यस्तो छ एमसीसीसमक्ष देउवा-प्रचण्डको ‘याचनापत्र’ (अनुवाद) – Nepal Press

यस्तो छ एमसीसीसमक्ष देउवा-प्रचण्डको ‘याचनापत्र’ (अनुवाद)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकालाई पठाएको ‘गोप्यपत्र’ सार्वजनिक भएसँगै एमसीसी विवादमा नयाँ मोड आएको छ । पत्रमा नेताद्वयले एमसीसी संसदबाट अनुमोदन गराउने प्रतिबद्धता गर्दै यसका लागि ४-५ महिनाको अतिरिक्त समय मागेका छन् ।

‘याचना’ को शैलीमा नेताद्वयले एमसीसी बोर्डका अध्यक्षलाई लेखेको पत्रमा भनिएको छ, ‘हाम्रा दुई राष्ट्र र जनताबीच कायम रहेको अनवरत् मित्रता र सहकार्यलाई ध्यानमा राख्दै हामीले अनुमोदनका लागि अनुरोध गरेको अतिरिक्त समय एमसीसी बोर्डलाई स्वीकार्य हुने विश्वास लिएका छौं ।’

पत्रमा देउवा र प्रचण्डले एमसीसी कम्प्याक्ट चाँडोभन्दा चाँडो संसदमा टेबुल गर्न सभामुखलाई अनुरोध गर्नेसमेत बताएका छन् । पाठकको सहजताका लागि हामीले पत्रलाई नेपालीमा जस्ताको तस्तै अनुवाद गरी प्रस्तुत गरेका छौं :

सेप्टेम्बर २९, २०२१

अध्यक्ष,

मिलेनियम च्यालेन्ज कर्पोरेसन बोर्ड

१०९९ फोर्टिन्थ स्ट्रिट नर्थवेस्ट

वासिङ्टन, डीसी २०००५

 

सन्दर्भः नेपालसँगको एमसीसी कम्प्याक्ट र अनुमोदन

प्रिय अध्यक्ष,

हामी संयुक्त राज्य अमेरिकाको सरकार र जनतामा हाम्रो न्यानो अभिवादन तथा शुभेच्छा प्रकट गर्दछौं ।

हामी एमसीसीमार्फत काम गरिरहेको संयुक्त राज्य अमेरिका र अर्थ मन्त्रालयमार्फत काम गरिरहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालबीच १४ सेप्टेम्बर २०१७ मा हस्ताक्षर भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (द कम्प्याक्ट) तथा २९ सेप्टेम्बरमा हस्ताक्षर भएको द प्रोग्राम इम्प्लिमेन्टेसन एग्रिमेन्ट (द पिआईए) लाई सह्राहनासहित स्वीकार गर्दछौं ।

यस परिप्रेक्षमा, हामी, वर्तमान नेपाल सरकारका गठवन्धन साझेदारका नेताहरू, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संयुक्तरूपमा एमसीसी बोर्डलाई कम्प्याक्ट अनुमोदनका लागि अतिरिक्त समय उपलब्ध गराउन अनुरोध गर्दछौं ।

कम्याक्ट अपरेसन्सकी उपाध्यक्ष फर्तेमा जेड सुमारको हालैको भ्रमणका क्रममा विस्तृत छलफलहरू भए र हामीले अनुमोदन गर्ने हाम्रो प्रतिवद्धता जाहेर गर्यौं । नवनिर्मित गठबन्धन सरकार यसतर्फ सबै सम्भावित प्रयासहरु लगाइरहेको छ ।

हामी नेपालको आर्थिक विकासका लागि एमसीसी अनुदान हासिल गर्न तथा यसको कार्यान्वयन गर्न नेपाल सरकारको अभिरुचिबारे तपाईंलाई प्रत्याभूति दिलाउन चाहन्छौं ।

एमसीसी कम्प्याक्टप्रति हाम्रो प्रतिवद्धता उजागर गर्नका निम्ति, अनुमोदनका लागि संसदको आवश्यक बहुमत हासिल गर्ने लक्ष्यसहित हामी आगामी चार-पाँच महिनाभित्र देहायका कार्यहरू गर्न सहमत छौं । हामी विशेषरूपमा प्रतिवद्धता जनाउँछौंः

– हाम्रो पार्टीका सदस्यहरुलाई सुसूचित गर्न सबै गठवन्धन साझेदारहरुसँग एमसीसीबाट प्राप्त भएको प्रष्टीकरणमाथि छलफल गर्ने

– नेपाली जनतासँग सार्वजनिकरूपमा सञ्चार गर्न नेपाल सरकारको स्रोत-साधनहरू प्रयोग गर्ने तथा कम्प्याक्टको कार्यान्वयन गर्न र कम्प्याक्टबारेका गलत बुझाई तथा आशंका निवारण गर्न सरकारले सहयोग गर्ने

– एमसीसी अनुमोदनका सम्वन्धमा सरकारको सकारात्मक दृष्टिकोण प्रदर्शन गर्न गठवन्धन साझेदारका नेताहरुसँग संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने

– सरकारी सञ्चारमाध्यममार्फत कम्प्याक्टका विषयमा सत्य सूचनाहरू सम्प्रेषण गर्ने

– एमसीए नेपाललाई प्राविधिक तथा सञ्चार क्रियाकलापहरु पूरा गर्न प्रोत्साहित गर्ने, जसले गर्दा कम्प्याक्टको कार्यान्वयन छिटो हुन सक्छ

– प्रतिनिधिसभाका सभामुखलाई चाँडोभन्दा चाँडो अनुमोदनका लागि कम्प्याक्ट टेबुल गर्ने योजना बनाउन संयुक्त अनुरोध गर्ने

यी क्रियाकलापहरुले आगामी चार-पाँच महिनामा कम्प्याक्टको अनुमोदनका लागि आवश्यक संसदीय बहुमत जुटाउन सम्भव तुल्याउने हामीलाई विश्वास छ ।

उल्लेखित विषय तथा हाम्रा दुई राष्ट्र र जनताबीच कायम रहेको अनवरत मित्रता र सहकार्यलाई ध्यानमा राख्दै हामीले अनुमोदनका लागि अनुरोध गरेको अतिरिक्त समय एमसीसी बोर्डलाई स्वीकार्य हुने विश्वास लिएका छौं ।

हामी यथासक्य चाँडो सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने प्रतीक्षामा छौं ।

शेरबहादुर देउवा

प्रधानमन्त्री तथा सभापति, नेपाली कांग्रेस

पुष्पकमल दाहाल ‘प्रचण्ड’

पूर्वप्रधानमन्त्री तथा अध्यक्ष, नेकपा (माओवादी केन्द्र)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर