गठबन्धन बैठकमा राष्ट्रपतिको ‘टकिङ नोट’– स्थानीय चुनाव सार्न खोज्नु असंवैधानिक हुने चेतावनी – Nepal Press

गठबन्धन बैठकमा राष्ट्रपतिको ‘टकिङ नोट’– स्थानीय चुनाव सार्न खोज्नु असंवैधानिक हुने चेतावनी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठकमा दुई दिनअघि शीतल निवासमा राष्ट्रपतिसँग भएकाे छलफलकाे टकिङ नोट पेश गरेका छन् ।

बिहीबार राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटमा स्थानीय चुनाव संविधान बमोजिम तत्काल मिति घोषणा गरेर अघि बढ्नेबारे छलफल भएको थियो ।

सो भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनको सन्दर्भमा सात बुँदे सुझाव लिखित रुपमा प्रधानमन्त्रीलाई दिएको देउवा निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीलाई सम्बोधन नगरिए पनि राष्ट्रपति र प्रधानमन्त्रीबीच भएकाे छलफललाई टकिङ् नाेटका रुपमा गठबन्धन बैठकमा नेताहरुलाई बाँडिएको हो । गठबन्धनका नेताहरुले भने राष्ट्रपति सक्रिय हुन खोजेको भन्दै आलोचना गरेका छन् ।

राष्ट्रपतिले स्थानीय चुनाव जेठ ६ गते अघि नै गर्नुपर्ने संवैधानिक कर्तव्यबारे प्रधानमन्त्रीलाई स्मरण गराएकी थिइन् । टकिङ् नाेटमा निर्वाचन आयोगको पछिल्लो वक्तव्यबारे समेत चर्चा गरिएको छ ।

निर्वाचन सार्न सकिने गरी ऐन संशोधन गर्ने प्रयास हुनु चिन्ताजनक रहेको भन्दै राष्ट्रपतिले चुनाव सार्न नहुनेमा जोड दिएकी छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई ऐन संशोधन गरेर स्थानीय तहको निर्वाचन सार्न खोजे ‘प्रणालीमै नकरात्मक असर पर्ने’ चेतावनी पनि दिएकी छन् ।

प्रधानमन्त्रीनिकट स्रोतबाट प्राप्त राष्ट्रपतिको लिखित ध्यानाकर्षणका मुख्य विषयहरु ७ बुँदामा समेटिएको छ । पत्रमा स्थानीय निर्वाचनबारे कुनै अन्योल आवश्यक नरहेको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर