प्रचण्ड र सीपीसी विदेश विभाग प्रमुखबीच भिडियो वार्ता : चीनद्वारा बीआरआई कार्यान्वयनमा चासो – Nepal Press

प्रचण्ड र सीपीसी विदेश विभाग प्रमुखबीच भिडियो वार्ता : चीनद्वारा बीआरआई कार्यान्वयनमा चासो

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भिडियो संवाद भएको छ ।

चिनियाँ विदेश विभागले जनाएअनुसार जनवरी ३० मा प्रचण्ड र ताओबीच भर्चुअल संवाद भएको हो । उक्त संवादमा दलको अध्यक्षमा पुनःनिर्वाचित प्रचण्डलाई ताओले बधाइ दिएका थिए ।

विदेश विभागद्वारा जारी प्रेस वक्तव्यमा ताओले नेपाल र चीन हिमाल तथा नदीले जोडिएको बताउँदै ताओले साझा भविष्य बाँड्न तयार दुई विकास साझेदार भएको बताएका थिए ।

दुई नेताबीच चिनियाँ राष्ट्रपति सी जिनपिङको सन् २०१९ को नेपाल भ्रमणको क्रममा भएका सहमतिलाई कार्यान्वयन गर्नेबारे समेत छलफल भएको जनाइएको छ ।

चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजना कार्यान्वयनबारे समेत अध्यक्ष प्रचण्डसँग चासो राखेको छ । प्रचण्डले कोभिड–१९ महामारी, आर्थिक तथा सामाजिक विकासमा चीनले नेपाललाई दिएको सहयोगबारे धन्यवाद समेत दिएका थिए ।

प्रचण्डले बेइजिङ विन्टर ओलम्पिकको पूर्ण सफलताको कामना गरेको र चिनियाँ नयाँवर्षको अवसरमा चिनियाँ नागरिकलाई बधाइ तथा शुभकामना दिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा ५०० मिलियन डलरको अमेरिकी अनुदान सम्झौता एमसीसी परियोजनालाई लिएर रस्साकस्सी चलिरहेको बेला प्रचण्ड र ताओबीच भिडियो संवाद भएको हो ।

प्रचण्डको दल नेकपा (माओवादी केन्द्र)ले आवश्यक संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्न सकिने अडान राखिरहेको छ । एमसीसीलाई लिएर नेपालमा भूराजनीतिक दबाब बढिरहँदा चीनले पनि कूटनीतिक र पार्टीगत ‘इन्गेज’लाई सक्रिय तुल्याएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर