दोषीलाई कारबाही गर्न माग गर्दै सिभिल अस्पतालमा श्रमजिवी पत्रकारको धर्ना – Nepal Press

दोषीलाई कारबाही गर्न माग गर्दै सिभिल अस्पतालमा श्रमजिवी पत्रकारको धर्ना

काठमाडौँ । उपचारमा लापरबाही भएर पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै श्रमजिवी पत्रकारले सिभिल अस्पतालमा प्रर्दशनसहित धर्ना दिएका छन् । श्रमजीवी पत्रकार सङ्घ नेपालको तर्फबाट अध्यक्ष जन्मदेव जैसीको नेतृत्वको टोलीले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै आइतबार नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा एक घण्टा धर्ना दिएको हो ।

सङ्घको आग्रहपछि टिभी टुडे टेलिभिजन व्यवस्थापनले स्व विश्वकर्माको किरिया खर्चबापत तत्काल रु २१ हजार उपलब्ध गराएको थियो । बाँकी बच्चाको पढाइ खर्च स्व‍र्गीय पत्रकारको जीवनसँगिनीको खातामा जम्मा गरिदिने प्रतिबद्धता व्यक्त गरिसकेकाे छ । सङ्घले पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गरेको भन्दै आन्दोलन गर्दै आएको छ । उपचारका लागि सिभिल अस्पताल पुर्याइएका पत्रकार विश्वकर्मालाई कोरोना परिक्षण विना उपचार नहुने भनेर लापरबाही गर्दा उनको मृत्यु भएको सङ्घको ठहर छ ।

२६ वर्षीय स्वर्गीय विश्वकर्माका श्रीमती र चार वर्षीय एक छोरा छन् । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । उनले टीभी टुडेभन्दा अगाडी इमेज टेलिभिजन र जनता टेलिभिजनमा काम गरिसकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *