ओलीसँगको भेटप्रति प्रचण्डको संशय, टेलिफोनमा देउवासँग नोकझोक – Nepal Press

ओलीसँगको भेटप्रति प्रचण्डको संशय, टेलिफोनमा देउवासँग नोकझोक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच सम्बन्ध ‘चिस्सिएको’ छ । गत सेप्टेम्बरमा एमसीसीलाई लेखेको संयुक्त पत्र सार्वजनिक भएपछि प्रचण्ड देउवासँग रुष्ट भएका हुन् ।

प्रधानमन्त्री देउवाको सचिवालयबाट अप्रासंगिक रुपमा पत्र सार्वजनिक गरिएको विषयलाई सामान्य ढंगले लिन नसकिने प्रचण्डको विश्लेषण छन् । यसबारे प्रधानमन्त्री देउवासँगको टेलिफोन वार्तामा प्रचण्डले आपत्ति जनाएका छन् ।

‘यतिबेला पत्र सार्वजनिक गराउनुपर्ने के आइपर्‍यो तपाईलाई ?’, देउवालाई प्रचण्डले प्रश्न गरेका छन् । प्रधानमन्त्री देउवाले भने पत्र आफूले सार्वजनिक नगराएको स्पष्टीकरण दिएका छन् । बालुवाटार स्रोतका अनुसार देउवा र प्रचण्डबीच ‘नोकझोक’ नै भएको थियो ।

एमसीसीका कारण गठबन्धनमा समस्या आउनसक्ने चेतावनीसमेत दाहालले दिएका छन् । जवाफमा प्रधानमन्त्री देउवाले आफैले गरेको सहमतिबाट पछि नहट्न अनुरोध गरेका थिए ।

देउवाले संसदबाट एमसीसी अनुमोदन गराउन दबाब बढेको पनि बताएका छन् । ‘कति ढिलो गर्ने । एमसीसी त अब पास गर्ने हो । तपाईको पार्टीमा मिलाउनुस्’, देउवालाई उधृत गर्दै बालुवाटार स्रोतले भन्यो । जवाफमा प्रचण्डले पत्र सार्वजनिक हुनुका पछाडि राजनीतिक षड्यन्त्रको संकेत पाएको भन्दै यहीकारणले गठबन्धनमा ध्रुवीकरण बढ्नसक्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री देउवाले पनि जेठ ५ अगाडि नै स्थानीय निर्वाचन गर्ने र त्यसअघि नै एमसीसी पारित गर्ने आफ्नो स्पष्ट अडान सुनाएका छन् । ‘एमसीसी पास गरेर स्थानीय चुनाव गर्ने हो । यसमा तपाईको डिसिजन दिनुस’, देउवाले दाहाललाई भनेका छन् ।

फोन संवादका क्रममा प्रचण्डले ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग किन भेट हुँदैछ ?’ भनी सोधेका थिए । जवाफमा देउवाले चुनावको मितिबारे प्रमुख प्रतिपक्षसँग कुरा हुन लागेको बताएका थिए । सो छलफलमा प्रचण्डलाई पनि आउन देउवाले आग्रह गरेका थिए । दाहालले भने माधव नेपालबीना ओलीसँग बैठक नहुने जवाफ दिएका थिए ।

एमसीसी पत्र सार्वजनिक भएसँगै सत्तारुढ गठबन्धनमा राजनीतिक तरंग पैदा भएको छ । आजै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच हुने भेटलाई पनि चासोका साथ हेरिएको छ ।


प्रतिक्रिया

One thought on “ओलीसँगको भेटप्रति प्रचण्डको संशय, टेलिफोनमा देउवासँग नोकझोक

  1. पत्र सार्वजनिक गरेर दलालकाे असली अनुहार देख्न पाईयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर