आज हल्का वर्षा र हिमपातको सम्भावना – Nepal Press

आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु कुहिरो लागेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने बताइएको छ । शनिबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम १९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर