‘महागठबन्धन भएपनि एमालेले भोजपुरमा आरामले चुनाव जित्छ’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘महागठबन्धन भएपनि एमालेले भोजपुरमा आरामले चुनाव जित्छ’ (भिडिओ)

एमाले अध्यक्ष शरण राई भन्छन्- जिल्लाको समृद्धिको गुरुयोजना बनाएर अघि बढ्छौं

नेकपा एमालेको हालै भएको जिल्ला अधिवेशनबाट ७७ मध्ये ६४ जिल्लाले नेतृत्व पाइसकेको छ । कोरोना संक्रमण जोखिमलगायतका कारण बाँकी जिल्लाको नेतृत्व चयन धकेलिएको छ ।

यसपालि केन्द्रदेखि जिल्लासम्म प्यानल बनाउन नपाउने एमालेले नीतिगत व्यवस्था नै गर्‍यो । नेकपा एकताको निरन्तरतामा रहेका पूर्वमाओवादी र १० बुँदे सहमतिबाट एमालेमै क्रियाशील रहेका नेताहरूलाई समेटेर लैजाने अध्यक्ष केपी ओलीको चाहनाअनुरूप कमिटीहरू बने ।

अधिकांश जिल्लामा साबिक संस्थापन पक्षकै नेताहरू नेतृत्वमा आएका छन् । पूर्वीपहाडी जिल्ला भोजपुरमा शरणकुमार राई सर्वसम्मतिले अध्यक्ष भएका छन् । उनी पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै माधव नेपालको साथ छाडेर एमालेमै बसेका हुन् । त्यसैले पनि उनी चर्चामा आए ।

५ वर्षे कार्यकालका योजना, अबको चुनावमा एमाले भोजपुरको अवस्था र जिल्लाको समसामयिक राजनीतिक परिवेशबारे अध्यक्ष राईसँगको कुराकानी नेपाल टकमा :

– भोजपुर, प्रदेश १ का पूर्व र वर्तमान मुख्यमन्त्रीको जिल्ला एमालेको अधिवेशन चासो पनि थियो । फेरि तपाईं १० बुँदे सहमतिबाट आउनुभएको । अधिकांश ठाउँमा साबिक संस्थापन पक्षकै आउँदा तपाईं कसरी सफल हुनुभो । अर्कोतिर १० बुँदेपक्षधरलाई एमालेमा फरक ढंगले हेरिरा’का छन् भन्ने पनि छ ?

म लामो अवधि भोजपुरमै बसेर राजनीतिमै सक्रिय छु । एमालेको सदस्य, उपसचिव, सचिव, उपाध्यक्ष हुँदै अहिले नेतृत्वमा आएको छु । जिल्लाका नेता कार्यकर्ताले मलाई माया गरेको कार्यकर्ता र जनतामाझ म स्थापित व्यक्ति भएकोले पनि मलाई १० बुँदेले कुनै असर गरेन । तपाईं आउँदा पार्टी बन्छ, पार्टीलाई सशक्त ढंगले हाँक्नुपर्छ भनेर ८० प्रतिशतभन्दा बढी प्रतिनिधिले मलाई मन पराउनु भो र म सर्वसम्मत चयन भएको हुँ । पार्टीमा त्यस्तो केही छैन । एकताबद्ध बनाएर अघि बढाउनुपर्ने जिम्मा मलाई आएको छ ।

– आफैंले चाहिँ कत्तिको संघर्ष गर्नुपर्‍यो नि ?

अधिवेशन भन्नासाथ नेतृत्वका लागि होडबाजी हुन्छ नै । कार्यकर्तामाझ लोकप्रियताको कारण नै होडबाजी बीच सर्वसम्मत भएर आएँ ।

– विद्यार्थी राजनीति सुरू गरेको २४ वर्षपछि मुल पार्टीको जिल्ला नेतृत्वमा आउँनुभयो । आफ्नो कार्यकालका मुख्य एजेण्डा के-के हुन्छन् त ?

लामो अवधिदेखि संगठनका काम हुन सकिरहेको छैन । त्यसलाई तलतलसम्म व्यवस्थित गर्नुपर्ने पहिलो आवश्यकता छ । एमाले जनताले धेरै माया गरेको तर हामी नेताले व्यवस्थित गर्न सकिरहेका छैनौं । मेरो नेतृत्वको यो कमिटीले पहिले सांगठानिक र वैचारिक क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता देखिएको छ । अब चाँडै नै बैठक बसेर सचिवालयदेखि विभिन्न विभागमा जिम्मेवारी बाँडफाँट गर्छौं । एक महिनाभित्र वडातहसम्मको बैठक सक्छौं । अहिले हाम्रो अवस्था के छ त भन्ने विश्लेषण त्यहाँबाट निकाल्छौं । विशेष गरी चुनावकेन्द्रित तथ्यांकमा जोड दिन्छौं । त्यसपछि नेताहरूलाई ल्याएर भेला प्रशिक्षण लगायतका वैचारिक अभियान चलाउँछौं ।

नेकपा एसको छिटफुट प्रभावमात्र छ । हामीलाई हराउनेगरीको असर छैन । अहिले गएकाहरू पनि फर्कने तयारीमा हुनुहुन्छ । मसँग पटकपटक कुराकानी भइरहेको छ । पार्टी छाडेर गएकाहरूलाई पनि हामी फर्काउँछौं । हामी अझै मजबुत हुन्छौं ।

अर्को कुरा, जिल्लाको विकास निर्माणका सम्बन्धमा नेकपा एमालेको मास्टरप्लान के हो त भन्न हामीले अहिलेसम्म सकेको छैन । यो जिल्ला कमिटीले तीन महिनाभित्र पार्टी अध्यक्षलाई जिल्लामा लगेर विशाल जनसभामाझ भोजपुरको विकास र समृद्धिलाई समेटेर मास्टरप्लान सार्वजनिक गर्छौं । शिक्षाको क्षेत्रमा के गर्छौं, भौतिक पूर्वाधारको क्षेत्रमा के गर्छौं यी यावत् क्षेत्र समेटेर योजना बनाउँछौं । त्यसैको आधारमा स्थानीय चुनावमा जनतामाझ जान्छौं । संघ र प्रदेश निर्वाचनमा त्यही बोकेर जान्छौं । हाम्रो मुख्य मार्गचित्र त्यही नै हुन्छ । त्यसै अनुसार हाम्रो पार्टी अघि बढ्छ ।

– चुनावको कुरा गरिहाल्नुभो स्थानीय चुनाव नजिकिँदै छ । गठबन्धनका बाबजुद भोजपुरमा एमालेलाई नम्बर १ पार्टी बनाउन के गर्नुहुन्छ ?

महागठन्धन भए पनि केही हुनेवाला छैन नेकपा एमालेलाई । सबै स्थानीय तहमा हामी जित्नेछौं । त्यो जित्ने आधार हामीसँग छ । हामीले हिजो जितेका ठाउँमा जनप्रतिनिधिले राम्रो काम गर्नुभएको छ । जनताको भावना बुझेर विकासनिर्माणको काम भएका छन् । हाम्रा नेताहरू जनताको बीचमा स्थापित भएर अघि बढिरहनुभएको छ । सबैखाले गठबन्धनलाई तोड्न सक्छौं र भोजपुरमा हामी पहिलो पार्टी बन्छौं ।

– गठबन्धन चुनावसम्मै जाने बताइरहेका छन् । भनेजस्तो सजिलो त नहोला ?

गठबन्धनभित्रै उनीहरूमाझ समस्या छ । एक त कांग्रेसमै समस्या छ । कांग्रेसले कांग्रेसलाई नै भोट दिने अवस्था छैन । अन्य पार्टी जिल्लामा सांगठानिक हिसाबले बलियो छैनन् । नेकपा एमाले कामको हिसाबले, वैचारिक हिसाबले, जनताको माझ खटेको हिसाबले हाम्रो सक्रियताका कारण हामी चुनाव जित्छौं ।

यो जिल्ला कमिटीले तीन महिनाभित्र पार्टी अध्यक्षलाई जिल्लामा लगेर विशाल जनसभामाझ भोजपुरको विकास र समृद्धिलाई समेटेर मास्टरप्लान सार्वजनिक गर्छौं । शिक्षाको क्षेत्रमा के गर्छौं, भौतिक पूर्वाधारको क्षेत्रमा के गर्छौं यी यावत् क्षेत्र समेटेर योजना बनाउँछौं ।

– एमालेमै पनि लामो समय तपाईंहरूसँगै रहेका नेताहरू जयन्ती राई जो भर्खरै राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभो । मुख्यमन्त्री राजेन्द्र राई उहाँहरू माधव नेपालको पार्टीमा हुनुन्छ । यसले त एमालेलाई असर पर्ला नि त ?

उहाँहरू पार्टीमा लामो अवधि काम गर्नुभो । सिनियर नेताहरू हुनुन्छ । तर, छिटफुट प्रभाव देखिए पनि हामीलाई हराउनेगरीको असर छैन ।

– त्यसोभए नेकपा एस भोजपुर एमालेलाई केही खतरा छैन ?

छैन, अहिले गएकाहरू पनि फर्कने तयारीमा हुनुहुन्छ । मसँग पटकपटक कुराकानी भइरहेको छ । पार्टी छाडेर गएकाहरूलाई पनि हामी फर्काउँछौं । हामी अझै मजबुत हुन्छौं ।

– कहिलेसम्म फर्काउने, कस्ता-कस्ता फर्कँदैछन् ?

जनसंगठनदेखि जिल्ला तहसम्मका नेता फर्कँदै हुनुन्छ । उहाँहरूसँग मेरो कुरा भइराको छ । र, फर्कनुहुन्छ ।

– प्रदेश-संघका निर्वाचनको अनुमान के छ त ?

स्थानीय तहमा हामी गठबन्धनलाई हराएर सबैतिर जित्छौं । त्यसकै जगमा हामीले माथिल्लो चुनाव जित्छौं । संघ र प्रदेश पनि आरामले जित्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर