फिल्म हल जतिसक्दो चाँडो खुलाउन पहल गर्छु : संचारमन्त्री कार्की – Nepal Press

फिल्म हल जतिसक्दो चाँडो खुलाउन पहल गर्छु : संचारमन्त्री कार्की

काठमाडौं । कोरोनाभाइरस महामारीको तेस्रो लहरले बन्द रहेका फिल्म हललाई चाँडै खुलाउन आफूले पहल गर्ने संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

शुक्रबार मन्त्रालयमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघ र चलचित्र संघका प्रतिनिधिसँग भेट गर्दै मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।

कोरोना महामारीले प्रभावित नेपाली फिल्म र यससँग आबद्ध व्यवसायी र व्यक्तिको मर्काबारे आफू जानकार रहेको बताउँदै मन्त्री कार्कीले हल खुलाउन सकारात्मक पहल गर्ने जानकारी दिए ।

भेटपछि नेपाल प्रेससँग कुरा गर्दै बोर्ड अध्यक्ष दाहालले भने, ‘मन्त्रीज्यूले जतिसक्दो चाँडो फिल्म हल खुलाउन पहल गर्ने वचन दिनुभएको छ । सकारात्मक पहल गर्छु भन्नुभएको छ ।’

सो अवसरमा चलचित्र संघ र निर्माता संघको तर्फबाट मन्त्रालयलाई कोरोना महामारीको कारण परेको असर र सुझावसहितको ज्ञापनपत्र बुझाइएको थियो । जवाफमा मन्त्री कार्कीले विभागीय मन्त्रीको नाताले फिल्म क्षेत्रको समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाए ।

महामारीको तेस्रो लहरको कारण नेपाली फिल्म हलहरु पुनः बन्द छन् । खेलकुद रंगशाला लगायतका अन्य क्षेत्रलाई खुलाउन प्रशासनले अनुमति दिएपनि हल चाहिँ अहिले पनि बन्द छन् । चलचित्र विकास बोर्डको अग्रसरतामा हल खुलाउन पहल थालिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर