प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले गरे पदभार ग्रहण: हवाई सुरक्षामा प्राथमिकता दिने – Nepal Press

प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले गरे पदभार ग्रहण: हवाई सुरक्षामा प्राथमिकता दिने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षा र सेवा सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताका छन् ।

सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका अधिकारीले आज बबरमहलस्थित प्राधिकरणको मुख्यालयमा पदभार ग्रहण गर्दै प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरबका आयोजनाको शीघ्र सञ्चालन तथा कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाइने बताए । निर्माण सम्पन्न भई शीघ्र सञ्चालनको तयारीमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा ल्याउने र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल चाँडै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने अधिकारीले बताए ।

यस्तै बाराको निजगढमा प्रस्तावित निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बाँकी प्रक्रिया सकेर शीघ्र निर्माण अघि बढाइने उनको भनाइ छ । ‘गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याइने र निजगढ विमानस्थलको निर्माण प्रक्रिया यथाशक्य अघि बढाउँछौं’, उनले भने ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरीकरण गर्दै पूर्ण क्षमतायुक्त अन्तरराष्ट्रिय मापदण्डको रुपमा विकास गर्नुका साथै देशका अन्य आन्तरिक विमानस्थलको पनि सुदृढीकरण र हवाई सुरक्षाका विषयमा ध्यान केन्द्रित गर्ने अधिकारीले बताए ।

मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई चार वर्षका लागि प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । प्राधिकरणमै ११औं तहका अधिकारी राष्ट्रिय गौरवका आयोजनाको आयोजना प्रमुखको रुपमा कार्यरत थिए ।

यसअघिका महानिर्देशक राजकुमार क्षेत्रीले उमेर हदका कारण अवकाश लिएपछि झण्डै एक महिनादेखि महानिर्देशक पद रिक्त थियो । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर