विमलको निर्णायक गोलमा मोरिससविरुद्ध नेपालको जित – Nepal Press

विमलको निर्णायक गोलमा मोरिससविरुद्ध नेपालको जित

काठमाडौं । विमल घर्तीमगरको निर्णायक गोलमा नेपाली फुटबल टोलीले मोरिससलाई पराजित गरेको छ । आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १-० गोलले पराजित गरेको हो ।

दशरथ रंगाशालामा भएको खेलको ५५औं मिनेटमा विमलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनको गोल नै नेपालको जितका लागि निर्णायक बन्यो । उनले अन्जन बिष्टको लङ पासमा पेनाल्टी एरियाबाट सुन्दर गोल गरेका थिए । उनकाे यो ९औं अन्तरराष्ट्रिय गोल हाे ।

२०७६ मा म्यानमारविरुद्धकाे मैत्रीपुर्ण खेलपछि शुरुमा प्रतिबन्ध र पछि घुँडाको चोटका कारण लामो समय मैदान बाहिर रहेका थिए ।

उनी जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग बाट खेलमा फर्किएका थिए ।

मोरिससविरुद्धको खेलबाट नै जगजित श्रेष्ठले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । उनी खेलको ६०औं मिनेटमा सुनिल बलको ठाँउमा मैदान प्रवेश गरेका थिए ।

सन् २०१७ मा फिलिपिन्स विरुद्ध विश्वकप छनोट खेलेर अष्ट्रेलिया गएका जगजित हरेक वर्ष लिग खेल्न नेपाल आउने गर्छन । अहिले पनि लिग खेलिरहेका उनले राष्ट्रिय टोलीमा स्थान बनाउँदै करिब पाँच वर्ष पछि अन्तर्राष्ट्रिय खेल खेलेका हुन् ।

सातदोबाटो युथ क्लबबाट ए डिभिजन लिग खेलीरहेका मिडफिल्डर सुदिप गुरुङले यसै खेलमार्फत अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका छन् । खेलको ८३औं मिनेटमा सुरज जिउ ठकुरीको स्थानमा मैदान प्रवेश गर्दै उनले राष्ट्रिय टोलीबाट डेव्यु गरेका हुन् ।

यस्तै, सातदोबाटोकै आकाश बुढामगरले पनि राष्ट्रिय टोलीमा डेव्यु गरेका छन् । उनले खेलको इन्जरी समयमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दे डेव्यु गरे ।

मोरिसससँगकै दोस्रो खेल मंगलबार दशरथ रंगशालामै हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर