‘स्याम्पल’ बिनै कोरोनाको नेगेटिभ रिपोर्ट, दुई अस्पतालमा प्रहरीको ‘स्टिङ अप्रेसन’ – Nepal Press

‘स्याम्पल’ बिनै कोरोनाको नेगेटिभ रिपोर्ट, दुई अस्पतालमा प्रहरीको ‘स्टिङ अप्रेसन’

काठमाडौं । गत जनवरी १८ तारिखमा एक महिला स्वीट्जरल्यान्ड उड्दै थिइन् । पछिल्लो ७२ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्ने व्यवस्थाबमोजिम उनी अस्पताल पुगिन् । तर, रिपोर्ट पोजेटिभ आयो ।

रन्थनिरहेकी ती महिला कसैले पीसीआरको नेगेटिभ रिपोर्ट बनाइदिए १५ हजारसम्म दिन तयार भइन् । सम्पर्कमा आए रोशनकुमार छिटान । उनले पासपोर्ट र फोटो लिएर केही घण्टामै नेगेटिभको रिपोर्ट दिने बताए। उनले नागरिक कम्युनिटी टिचिङ हस्पिटलबाट जारी भएको पीसिआरको नेगेटिभ रिपोर्ट उपलब्ध गराए। त्यसै दिन ती महिला स्वीट्जरल्यान्ड उडिन् ।

यस घटनाबारे थाहा पाएको प्रहरीले स्टिङ अप्रेसन सुरू गर्‍यो । डीभी परेका एक व्यक्ति २४ घण्टाभित्र अमेरिका उड्नुपर्ने तर रिपोर्ट पोजेटिभ आएको भन्दै छिटानको सम्पर्कमा पुगे । छिटानले चिन्ता नगर्नुस्, ८ हजार रुपैयाँ भएपछि तपाईंको काम हुन्छ भन्ने आश्वासन दिए ।

नभन्दै ती व्यक्तिको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट प्राप्त भयो । प्रहरीले थप पाँचजनाको परीक्षणका लागि पनि पठायो । बिना ‘स्याम्पल’ छिटानले भोलिपल्टै पाँचैजनाको नेगेटिभ रिपोर्ट दिए । त्यसबापत छिटानले ४० हजार रुपैयाँ लिए। प्रहरीले छिटान र उक्त अस्पतालको कौशलटारस्थित ल्याबका म्यानेजर प्रशन्नकुमार झालाई नियन्त्रणमा लियो ।

अनुसन्धानका क्रममा तीनकुनेस्थित कान्तिपुर हस्पिटलले पनि स्याम्पलबिनै पीसीआरको नेगेटिभ रिपोर्ट दिने गरेको चाल पाएपछि प्रहरीले त्यहाँ पनि स्टिङ अप्रेसन सुरू गर्‍यो । विचौलियाका रूपमा काम गर्ने नगेन्द्रकुमार यादब सम्पर्कमा आए । उनले पनि स्याम्पलबिनै नेगेटिभ रिपोर्ट प्राप्त हुने तर एकजनाको ६ हजार रूपैयाँ लाग्ने बताए । चारजनाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट प्राप्त भयो । प्रहरीले यादबसहित उक्त अस्पतालका एक कर्मचारीलाई पनि पक्राउ गर्‍यो ।

‘पहिला नेगेटिभ रिपोर्ट आएका स्याम्पलहरू राखेर रिपोर्ट बनाइएको पाइयो’, अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका एक अधिकारीले बताए ।

ल्याबबाट हुने यस्ता काममा अस्पताल व्यवस्थापनको सम्बन्धबारे पनि अनुसन्धान भइरहेको बताइएको छ । विदेश जान लागेका तर पोजेटिभ रिपोर्ट आएर अप्ठेरोमा परेकालाई यो गिरोहले ग्राहक बनाउने गरेको प्रहरीको दाबी छ।

पक्राउ परेकाहरूमाथि संक्रामक रोग निवारण ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर