रुसलाई काउन्टर दिन ३ हजार सैनिक टुकडी पूर्वी युरोप पठाउने अमेरिकी घोषणा – Nepal Press

रुसलाई काउन्टर दिन ३ हजार सैनिक टुकडी पूर्वी युरोप पठाउने अमेरिकी घोषणा

वासिङ्टन । रुस र युक्रेनबीच तनाव चर्किँदै जाँदा अमेरिकाले पूर्वी युरोपमा तीनहजार सैनिक टुकडी पठाउने घोषणा बुधबार गरेको छ ।

किभमाथि मस्कोको सम्भावित हमलालाई असफल तुल्याउन उक्त फौज रोमानिया र पोल्यान्ड पठाउन लागिएको ह्वाइट हाउसले जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गर्ने आफ्नो योजना नरहेपनि यस मुद्दामा कुनै सम्झौता नगर्ने बताइसकेको छ । रुस र अमेरिकाबीच मंगलबार भएको सुरक्षा परिषद् बैठकमा चर्काचर्की भैसकेको छ ।

बेलायत र अमेरिकाले युक्रेनमाथि हमला भए रुसविरुद्ध प्रतिकार गर्ने चेतावनी दिइसकेका छन् । मस्कोले युक्रेन सीमामा १ लाख सैनिक उपस्थित गराएको छ । युक्रेनलाई नेटाको सदस्य नबनाउन मस्कोले गरेको आग्रहलाई वासिङ्टनले अस्वीकार गरेपछि दुबै पक्ष थप आमनेसामने हुने परिस्थिती सिर्जना भएको छ ।

पेन्टागनको विज्ञप्तिअनुसार जर्मनीको भिलसेकमा रहेका १ हजार अमेरिकी टुकडीलाई रोमानिया पठाउन लागिएको हो । नर्थ क्यारोलिनाका १७ सय टुकडीलाई पोल्यान्ड पठाइने भएको छ ।

बुधबार मिडियासँग कुरा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई अमेरिकाले जबर्जस्ती युद्धमा पठाउन खोजिरहेको बताएका थिए । साथै, अमेरिकी उत्तेजनाबाट रुस बच्ने प्रयास गरिरहेको समेत उनले बताएका थिए ।

युक्रेनलाई नेटो गठबन्धनमा सामेल नगराउन रुसले दबाब दिँदै आएको छ । तर, अमेरिकासहितका पश्चिमा मुलुकले चाहिँ मस्कोको उक्त प्रस्तावलाई अस्वीकार गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर