ग्रान्डस्लाम टेनिसका कीर्तिमानी राफेल नाडाल – पाँच सेटका किलर – Nepal Press

ग्रान्डस्लाम टेनिसका कीर्तिमानी राफेल नाडाल – पाँच सेटका किलर

मेलबर्न । सन् २०१८ मा रोजर फेडेररले अष्ट्रेलियन ओपन जितेपछि त्यसले राफेल नाडाललाई थप निराश बनाएको थियो । फेडेररको त्यो २० औँ एकल ग्रान्डस्लाम उपाधि थियो । नाडाल त्यतिबेला क्वाटरफाइनलबाटै बाहिरिएका थिए ।

फेडेररको सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीको कीर्तिमान तोड्ने प्रयासमा रहेका नाडालले त्यतिबेलासम्म १६ पटक एकल ग्रान्डस्लाम जितेका थिए । त्यसै वर्ष उनले फ्रेन्च ओपन जिते । त्यसो त फ्रेन्च ओपनमा उनको एकल बर्चस्वजस्तै थियो । उनले यो प्रतियोगिता ११ औँ पटक जितेका थिए ।

सन् २०१९ को अष्ट्रेलियन ‌ओपनको फाइनलसम्म पुगेर नोभाक जोकोभिचसँग पराजित भएका नाडालल‍े फेरि पनि फ्रेन्च ओपन भने अरुलाई जित्न दिएनन् । त्यस वर्ष यूएस ओपनमा पनि उनी फाइनल पुगे ।

भिडन्तका प्रतिस्पर्धी थिए रुसी खेलाडी ड्यानिल मेदभेदेभ । ग्रान्डस्लाममा पहिलोपटक फाइनल पुगेका रुसी खेलाडी मेदभेदेभले नाडालविरुद्ध शानदार पुनरागमन गरे । सुरुका दुई सेट जितेका नाडाल त्यसपछिका लगातार दुई सेट गुमाउन पुगे ।

खेलको निर्णय पाचौँ तथा अन्तिम सेटमार्फत हुने तय भयो । तर नाडाल यो सेटमा भने चुकेनन् । ६-४ ले नतिजा आफ्नो पक्षमा पार्दै १९ औँ पटक एकल ग्रान्डस्लाम जित्न सफल भए । सन् २०२० मा पनि फ्रेन्च ओपनमा नाडालको दबदबा रह्यो ।

जोकोभिचलाई सोझो सेटमा हराएर नाडालले फेडेररको कीर्तिमान बराबरी गरे । सन् २०२१ मा तीन वटा ग्रान्डस्लाम जितेका जोकोभिच पनि फेडेरर र नाडालको बराबरीमा पुगे । यो वर्षको पहिलो ग्रान्डस्लामा जोकोभिचको अनुपस्थितीपछि नाडाल दाबेदार देखिएका थिए ।

पछिल्ला लगातार तीन संस्करणका विजेता जोकोभिचलाई कोरोनाको आइसोलेसन सम्बन्धि नियम उल्लंघन गरेको आरोपमा अष्ट्रेलियन सरकारले स्वदेश फर्काएको थियो ।

यसअघि एकपटक मात्र अष्ट्रेलियन ओपन जितेपनि नाडालको अनुभव हावी हुन सक्ने अनुमान गरिएको थियो । उनी फाइनल पुगे । उपाधि भिडन्तका प्रतिस्पर्धी मेदेभेदेव थिए, जसलाई उनले तीन वर्षअघि यूएस ओपनको फाइनलमा पाँच सेट खेलेर हराएका थिए । तर समय धेरै फेरिसकेको थियो । यसबीचमा मेदभेदेभले एकपटक यूएस ओपन जितेका थिए भने अष्ट्रेलियन ओपनमा गत संस्करण पनि फानलसम्म पुगेका थिए ।

आइतबार साँझ भएको फाइनल विभिन्न कारणले ऐतिहासिक रह्यो । सुरुका दुई सेट जितेका मेदभेदेभले त्यसपछिका लगातार दुई सेट गुमाएपछि खेलको नतिजा पाचौँ सेटबाट आउने स्थिती बन्यो । तर नाडालले फेरी पाचौँ सेट जिते र सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडि बने ।

यसअघि कुनैपनि ग्रान्डस्लामको फाइनलमा नाडालले‍ सुरुका दुई सेट हारेर खेल जितेका थिएनन् । तर पुनरागमन गरेका भने थुप्रै उदाहरण थिए । करियरका सुरुका दुई ग्रान्डस्लामको फाइनलमा पनि उनले पहिलो सेट हारेर लगातार तीन सेट जितेका थिए ।

सन् २००८ को विम्बल्डन फाइनलमा उनले रोजर फेडेररविरुद्ध सुरुका दुई सेट आफ्नो पक्षमा पारेर पनि खेल जित्न पाँच सेट खेल्नु परेको थियो ।

सन् २००९ को अष्ट्रेलियन ओपनको फाइनलमा पनि नाडालले फेडेररविरुद्ध पाँच सेट खेलेर जित हात पारेका थिए । पहिलो सेट र तेस्रो सेट जितेका नाडालविरुद्ध फेडेररले पटकपटक पुनरागमनको प्रयाश गरेपनि सफल हुन सकेका थिएनन् । नाडाल ग्रान्डस्लाम टेनिसको फाइनलमा पुगेर ८ पटक पराजित भएको इतिहास छ ।

आइतबार भएको फाइनलमा जित हात पारेपछि ३५ वर्षीय नाडालले यसपटकको अष्ट्रेलियन ओपनको विशेष महत्व भएको बताउँदै मेदभेदेभलाई पनि ‘च्याम्पियन’को संज्ञा दिएका छन् ।

नाडालले करियरमा कीर्तिमानी १३ पटक फ्रेन्च ओपन, दुईपटक अष्ट्रेलियन ओपन, चार पटक यूएस ओपन र दुईपटक विम्बल्डन जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर