चीनलाई उत्तर कोरियाको सन्देश : ओलम्पिक आयोजना गर्नसक्नु समाजवादी चीनको महान विजय – Nepal Press

चीनलाई उत्तर कोरियाको सन्देश : ओलम्पिक आयोजना गर्नसक्नु समाजवादी चीनको महान विजय

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सन्देश पठाउँदै बेइजिङ शीतकालीन ओलम्पिक खेलकुद आयोजना गर्नु चीनको ‘महान जित’ भएको बताएका छन् । प्रेषित सन्देशमा आफूले दुई देशबीचको सम्बन्ध सुधार गर्न चाहेको उत्तर कोरियाली समाचार संसथा केसीएनएले जनाएको छ।

नेता किमले लेखेको पत्रमा भनिएको छ, ‘विश्वब्यापी स्वास्थ्य संकट र अभूतपूर्व कठिन परिस्थितीको बाबजुद पनि चीनले बेइजिङ ओलम्पिकको शुभारम्भ गर्नु समाजवादी चीनको महान विजय हो ।’ सन्देशमा नेता किमले दुबै पार्टी र दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजाने समेत बताएका छन् ।

उनले भनेका छन्, “दुई देशबीचको सम्बन्ध अजेय रणनीतिक सम्बन्धमा गाँसिएको छ जसलाई साझा उद्देश्यको रक्षा र अगाडि बढाउने सङ्घर्षमा कुनै पनि कुराले तोड्न सकिँदैन”। बेइजिङ ओलम्पिक आजदेखि चिनियाँ राजधानीमा सुरु भएको छ । यसअघि उत्तर कोरियाको खेलकुद मन्त्रालयले चीनलाई पत्र पठाउँदै कोभिड-१९ र अन्य विदेशी शक्तिको धम्कीको कारण आफू बेइजिङ ओलम्पिकमा भाग नलिएको जनाएको थियो । तर, कुन विदेशी शक्तिबाट सुरक्षा जोखिम छ भन्ने कुरा चाहिँ उत्तर कोरियाले खुलाएको छैन ।

कोभिड–१९ का कारण गत वर्ष टोकियो समर ओलम्पिकमा टोली पठाउन नसकेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट उत्तर कोरियालाई सन् २०२२ को अन्त्यसम्म निलम्बन गरिएपछि उत्तर कोरियाली खेलाडीलाई आफ्नो राष्ट्रिय झण्डामुनि प्रतिस्पर्धा गर्न अनुमति छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर