गठबन्धनले राज्यका अंग गिजोल्दा लोकतन्त्र नै धरमरायो : उपमहासचिव ज्ञवाली (भिडिओ) – Nepal Press

गठबन्धनले राज्यका अंग गिजोल्दा लोकतन्त्र नै धरमरायो : उपमहासचिव ज्ञवाली (भिडिओ)

रूपन्देही । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार निर्वाचनबाट भागिरहेको आरोप लगाएका छन् । चुनाव छल्न अनेक बहानाबाजीमा सरकार लागेको उनको आरोप छ ।

प्रेस चौतारी नेपालद्वारा बुटवलमा आयोजित कार्यक्रममा उनले भने, ‘गठबन्धनप्रति एमालेलाई कुनै टाउको दुखाइ छैन तर गठबन्धन सरकार पानीसँग छालाका जुत्ता डराएजस्तो चुनावसँग डराएको छ । जहिले भए पनि एमाले चुनाव सामना गर्न तयार छ ।’

स्थानीय तहलाई एक दिनपनि जनप्रतिनिधिविहीन बनाउने छुट सरकारलाई नभएको ज्ञवालीको भनाइ छ ।

शेरबहादुर देउवा सरकारले नेपालको इतिहासले कहिल्यै नभोगेको अस्तव्यस्त सृजना गराएको आरोप उनले लगाए । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गिजोल्दा देशको लोकतन्त्र नै धरमराएको ज्ञवालीको भनाइ छ । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले वर्तमान देशको अवस्था आन्तरिक र बाह्य हिसाबले चुनौतीपूर्ण देखिएको बताए ।

एमालेले एमसीसीप्रति उपयुक्त समयमा आफ्नो धारणा दिने ज्ञवालीको भनाइ छ । माओवादीको एमसीसीमा दोहोरो भूमिका खेलेको दाबी उनको छ ।

‘सभामुखले संसदको ढोका बन्द गरेका छन । एमसिसीप्रति सभामुखको धारणा विवादास्पद छ । प्रक्रियामा अल्झिएकोले एमाले आफ्नो धारणा नल्याएको हो । सत्ता गठबन्धनको एमसिसीले प्राण अड्किएको छ’, उनले भने, ‘पास गर्न उहाँहरूलाई संसदमा बहुमत छ । सरकारले अमेरिकातर्फ फर्केर एउटा र नेपालतर्फ फर्केर अर्को कुरा नगरोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर