अर्ली इलेक्सनको च्याप्टर क्लोज, जेठमा स्थानीय निर्वाचन र चुनावी तालमेल – Nepal Press

अर्ली इलेक्सनको च्याप्टर क्लोज, जेठमा स्थानीय निर्वाचन र चुनावी तालमेल

काठमाडौं । लामो समयको अन्योल चिर्दै सत्तारुढ ५ दलीय गठबन्धन जेठमा स्थानीय निर्वाचन गर्न तयार भएको छ । गठबन्धनका केही दल र नेताहरु स्थानीय निर्वाचन ६ महिना पछाडि सारेर पहिले संसदीय निर्वाचन गर्नुपर्ने पक्षमा उभिदै आएका थिए ।

निरन्तरको छलफलपछि शनिबार बसेको गठबन्धनको दोस्रो बैठकले जेठभित्र स्थानीय निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो । बैठकले संविधानसँग बाझिने निर्वाचन कानुन संशोधन गर्न समेत सरकारसँग आग्रह गरेको छ ।

गठबन्धन समन्वय समितिका सदस्य एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार संविधानको भावना अनुसार नै जेठमा निर्वाचन गर्न सहमति जुटेको बताउँछन् ।

‘संविधानले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल निर्वाचित भएको मितिले ५ वर्ष हुने र कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ । ऐन बनाउँदा संविधानसँग बाझिने गरी कार्यकाल सकिनु २ महिनाअघि नै चुनाव हुने उल्लेख भएको रहेछ । ऐनमा भएको त्रुटि सच्याउने र जेठमै स्थानीय निर्वाचन गर्ने विधि उपयुक्त हो भन्नेमा हामी सबै पुगेका छौं’, सिटौलाले नेपाल प्रेससँग भने ।

जेठ ५ पछि मात्रै स्थानीय निर्वाचन

२०७४ साल बैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतनिधिहरुको कार्यकाल २०७९ जेठ ५ गते सकिदैछ । सत्तारुढ गठबन्धनमा जेठ ५ पछिमात्रै स्थानीय निर्वाचन गर्ने सहमति बनेको छ ।

आगामि जेठ ५ मा वागमती, गण्डकी र कर्णाली प्रदेश अन्तर्गत रहेका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिने छ । उनीहरुको कार्यकाल सकिएको हप्ता दसदिनमा स्थानीय निर्वाचन हुने सम्भावना रहेको गठबन्धनका नेताहरु बताउँछन् ।

‘जेठ ५ मा केही जनप्रतिनिधिहरुको कार्यकाल सकिन्छ । लामो समय स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउन सकिदैन । त्यसैले त्यसको हप्ता दसदिनमा हुनेगरी निर्वाचनको मिति तोकिन्छ होला’, गठबन्धनमा रहेका एक नेताले भने ।

जेठ ५ मा रिक्त हुने २ सय ८३ स्थानीय तहमध्ये २०७४ को परिणाम अनुसार नेकपा एमालेले प्रमुख जितेका १ सय २५, नेपाली कांग्रेसले प्रमुख जितेका १ सय ५ र नेकपा माओवादी केन्द्रले प्रमुख जितेका ४६ स्थानीय तह रहेका छन् । राप्रपा, नेमकिपा र राष्ट्रिय जनमोर्चाले १—१ स्थानीय तहको प्रमुख जितेका छन् ।

प्रचण्डको प्रस्ताव, माधवको समर्थन

सत्तारुढ गठबन्धनको समन्वय समितिमा उपस्थित हुने गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवा त्यसको सदस्य छैनन् ।

शुक्रबार विहान देउवाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए । सोही दौरान देउवाले सरकारमाथि चौतर्फी दवाव बढेको भन्दै बैशाख अन्तिम वा जेठमा स्थानीय निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।

गठबन्धनको निरन्तरताबारे देउवाले प्रतिवद्धतासमेत जनाएको केही नेताहरुको दावी छ । शनिबारको बैठकमा भने माओवादी अध्यक्ष प्रचण्डले नै संविधान जोगाउने विषय सबैभन्दा महत्वपूर्ण रहेको भन्दै जेठमा स्थानीय निर्वाचन गर्नुपर्ने बताएका थिए ।

‘गठबन्धनलाई संविधानविरोधी देखाउने षड्यन्त्र सुरु भएको छ । कानूनमा भएका त्रुटी पनि सच्याऔं र स्थानीय निर्वाचनको मिति पनि तोकेर अगाडि जाऔं’, प्रचण्डको प्रस्ताव थियो ।

बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि स्थानीय तहको निर्वाचन जेठमा गरेर जाने विषयमा समर्थन रहेको बताएका थिए । प्रधानमन्त्री देउवा त्यसअघि नै जेठमा स्थानीय निर्वाचन गर्ने पक्षमा रहेकोले गठबन्धनले सरकारलाई सोही अनुसार सुझाव दिने निर्णय लिएको हो ।

ऐन संशोधन हुने

सत्तारुढ गठबन्धनको बैठकमा महान्यायाधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ता हरिहर दाहाल लगायतको पनि उपस्थिति थियो । उनीहरुले निर्वाचन सम्बन्धी कानूनमा संशोधन आवश्यक रहेको सुझाव दिएका थिए ।

‘कानुन व्यवसायीको सुझावलाई आधार मान्दा संविधानसँग बाझिएका कानुन स्वतः अमान्य हुने देखियो । यद्यपि निर्वाचन कानूनलाई संविधानसम्मत संशोधन गर्ने सहमति भएको छ’, बैठकपछि गठबन्धनको समन्वय समितिमा सरकारको प्रतिनिधि रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

अर्ली इलेक्सनको च्याप्टर क्लोज

स्थानीय निर्वाचन जेठमा गर्ने सहमति बनेसँगै सत्तारुढ गठबन्धनले तत्कालका लागि अर्ली इलेक्सनको च्याप्टर क्लोज भएको जनाएको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतको फैसला बमोजिम प्रतिनिधिसभा पूर्ण कार्यकाल चल्नुपर्ने देखिएकोले संसदको निर्वाचन चाडै गर्ने विषय टरेको बताए ।

‘सरकार बनाउन नसकेको अवस्थामा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष हुने सर्वोच्च अदालतको स्पष्ट फैसला भएकोले संसदीय निर्वाचन चाडै गर्ने सम्भावना नरहेको निष्कर्षमा आज गठबन्धनका सबै नेता पुग्नुभएको छ’, सिटौलाले भने ।

नेकपा माओवादी, नेकपा एस, जसपा र कांग्रेसकै केही नेताहरु पहिले संसदीय निर्वाचन हुनुपर्ने पक्षमा रहँदै आएका थिए ।

स्थानीय तहसम्मै चुनावी तालमेल

हालै राष्ट्रियसभामा चुनावी तालमेल गरेको सत्तारुढ गठबन्धनले १९ मध्ये १८ सीट जितेको थियो । कांग्रेसका केही नेताबाहेक गठबन्धनका सबैजसो नेताहरु चुनावी तालमेल गरेर जानुपर्ने पक्षमा छन् । शनिबारको बैठकमा चुनावी तालमेलबारे छलफल नभएपनि शीर्ष तहमा सहकार्य निरन्तर राख्ने सहमति भएको बताइन्छ ।

‘एउटै सरकारमा बसेर स्थानीय निर्वाचनमा एकले अर्कालाई हराउन लागेपछि सरकारको निरन्तरतामा पनि प्रश्न उठ्न सक्छ । त्यसैले चुनावी तालमेलको उपयुक्त मोडलबाट गठबन्धनले उपयुक्त समयमा निर्णय लिन्छ’ एक नेताले भने । ती नेताका अनुसार प्रतिनिधिसभालाई पूरा कार्यकाल सञ्चालन गर्न र संसदीय निर्वाचन सुनिश्चित गर्नपनि स्थानीय निर्वाचनमा तालमेलको सम्भावना अधिक छ ।


प्रतिक्रिया

7 thoughts on “अर्ली इलेक्सनको च्याप्टर क्लोज, जेठमा स्थानीय निर्वाचन र चुनावी तालमेल

  1. नमानेर के गर्नु ? देउवाले दबाव खप्न नसकेर चुुनाव घाेषणा गर्ने नै भएपछि लुरूक्क परेर प्रचण्ड र माकुनेले माने । अझै पनि काँग्रेसले दुई चार सिट देला, अनि जितिएला र विदेशीकाे दलाली गर्न पाईएला भन्ने आश छ । तर अब तिमीहरूकाे विजाेग हुनेवाला छ । काँग्रेसले नियुक्तिमा लाेप्पा ख्वाउने छ । कर्णालीमा सरकार पेलेर बन्ने छ । रून्चे स्वरमा माकुने र प्रचण्डकाे गठबन्धनकाे घाेषणा हुनेछ । तर काम न काजकाे गठबन्धन हुनेछ ।

  2. अब ओलीगुटले गर्न लागेको आन्दोलन के होला, यि खड्ग प्रसादले एमालेलाई विसर्जन नगरी आराम गर्लान् जस्तो छैन ।

  3. माधव नेपालल आफ्नो राजनीति साख जोगाउन देउवाको दौराको फेरो समातेर अर्थात गठबन्धनबाटै सबै तहको निर्वाचनमा जान चाहन्थे। तीनै तहको निर्वाचन एकैपटकले राज्यको खर्च जोगिन्छ भन्ने तर्क गरेर स्थानीय निर्वाचन सार्ने प्रयास त्यहि मनासयका साथ भएको थियो। तर नेकाभित्रको अन्तरविरोध बाधक भो।

  4. ऐन संशोधन गर्ने, जेठ ५ भित्र गर्नुपर्ने चुनाव पछि गर्ने । यसले नैै स्पष्ट छैन र अहिलेको विवाद साम्य पार्न गठबन्धनले गरेको निर्णय हो यो भन्ने? जेेठ ५ पछि चुनाव गर्नु र ७९ को फागुनमा गर्नु एउटै हो । गठबन्धनमा समस्या आउनासाथ माओवादी र समाजवादीले कानुन अनुसार ६ महिनापछि एकै पटक चुनाव गर्नुपर्छ भन्छन् । समाचार यो कोणबाट लेख्नुहोला ।

  5. सही हो, एकदम सकारात्मक छ यो पार्टी बीचको चुनाब भन्दा पनि अग्रगमन र प्रतिगमन बिचको लडाई हो । अग्रगमन र परिबर्तनकारीले जित्नुपर्छ बिदेसी दलाल र यथास्थिबादीलाई हराउन र सधैको लागि टाउको उठाउन नदिन गठबन्धन जरूरी छ । २००७, ३६, ४६, ५२, ६२/६३ का आन्दोलनकारी एक भएर, बयलगाडेतन्त्रलाई धुलो चटाउनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर