क्यानडामा कोभिड खोपविरुद्ध प्रदर्शन चर्कियो, असुरक्षापछि प्रधानमन्त्रीले निवास छाडे (तस्बिरहरु) – Nepal Press

क्यानडामा कोभिड खोपविरुद्ध प्रदर्शन चर्कियो, असुरक्षापछि प्रधानमन्त्रीले निवास छाडे (तस्बिरहरु)

ओटावा । कोभिडविरुद्धको खोपलाई अनिवार्य गरिएपछि क्यानडामा सरकारविरोधी प्रदर्शन चर्किएको छ । अमेरिका-क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि खोप अनिवार्य गरिएपछि विरोधमा भएको प्रदर्शनले राजधानी ओटावा दोस्रो दिन पनि ठप्प भएको छ । ‘फ्रिडम कन्भोइ’ भनिएको प्रदर्शनमा हजारौं प्रदर्शनकारी सहभागी छन् ।

ट्रक चालकले संसद् भवन वरपरका सडकमा ट्रक राखेर अवरुद्ध पारेका छन्। ओटावाका मेयर जिम वाट्सनका अनुसार केही प्रदर्शनकारीहरूले एउटा रेस्टुरेन्टका कर्मचारीहरूलाई सित्तैमा खानेकुरा माग गर्दै दुर्व्यवहार गरेका छन्।

सो रेस्टुरेन्टले भित्र बस्दा मास्क लगाउनुपर्ने नियम मान्न आग्रह गरेपछि प्रदर्शनकारीले दुर्व्यवहार गरेका थिए। सुरक्षाको कारण प्रधानमन्त्री जस्टिन ट्रुडोले परिवारसहित ओटावास्थित घर छाडेका छन्। त्यहाँका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक चालकमध्ये झन्डै ९० प्रतिशतले खोप लगाइसकेका छन्।

प्रदर्शनकारीले अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखिरहेका छन्। प्रधानमन्त्री ट्रुडोले प्रदर्शनकारीलाई ‘सानो सङ्ख्याका अल्पसङ्ख्यक’ भनेपछि उनीहरु थप क्रुद्ध भएका छन् । कन्जरभेटिभ नेता एरिन ओटूलले प्रदर्शनकारीको पक्षमा बोल्दै शािन्तपूर्ण प्रदर्शनको अधिकारको पक्षमा भनाइहरु राखेका छन् ।

वर्तमान प्रधानमन्त्री ट्रुडोको लिबरल सरकारले जनवरी १५ तारिखमा खोपसम्बन्धी आदेश जारी गरेको थियो। त्यसमा खोप नलगाएका क्यानेडियन ट्रक ड्राइभरले दुई देशको सीमा पार गरेपछि अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम लगाइएको छ। अमेरिकाले पनि हालै विदेशी ट्रक ड्राइभरहरूले अमेरिका प्रवेश गर्दा खोपको प्रमाण देखाउपर्ने बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर