत्तापक्ष एकमत हुनुस् (भिडिओ) – Nepal Press

शीर्ष बैठकमा देउवा र प्रचण्डको कुरा बाझियो, एमालेले भन्यो- पहिले सत्तापक्ष एकमत हुनुस् (भिडिओ)

काठमाडौं । बालुवाटारमा भएको प्रमुख तीन नेताहरुबीचको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग सहयोग मागेका छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच करिब दुई घण्टा छलफल भएको थियो ।

बैठकबारे जानकारी गराउँदै एमाले महासचिव शंकर पोखरेलले एमालेले यसबारे पहिले सत्ता पक्षमा स्पष्ट निर्णय हुनुपर्ने आफ्नो अडान राखेको बताए ।

‘प्रधानमन्त्रीको धारणा एमसीसीलाई अगाडि बढाउनुपर्छ भन्ने थियो,’ पोखरेलले संवाददाताहरुसँग भने, ‘प्रचण्डको धारणा पनि प्रतिपक्षले संसद खोलोस् र चुनावपछि मात्रै एमसीसीबारे विचार गर्ने कुरा प्रतिपक्षसहित प्रस्ताव गरौं भन्ने कुरा राख्नुभयो ।’

एमसीसीबारे अध्यक्ष ओलीले बैठकमा राखेको भनाइबारे पोखरेलले भने, ‘सरकारले आफ्नो धारणा स्पष्ट बनाएपछि राष्ट्रिय मामिलामा कुनै पनि विषयमा अनिर्णित हुँदैनौं । सत्ता पक्ष पनि अनिर्णित भएर बस्नु हुँदैन भन्ने कुरा राखेका छौं ।’

संसद खोल्नेबारे सभामुखको कदम सच्चिनुपर्ने भनाइ दोहोर्‍याएको पोखरेलले बताए । ‘हामी फेरि पनि आग्रह गर्न चाहान्छौं सभामुखबाट भएको कमजोरी सच्याउनुपर्‍यो,’ उनले भने, ‘१४ जना गैर सांसद संसदमा राख्ने कुरा अविलम्ब रोक्नुपर्छ ।’

पोखरेलले स्थानीय तहको चुनाव समयमै हुनुपर्छ भन्ने अडान एमालेले राखेको र यसमा प्रधानमन्त्रीले सकरात्मक जवाफ दिएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर