१२ जिल्लाका प्रहरी प्रमुखसँग गृहमन्त्रीको टेलिफोन वार्ता – Nepal Press

१२ जिल्लाका प्रहरी प्रमुखसँग गृहमन्त्रीको टेलिफोन वार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड-१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् ।

गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री खाणले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरण पद्धतीबारेमा जानकारी लिएको प्रहरी प्रमुखहरूले बताए ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले गृहमन्त्रीले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता शीतलहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए ।

तराईका जिल्लाका प्रहरी प्रमुखहरूसँग मन्त्री खाणले सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनबारे पनि जानकारी लिएका थिए । सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको स्थिति र सिके राउतको आन्दोलनको अवस्थाबारे कुराकानी भएको बताए ।

झापाका प्रहरी प्रमुख उपरीक्षक विश्वमणि पोखरेलले प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को अवस्था, शान्ति सुरक्षाको स्थिति, जाडोमा न्यानो कपडाबारे जानकारी लिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर